बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निजी क्षेत्रमा जाने कर्जा प्रवाहमा सुस्तता, कृषि क्षेत्रको लगानी घट्दा आयात र उपभोगमा बढ्याे

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २८ २०८३
निजी क्षेत्रमा जाने कर्जा प्रवाहमा सुस्तता, कृषि क्षेत्रको लगानी घट्दा आयात र उपभोगमा बढ्याे

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको  प्रतिवेदन अनुसार चैत मसान्तसम्ममा निजी क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशत अर्थात् ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँले वृद्धि भएको छ। यस वृद्धिसँगै निजी क्षेत्रमा प्रवाहित कुल कर्जा रकम ५८ खर्ब ९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाहमा गत वर्षको तुलनामा केही सुस्तता देखिएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चैत मसान्तसम्ममा निजी क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशत अर्थात् ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँले वृद्धि भएको छ। यस वृद्धिसँगै निजी क्षेत्रमा प्रवाहित कुल कर्जा रकम ५८ खर्ब ९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा प्रवाह ७.१ प्रतिशत अर्थात् ३ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँले बढेको थियो। जसको तुलनामा यस वर्षको वृद्धिदर केही न्यून हो। वार्षिक बिन्दुगत आधारमा हेर्दा २०८२ चैत मसान्तमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह ६.९ प्रतिशतले बढेको देखिन्छ। 

कुल प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रको हिस्सा ६३.३ प्रतिशत छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३६.७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यकुल प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६३.४ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३६.६ प्रतिशत रहेको थियो।

संस्थागत रुपमा हेर्दा समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५.८ प्रतिशतले बढेको छ। त्यस्तै विकास बैंकहरूको कर्जा ५.१ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह २.६ प्रतिशतले वृद्धि भएको छ। 

कर्जाको सुरक्षणका आधारमा विश्लेषण गर्दा बैंकहरूको कुल लगानीमा रहेको कर्जामध्ये ६३.४ प्रतिशत घरजग्गा धितोमा रहेको छ भने १४.९ प्रतिशत कर्जा चालु सम्पत्तिको सुरक्षणमा प्रवाह भएको छ। गत वर्षको चैतमा यस्तो धितोको अंश क्रमशः ६५.२ प्रतिशत र १४.६ प्रतिशत रहेको थियो।

क्षेत्रगत कर्जा प्रवाहको अवस्था हेर्दा उपभोग्य क्षेत्रमा सबैभन्दा बढी ११.७ प्रतिशतको वृद्धि देखिएको छ। निर्माण क्षेत्रमा १०.७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १०.१ प्रतिशत, औद्योगिक उत्पादनमा ६.५ प्रतिशत र वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रमा ५.७ प्रतिशतले कर्जा बढेको छ। 

सेवा उद्योगमा ३.१ प्रतिशतको सामान्य वृद्धि भए पनि कृषि क्षेत्रतर्फको कर्जामा भने कम छ। यस अवधिमा कृषि क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले घटेको छ।

प्रकृतिगत आधारमा कर्जाको वर्गीकरण गर्दा ट्रष्ट रिसिट (आयात) कर्जा ३२ प्रतिशतले बढेको छ। यस्तै मार्जिन प्रकृतिको कर्जा १३.४ प्रतिशत, हायर पर्चेज कर्जा ८.५ प्रतिशत र व्यक्तिगत आवासीय घर कर्जासहितको रियल स्टेट कर्जा ४.६ प्रतिशतले बढेको छ। 

माग तथा अन्य चालु पुँजी कर्जा ४.३ प्रतिशत, आवधिक कर्जा ३.७ प्रतिशत, क्यास क्रेडिट कर्जा २.८ प्रतिशत र अधिविकर्ष कर्जा ०.३ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१८:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend