बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालका मुख्य दातृ संस्थाबाट उच्चस्तरीय भ्रमण हुँदै

आइतबार, जेठ ३ २०८३
नेपालका मुख्य दातृ संस्थाबाट उच्चस्तरीय भ्रमण हुँदै

यी दुबै भ्रमणको अवसरमा उल्लेखनीय सम्झौताको तयारी नेपाली पक्षले पनि अघि बढाइसकेको छ।

काठमाडौं- नेपालमा राजनीतिक स्थिरतासहित एकल दलको बहुमतसहितको सरकार बनेपछि द्वीपक्षीयसँगै बहुपक्षीय संस्थाहरुको पनि चासो बढेको छ।

नेपालका परम्परागत मित्र राष्ट्रसँगै छिमेकीहरूको कुटनीतिक चासोका बीचमा विकास दातृ निकायको पनि चासो बढेको छ। 

नेपाललाई सबैभन्दा धेरै वित्तीय सहायता उपलब्ध गाराउँदै आएका त्यस्ता बहुपक्षीय निकायका उच्च पदस्थहरूले पनि नेपालमा भ्रमणको तयारी अघि बढाएका छन्। सरकारी अधिकारीहरूका अनुसार दुई ठूला मुख्य दातृ संस्थाबाट यस्तो भ्रमणको तयारी अघि बढेको हो। 

विश्व बैंक र एसियाली विकास बैंकको सर्वोच्च नेतृत्वको नेपालमा भ्रमण हुने सम्भावना बढेर गएको अधिकारीहरूले बताएका छन्।

सामान्य ऋण सम्झौता हुने र मध्यमस्तरीय कर्मचारीको भ्रमण बाहेक नेपालमा खासै हुँदैन। नेपाली अधिकारीहरुले भने निरन्तर रुपमा प्रमुख नेतृत्वलाई भ्रमणको निम्ता दिँदै आएका छन्। 

अबको तीनदेखि चार महिनाभित्रै यी दुई संस्थाबाट उच्च पदस्थको नेपालमा भ्रमण हुनेछ यदि तयारी राम्रोसँग भयो भने। नेपाल सरकारको रेस्पोन्स र समन्वयमा भ्रमण निर्भर हुने अधिकारीहरू बताउँछन्।

‘कम्तीमा पनि सरकारको पनि उच्च कार्यकारी नेतृत्वले भेट दिनेसम्मको अवस्था आयो भने सहज हुनसक्ने देखिन्छ तर उनीहरू भ्रमणका लागि तयार छन्’ एक अधिकारी भन्छन्। यो भ्रमण परराष्ट्रसँगै अर्थमन्त्रालयले समन्वय गर्नेछ। 

सम्भवत: जुलाईदेखि अगष्टसम्म एडीबीको सभापतिको भ्रमण हुनेछ। नेपालमा लामो समयदेखि एडीबीको यो तहको भ्रमण भएको छैन। नेपालको सबैभन्दा ठूलो र पूरानो बहुपक्षीय निकायको उच्चस्तरीय भ्रमण हुँदा सोहीअनुसारको ठूलै परियोजनामा सम्झौताको तयारी पनि अघि बढाइएको छ। प्रारम्भिक चरणमै भएपनि यसका लागि तयारी अघि बढेको छ। 

त्यस्तै विश्व बैंक समूहबाट पनि प्रभावशाली उच्चस्तरीय भ्रमण त्यही सेरोफेरोमा हुनेछ। यसअघि नेकपाको सरकार हुँदा विश्व बैंक समूहका उपसभापति आएका थिए। तर यो पालि अपरेशनल तहकै उच्चपदस्थको भ्रमण हुने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्। 

यी दुबै भ्रमणको अवसरमा उल्लेखनीय सम्झौताको तयारी नेपाली पक्षले पनि अघि बढाइसकेको छ। 

नेपलाको बाह्य वित्तको मुख्य स्रोत विश्व बैंक र एडीबी हुन्। यी संस्था एक्लैले ७० प्रतिशत योगदान गर्दै आएका छन्। सस्तो ब्याजदर र लामो अवधिको ऋणको सुविधा दिने यी संस्थाले नेपालमा पछिल्लो समय भौतिधक पूर्वाधारमा पनि लगानी बढाउँदै आएका छन्। 


प्रकाशित : आइतबार, जेठ ३ २०८३०७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend