बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

डिजिटल भुक्तानीको प्रयोग बढ्यो, चैत मसान्तसम्म मोबाइल बैंकिङबाट ६ खर्ब १८ अर्ब रुपैयाँको कारोबार

बिहीबार , वैशाख ३१ २०८३
डिजिटल भुक्तानीको प्रयोग बढ्यो, चैत मसान्तसम्म मोबाइल बैंकिङबाट ६ खर्ब १८ अर्ब रुपैयाँको कारोबार

बैंक तथा वित्तीय संस्थाहरूले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड तथा डिजिटल वालेटजस्ता सेवाहरूको विस्तारलाई तीव्रता दिएका छन्।

काठमाडौं- नेपालमा पछिल्लो समय डिजिटल भुक्तानीको प्रयोग उल्लेख्य रूपमा बढ्दै गएको छ। विशेषगरी कोरोना महामारीपछि नेपाली भुक्तानी प्रणालीको स्वरूप तीव्र रूपमा डिजिटल र प्रविधिमैत्री बन्दै गएको हो।

कोभिड-१९ नियन्त्रणका लागि सरकारले लागू गरेका प्रतिबन्धात्मक व्यवस्थाले नगदरहित कारोबारप्रति सर्वसाधारणको आकर्षण बढाएको थियो। त्यसयता बैंक तथा वित्तीय संस्थाहरूले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड तथा डिजिटल वालेटजस्ता सेवाहरूको विस्तारलाई तीव्रता दिएका छन्।

फण्ड ट्रान्सफर तथा अनलाइन भुक्तानीलाई सहज बनाउन बैंकहरूले मोबाइल बैंकिङ सेवामा नयाँ–नयाँ सुविधा थपिरहेका छन्। नेपाल राष्ट्र बैंकले पनि नगदरहित अर्थतन्त्र निर्माणको अवधारणालाई प्राथमिकतामा राख्दै डिजिटल भुक्तानी प्रणाली विस्तारलाई प्रोत्साहन गरिरहेको छ।

इन्टरनेट सेवाको पहुँच विस्तार र स्मार्टफोन प्रयोग बढेसँगै बैंकहरूले आफ्ना मोबाइल बैंकिङ एप्लिकेसनलाई थप सुरक्षित, सहज र प्रयोगमैत्री बनाउँदै लगेका छन्। कतिपय बैंकहरूले डिजिटल बैंकिङ अवधारणाअनुसार एप्लिकेसनमै खाता खोल्ने, कर्जा आवेदन दिने तथा विभिन्न सेवा लिन सकिने सुविधा विस्तार गरेका छन्।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म डिजिटल माध्यमबाट हुने कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ।

तथ्यांक अनुसार डेबिट कार्डमार्फत मात्रै १ करोड ३ लाख पटक कारोबार भएको छ। यसबाट ८० अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ।

डिजिटल भुक्तानीमध्ये सबैभन्दा ठूलो हिस्सा मोबाइल बैंकिङको रहेको छ। चैत मसान्तसम्म मोबाइल बैंकिङमार्फत ७ करोड ४४ लाख पटक कारोबार हुँदा कुल ६ खर्ब १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यसैगरी पछिल्लो समय तीव्र रूपमा लोकप्रिय बनेको क्यूआर कोड भुक्तानी प्रणालीको प्रयोग पनि उल्लेख्य रूपमा बढेको छ। चैत मसान्तसम्म क्यूआर कोडमार्फत ५ करोड ४६ लाख पटक कारोबार भएको छ भने यसबाट १ खर्ब ५३ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

सानादेखि ठूला व्यापारिक प्रतिष्ठानसम्म क्यूआर कोडको सहज उपलब्धता, छिटो भुक्तानी प्रक्रिया तथा नगद बोक्नुपर्ने झन्झट कम भएकाले यसको प्रयोग तीव्र रूपमा बढेको देखिन्छ।

यससँगै बैंकिङ प्रणालीमा आबद्ध हुने ग्राहकको सङ्ख्या पनि बढिरहेको छ। राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप खाताको सङ्ख्या ६ करोड २४ लाख १ हजार २५८ पुगेको छ।

यद्यपि निक्षेप खाताको तुलनामा कर्जा खाताको सङ्ख्या भने कम रहेको छ। यस अवधिमा कुल २० लाख ४४ हजार ६ सय १२ वटा कर्जा खाताहरू सञ्चालनमा रहेका छन्।

डिजिटल भुक्तानीको विस्तारसँगै नेपालको बैंकिङ प्रणाली थप औपचारिक, पारदर्शी र प्रविधिमैत्री बन्दै गएको विश्लेषण गरिएको छ।


प्रकाशित : बिहीबार , वैशाख ३१ २०८३१४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend