बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रभु बैंकको साखमा दबाब, खराब कर्जा र कमजोर पुँजीकोषले बढायो जोखिम

आइतबार, वैशाख २७ २०८३
प्रभु बैंकको साखमा दबाब, खराब कर्जा र कमजोर पुँजीकोषले बढायो जोखिम

काठमाडौं- प्रभु बैंकको वित्तीय अवस्था थप दबाबमा परेको देखिएको छ। बैंकको सम्पत्तिको गुणस्तरमा निरन्तर गिरावट, बढ्दो खराब कर्जा र कमजोर पुँजीकोषलाई आधार बनाउँदै इक्रा नेपालले बैंकको इस्युअर रेटिङ तथा ऋणपत्र रेटिङ दुवै घटाएको हो।

इक्रा नेपालले प्रभु बैंकको इस्युअर रेटिङ ‘ट्रिपल बी माइनस’ बाट घटाएर ‘डबल बी प्लस’ मा झारेको छ। बैंकले जारी गरेको ऋणपत्रको रेटिङ पनि सोही अनुपातमा घटेको छ। रेटिङमा कायम गरिएको ‘नकारात्मक प्रभावसहितको निगरानी’ले आगामी दिनमा बैंकको वित्तीय अवस्था थप कमजोर भए पुनः रेटिङ घट्न सक्ने संकेत गरेको छ।

रेटिङ एजेन्सीका अनुसार प्रभु बैंकको सबैभन्दा ठूलो चुनौती खराब कर्जामा आएको तीव्र वृद्धि हो। सन् २०२५ जनवरीमा ५.०६ प्रतिशत रहेको बैंकको खराब कर्जा एक वर्षमै बढेर ७.९४ प्रतिशत पुगेको छ। यो समग्र बैंकिङ क्षेत्रको औसतभन्दा उच्च हो। अझ बैंकको करिब ३९ प्रतिशत कर्जा कुनै न कुनै रूपमा भाखा नाघेको अवस्थामा रहेको उल्लेख गरिएको छ।

इक्राले विशेषरूपमा औँल्याएको अर्को पक्ष ६१ देखि ९० दिनसम्म भाखा नाघेका कर्जाको अनुपात हो। यस्तो कर्जा कुल पोर्टफोलियोको १३.४ प्रतिशत पुगेको छ, जुन खराब कर्जामा परिणत हुने उच्च जोखिमयुक्त अवस्था मानिन्छ। यसले आगामी महिनाहरूमा थप प्रोभिजनिङको दबाब सिर्जना गर्न सक्ने अनुमान गरिएको छ।

बैंकको पुँजीकोषको अवस्था पनि नियामकीय सीमानजिक पुगेको छ। प्रभु बैंकको टियर वान पुँजी अनुपात घटेर ८.६८ प्रतिशतमा झरेको छ, जब कि नेपाल राष्ट्र बैंकले न्यूनतम ८.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ। खराब कर्जा थप बढेमा र त्यसअनुसार थप कर्जा नोक्सानी व्यवस्था गर्नुपरेमा बैंकलाई नियामकीय पुँजी कायम गर्न कठिन हुन सक्ने इक्राको निष्कर्ष छ।

बैंकको प्रोभिजन कभरेज पनि अघिल्ला वर्षहरूको तुलनामा कमजोर बनेको छ। यसअघि ७५ देखि ८० प्रतिशतसम्म रहने कर्जा नोक्सानी सुरक्षण अहिले करिब ६६ प्रतिशतमा सीमित भएको छ। यसले भविष्यमा खराब कर्जाको थप असर प्रत्यक्ष रूपमा पुँजीमा पर्न सक्ने जोखिम बढाएको विश्लेषण गरिएको छ।

बढ्दो खराब कर्जाको असर बैंकको नाफामा समेत देखिएको छ। चालु आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा बैंकले १ अर्ब १ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाए पनि प्रतिफल सूचकहरू कमजोर बनेका छन्। सम्पत्तिमा प्रतिफल घटेर ०.५० प्रतिशतमा सीमित भएको छ भने नेटवर्थमा प्रतिफल पनि उल्लेखनीय रूपमा कमजोर देखिएको छ।

यद्यपि बैंकको तरलता अवस्था भने तुलनात्मक रूपमा सहज रहेको इक्राले जनाएको छ। बैंकको कर्जा-निक्षेप अनुपात ७१ प्रतिशतमा सीमित रहेको छ भने खुद तरल सम्पत्ति ३९ प्रतिशत पुगेको छ। चल्ती तथा बचत निक्षेपको हिस्सा ५२ प्रतिशत पुगेकाले निक्षेप लागत घटाउन सहयोग पुगेको उल्लेख गरिएको छ।

देशभर ३ सय १२ शाखा, ६९ एक्स्टेन्सन काउन्टर र २६० एटीएममार्फत सेवा विस्तार गरेको प्रभु बैंक अझै पनि मध्यम आकारका प्रमुख वाणिज्य बैंकमध्ये एक हो। बैंकको निक्षेप बजार हिस्सा ४.४८ प्रतिशत र कर्जा बजार हिस्सा ४.१९ प्रतिशत रहेको छ।

इक्राले नेपालको बैंकिङ क्षेत्र नै पछिल्ला केही वर्षदेखि दबाबमा रहेको उल्लेख गरेको छ। कोभिडपछि लागु भएका कार्यशील पुँजीसम्बन्धी कडाइ, आर्थिक शिथिलता र व्यवसायीहरूको कमजोर नगद प्रवाहले बैंकहरूको सम्पत्तिको गुणस्तरमा असर पारेको निष्कर्ष निकालिएको छ।

साथै पश्चिम एसिया क्षेत्रमा बढ्दो तनावले रेमिट्यान्स र समग्र अर्थतन्त्रमा असर पार्न सक्ने भएकाले बैंकहरूको निक्षेप वृद्धिमा समेत जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।


प्रकाशित : आइतबार, वैशाख २७ २०८३११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend