काठमाडौं- नेपालको अग्रणी निजी हवाई सेवा प्रदायक यती एअरलाइन्स लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन आईपीओ मार्फत सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।
यस प्रयोजनका लागि कम्पनीले एनआईएमबी एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
लामो समयदेखि आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको यती एअरलाइन्सले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरुमा नियमित उडान सञ्चालन गर्दै आएको छ।
नेपालको हवाई पहुँच विस्तार तथा क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्न कम्पनीले स्थापनाकालदेखि नै योगदान पुर्याउँदै आएको छ।
धितोपत्र निष्कासन सम्बन्धी उक्त सम्झौतापत्रमा यती एअरलाइन्स लिमिटेडका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।
आवश्यक कानुनी प्रक्रिया र नियामक निकायको स्वीकृतिपछि कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्नेछ।
