काठमाडौं- नेपालको मदिरा बजारमा नेतृत्वदायी भूमिका खेल्दै आएको हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार समीक्षा अवधिमा कम्पनीको खूद नाफा गत वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले वृद्धि भई ८५ करोड १३ लाख ५ हजार ५ सय २६ रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड ९२ लाख ४१ हजार ५ सय ५९ रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो।
त्यस कम्पनीको प्रतिसेयर आम्दानी मा पनि राम्रो सुधार देखिएको छ। गत वर्षको चैत मसान्तसम्ममा २६ रुपैयाँ ७३ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले बढेर ३० रुपैयाँ ७८ रुपैयाँ कायम भएको छ।
कम्पनीको व्यवसाय विस्तारको मुख्य आधार मानिने खूद बिक्री आम्दानी पनि ११.१५ प्रतिशतले बढेको छ। गत वर्ष २ अर्ब ७८ करोड ५० लाख ९१ हजार १ सय ४१ रुपैयाँ रहेको बिक्री आम्दानी यस वर्ष बढेर ३ अर्ब ९ करोड १४ लाख २० हजार ६७ रुपैयाँ पुगेको छ।
कम्पनीको वित्तीय अवस्थालाई थप मजबुत बनाउन जगेडा कोषले पनि ठूलो सहयोग पुर्याएको देखिन्छ। गत वर्ष ८८ करोड ७६ लाख ३१ हजार १ सय २७ रुपैयाँ रहेको जगेडा कोष यस वर्ष ३२.१२ प्रतिशतले बढेर १ अर्ब १७ करोड २७ लाख ९१ हजार १ सय २६ रुपैयाँ पुगेको छ। चुक्ता पुँजी ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँमा स्थिर रहे पनि जगेडा कोषमा भएको यो भारी वृद्धिले कम्पनीको आन्तरिक प्रतिफल क्षमता बलियो रहेको हो।
बजारको वित्तीय सूचकांकहरूलाई हेर्दा कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ३१ रुपैयाँ ८० पैसा र तरलता अनुपात ५.०९ प्रतिशत रहेको छ।
