काठमाडौं- वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्यांकअनुसार अधिकांश बैंकहरूले बैशाखको तुलनामा जेठ महिनाका लागि निक्षेपको ब्याजदरमा केही कटौती गरेका छन्।
बैशाख महिनाका लागि एनएमबि बैंकले व्यक्तिगत निक्षेपमा ४.८ प्रतिशत र संस्थागतमा ४ प्रतिशत ब्याजदर तोकेको छ। जुन बैशाख महिनाको तुलनामा व्यक्तिगततर्फको ब्याजदर ०.२ प्रतिशतले कम हो।
राष्ट्रिय वाणिज्य बैंकले भने आफ्नो दरमा कुनै परिवर्तन नगरी व्यक्तिगतमा ४.७५ र संस्थागतमा ४ प्रतिशत नै कायम राखेको छ।
त्यसैगरी नबिल बैंकले व्यक्तिगतमा ४.५५ र संस्थागतमा ३.०१ प्रतिशत, प्रभु बैंकले व्यक्तिगतमा ४.५५ र संस्थागतमा २.७५ प्रतिशत, र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगतमा ४.५ र संस्थागतमा ३.५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।
सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतीमा ४.५ प्रतिशत ब्याजदर यथावत राखेका छन्।
ब्याजदर घटाउने बैंकहरूमा एनआइसी एशिया बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशतले ब्याज घटाएर व्यक्तिगतमा ४.५ र संस्थागतमा ३.५ प्रतिशत कायम गरेको छ। हिमालयन बैंक र नेपाल बैंकले पनि व्यक्तिगत निक्षेपमा ०.२५ प्रतिशतले कटौती गरी ४.२५ प्रतिशत कायम गरेका छन्।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगतमा ४ प्रतिशत र संस्थागतमा २.४८ प्रतिशत ब्याजदर तोकेको छ भने कुमारी बैंकले व्यक्तिगतमा ३.९६ प्रतिशत र संस्थागतमा ३.०१ प्रतिशत दर सार्वजनिक गरेको छ।
सिटिजन्स बैंक इन्टरनेशनलले व्यक्तिगततर्फ ब्याज सामान्य घटाएर ४.१० प्रतिशत कायम गरे पनि संस्थागततर्फ भने ०.५ प्रतिशतले वृद्धि गरी ३.५० प्रतिशत पुर्याएको छ।
सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपमा ब्याजदर केही बढाएको छ। बैशाखमा ४ प्रतिशत रहेको यस बैंकको व्यक्तिगत ब्याजदर जेठमा ४.०५ प्रतिशत पुगेको छ।
तथ्यांकअनुसार वाणिज्य बैंकहरूको औसत ब्याजदरमा केही गिरावट देखिएको छ। बैशाखमा व्यक्तिगततर्फ ४.४० प्रतिशत रहेको औसत ब्याजदर जेठमा घटेर ४.३४ प्रतिशत कायम भएको छ।
त्यसैगरी संस्थागततर्फको औसत ब्याजदर पनि ३.२२ प्रतिशतबाट घटेर ३.२० प्रतिशतमा झरेको छ।
