काठमाडौं- रेमिट्यान्सको उच्च लय कायम रहँदा त्यसको प्रभाव राष्ट्रिय बचतमा देखिएको छ। पछिल्लो समय उच्च रेमिट्यान्स निरन्तर भएको तर बजारमा उपभोग र लगानी संकुचित हुँदा स्रोतको सञ्चय बढेको हो।
स्रोतको सुविधालाई परिचालन गर्न नसक्दा पुँजी निर्माण कमजोर भइरहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयको लेखा अनुमानअनुसार यो वर्ष जीडीपीको ९०.२९ प्रतिशत खपत हुने अनुमान गरिएको छ, यो २०७५/७५ पछिकै न्यून हो।
कोभिडकालीन अवस्थाभन्दा पनि न्यून उपभोग यही वर्ष हुने अनुमान गरिएको छ। उपभोग संकुचित हुँदै जाँदा बजारमा माग खुम्चिएको र त्यसले गर्दा आयात पनि उल्लेख्य बढ्न सकेको छैन।
अर्कोतिर बर्सेनि रेमिट्यान्सले कीर्तिमानी बिन्दु कायम गर्दै आएको छ। गएको आर्थिक वर्ष इतिहासकै सबैभन्दा धेरै जीडीपीको तुलनामा २७.८ प्रतिशत पुगेको थियो। चाल वर्ष झन् यो बढेर ३३ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
गार्हस्थ सेभिङमा पनि वृद्धि भइरहेको छ भने मुख्यत: राष्ट्रिय बचतमा ऐतिहासिक बिन्दु टच गर्ने अनुमान गरिएको छ।
यो वर्ष राष्ट्रिय बचत जीडीपीको ४४.७७ प्रतिशत पुग्ने अनुमान गरिएको छ। यो कायम भएमा हालसम्मकै उच्च हुनेछ। यसअघि २०७५/७६ मा ४२ प्रतिशत पुगेको थियो यस्तो बचत।
पछिल्लो चार वर्षदेखि राष्ट्रिय बचत बलियो हुँदै आएको छ। देशभित्र लगानीको वातावरण नहुँदा एकातिर लगानी नहुने अर्कोतिर उपभोग पनि नबढ्नाले स्रोतको संकलन अनुत्पादक तरीकाले सञ्चित भएको छ।
देशमा लगानीभन्दा बचत उच्च हुँदा अतिरिक्त स्रोतको सुविधा रहेको छ। पछिल्लो तीन वर्षदेखि यस्तो अतिरिक्त सुविधा उपलब्ध रहेको छ। यो वर्षको अन्त्यसम्म यस्तो अतिरिक्त स्रोत नै १० प्रतिशत हुने अनुमान गरिएको छ तर उच्च आर्थिक वृद्धिका लागि यो राष्ट्रिय स्रोत पर्याप्त भने हुने छैन। यदि सरकारले भने जस्तै ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने हो भने यस्तो स्रोत एक वर्षमै नेगेटिभ हुनेछ।
