बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अन्तरबैंक कारोबारमा गिरावट, वाणिज्य बैंकहरूको आधार दर ५.०६ प्रतिशतमा झर्‍यो

मंगलबार, वैशाख २९ २०८३
अन्तरबैंक कारोबारमा गिरावट, वाणिज्य बैंकहरूको आधार दर ५.०६ प्रतिशतमा झर्‍यो

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनाको अवधिमा बैंकिङ प्रणालीमा तरलता सहज भएसँगै ब्याजदर र अन्तरबैंक कारोबारमा  गिरावट देखिएको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनाको अवधिमा बैंकिङ प्रणालीमा तरलता सहज भएसँगै ब्याजदर र अन्तरबैंक कारोबारमा गिरावट देखिएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार, बैंक तथा वित्तीय संस्थाहरूको आधार दर र कर्जाको भारित औसत ब्याजदर गत वर्षको तुलनामा कमि भएको हो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कुल ८ खर्ब ९२ अर्ब २१ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार भएको छ। जसमा वाणिज्य बैंकहरूले ७ खर्ब ४९ अर्ब १ करोड र अन्य वित्तीय संस्थाहरूले १ खर्ब ४३ अर्ब २० करोड रुपैयाँको कारोबार गरेका छन्।

गत वर्षको सोही अवधिमा १५ खर्ब १२ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको थियो, जसको तुलनामा यस वर्ष कारोबार रकममा ठुलो गिरावट आएको देखिन्छ।

बजारमा पैसाको आपूर्ति बढ्दा सरकारी ऋणपत्र र अन्तरबैंक ब्याजदरमा पनि कमी आएको छ। २०८१ चैतमा ३.०६ प्रतिशत रहेको ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर यस वर्ष झरेर २.६१ प्रतिशतमा सीमित भएको छ।

त्यस्तै बैंकहरूले एक-अर्कासँग लिने सापटी अन्तरबैंक दर पनि ३.०० प्रतिशतबाट घटेर २.७५ प्रतिशत कायम भएको छ।

तथ्यांकअनुसार वाणिज्य बैंकहरूको औसत आधार दर ६.२९ प्रतिशतबाट घटेर ५.०६ प्रतिशतमा झरेको छ। विकास बैंकहरूको आधार दर ७.३६ प्रतिशत र वित्त कम्पनीहरूको ७.४८ प्रतिशत कायम भएको छ। निक्षेपतर्फको ब्याजदर पनि सस्तिएको छ, जसका कारण बैंकहरूको लागत घटेको छ। हाल वाणिज्य बैंकहरूमा निक्षेपको औसत ब्याजदर ३.४० प्रतिशत मात्र रहेको छ।

निक्षेपको लागत र आधार दर घटेसँगै बैंकहरूले प्रवाह गर्ने कर्जाको ब्याजदरमा पनि घटेको छ। २०८१ चैतमा ८.२२ प्रतिशत रहेको वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर अहिले ६.७७ प्रतिशतमा ओर्लिएको छ।

यस्तै विकास बैंकहरूको ७.९६ प्रतिशत र वित्त कम्पनीहरूको ९.२६ प्रतिशत कायम भएको छ। यो गिरावटले उद्योगी, व्यवसायी र व्यक्तिगत ऋण लिनेहरूका लागि वित्तीय भार कम गरिदिएको छ।


प्रकाशित : मंगलबार, वैशाख २९ २०८३०६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend