काठमाडौं- टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज बैशाख २८ गते अन्तिम दिन रहेको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै सेयर बाँडफाँट गरिसकेपछि बाँकी रहेको सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।
१ अर्ब २० करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीले कुल पुँजीको ३५.२६ प्रतिशत अर्थात् ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
यसअघि नै स्थानीयका लागि १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ३ हजार ६७ कित्ता सेयर वितरण भइसकेको छ।
साथै, सामूहिक लगानी कोषलाई १ लाख ५१ हजार ५ सय ३३ कित्ता र कर्मचारीहरूलाई ६० हजार ६१३ कित्ता सेयर छुट्याएर बाँडफाँट गरिसकिएको छ। हाल सर्वसाधारणका लागि भने प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका कुल २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्कासन गरिएको छ।
इच्छुक लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्।
प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस निष्कासनमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयमार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सकिनेछ।
