बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बाह्य क्षेत्र सुदृढ, विदेशी विनिमय सञ्चिति ३४ खर्ब नाघ्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २८ २०८३
बाह्य क्षेत्र सुदृढ, विदेशी विनिमय सञ्चिति ३४ खर्ब नाघ्यो

काठमाडौं- मुलुकको बाह्य आर्थिक स्थिति सुदृढ बनेको छ। पछिल्ला तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा उक्त सञ्चिति २३ अर्ब ५५ करोड बराबर रहेको छ।

वर्तमान सञ्चितिस्तरले करिब १८.४ महिनाको वस्तु तथा सेवा आयात सहज रूपमा धान्न सक्ने क्षमता देखिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बाह्य क्षेत्रमा देखिएको यो मजबुतीले समग्र भुक्तानी सन्तुलन (शोधनान्तर) स्थितिलाई पनि सकारात्मक बनाएको छ। चालु आर्थिक वर्षमा शोधनान्तर ७ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँ बचतमा रहेको छ। त्यस्तै चालु खाता पनि ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको तथ्यांकले अर्थतन्त्रमा बाह्य दबाब घट्दै गएको संकेत गर्छ।

विप्रेषण आप्रवाहमा पनि उल्लेख्य वृद्धि देखिएको छ। नेपाली रुपैयाँमा विप्रेषण ३९.१ प्रतिशतले बढेको छ भने अमेरिकी डलरमा ३१.९ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको चैत महिनामा मात्र २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ बराबर विप्रेषण भित्रिएको छ, जसले विदेशी मुद्राको आपूर्ति मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको छ।

व्यापारिक क्षेत्रतर्फ हेर्दा निर्यात १८.५ प्रतिशतले वृद्धि भएको छ भने आयात १३.८ प्रतिशतले बढेको छ। आयातको तुलनामा निर्यात वृद्धिदर उच्च रहनु सकारात्मक संकेतका रूपमा लिइएको छ, यद्यपि आयात अझै उच्च स्तरमै कायम छ।

मूल्यवृद्धि पक्षमा भने उपभोक्ता मुद्रास्फीति नियन्त्रणभित्र रहेको देखिन्छ। २०८२ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशतमा सीमित रहेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको औसत मुद्रास्फीति २.३९ प्रतिशत रहेको छ, जुन तुलनात्मक रूपमा न्यून स्तरमा रहेको अर्थशास्त्रीहरूको विश्लेषण छ।


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१८:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend