बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी कविराज

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ६ २०८२
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी कविराज

आफ्नो फार्ममा सिप्लिकानसँगै कुरिलोखेती पनि गर्दै आएका छन्। यहाँको उत्पादन शुक्लागण्डकी नगरपालिका-१ र २ का साथै पोखरा नगरपालिका-३२ बाट पनि बिक्री भइरहेको छ।

गण्डकी- तनहुँको शुक्लागण्डकी नगरपालिका-२ स्थित एक्ले खेतमा रहेको ॐ कृषि फार्मका सञ्चालक कविराज खनाललाई यतिखेर माग अनुसारको सिप्लीकानका बिरुवा पुर्‍याउनै धौधौ छ।

विगत छ वर्षयता सिप्लीकानको व्यावसायिक खेतीसँगै नर्सरी गरी बिरुवा बेच्दै आएका खनालले यसवर्ष ५० हजार सिप्लीकानका बिरुवा तयार गर्ने लक्ष्य राखेका छन्, तर बढ्दो मागका कारण बिरुवा पुर्‍याउन नसकिने अवस्था आएको छ। पछिल्ला दिनमा विभिन्न कृषि समूहका साथै व्यक्तिगत रूपमा बिरुवाका लागि अत्याधिक माग आइरहेको खनालले बताए। अघिल्लो वर्ष मात्रै करिब छ लाख बराबरका करिब आठ हजार बिरुवा तयार सिप्लीकानका बिरुवा बिक्री गरेको उनले जानकारी दिए।

विशेषतः पहाडी क्षेत्रमा पाइने बहुऔषधीय गुणयुक्त यो वनस्पति देशका अधिकांश स्थानबाट हराउँदै गएको छ। सिप्लीकानको महत्त्वलाई पछिल्ला पुस्तामासमेत पुर्‍याउने लक्ष्यसँगै आँफूले यसको व्यावसायिक खेती गरी बर्सेनि आम्दानी गरिरहेको खनालको भनाइ छ।

कास्कीको रुपा, मादी, माछापुछ्रे, अन्नपूर्ण गाउँपालिका र तनहुँको शुक्लागण्डकी, भीमाद, बन्दीपुर, देवघाट आसपासका क्षेत्रहरू सिप्लिकान खेतीका लागि उपयुक्त रहेको बताउँदै खनालले लोपोन्मुख अवस्थामा रहेको नस्पतिलाई संरक्षण गर्दै जनजनमा प्रयोग बढाउने उद्देश्यसहित कधाम गरिरहेको बताए।

'कोभिड-१९ महामारीपछि विगत ६ वर्षयता आफू यस खेतीमा लागेको थिएँ। यहाँ उत्पादित बिरुवा कास्कीको रुपा गाउँपालिकासहित देशका विभिन्न स्थानमा पुगिसकेका छन्। यस वर्ष मागअनुसार पुर्‍याउने लक्ष्यसँगै ५० हजार बिरुवा तयार गर्ने गरी काम भइरहेको छ', उनले योजना सुनाए।

खनालले व्यापार मात्र होइन, छरछिमेक, इष्टमित्रलगायत कतिपय स्थानमा निःशुल्क बिरुवा प्रदान गर्दै आएका छन्। उनले प्रतिबिरुवा एक सयदेखि १५० रुपैयाँसम्म बिक्री गरिराखेका छन्। पर्यावरणीय सन्तुलनका लागि पनि यसको महत्त्व रहेकाले सबैले यसको संरक्षण गरी लाभ लिनुपर्ने उनको भनाइ छ।

उच्च रक्तचाप, सुगर, जन्डिस र मिर्गौलामा हुने पत्थरीलगायतका रोगका लागि औषधिका रूपमा सिप्लिकानको प्रयोग गर्ने गरिन्छ। यसलाई तत्कालका लागि तरकारी र अचार तथा लामो समयका लागि गुन्द्रुक बनाएर पनि खान सकिन्छ। 'एक पटक लगाएको सिप्लीकानको बिरुवाबाट चार पुस्तासम्म उत्पादन लिन सकिन्छ', खनालले भने, ' यसमा बाँदरले पनि क्षति नपुर्‍याउँदैन। वर्षाको समयमा लगाइने लहरे तरकारीका लागि यसलाई थाँक्रोका रूपमासमेत उपयोग गर्न सकिन्छ।'

खनालले आफ्नो फार्ममा सिप्लिकानसँगै कुरिलोखेती पनि गर्दै आएका छन्। यहाँको उत्पादन शुक्लागण्डकी नगरपालिका-१ र २ का साथै पोखरा नगरपालिका-३२ बाट पनि बिक्री भइरहेको छ।

उनका अनुसार फार्मबाट वार्षिक २० देखि २५ हजार कुरिलोका बिरुवा बिक्रीवितरण गर्ने गरिएको छ। स्वास्थ्यका लागि उपयोगी कुरिलोको टुसालाई तरकारीका रूपमा बढी प्रयोग गरिन्छ। यसमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न पौष्टिकतत्व पाइने र बच्चादेखि वृद्धसम्म सबैका लागि उपयोगी हुने चिकित्सकले बताएअनुसार आफूले यसको व्यवसायमा जोड दिएको खनालको भनाइ छ।

उनले फार्ममा आउने वा बुझ्न चाहने जो कोहीलाई कुरिलो, सिप्लिकानलगायत खेतीका प्रविधि, उपयोगिता र बजारीकरणलगायत विषयमा जानकारी गराउँदै आएका छन्। कृषिबारे ज्ञान, सीप र प्रविधिबारे जानकारी गराउने भएकोले उनको फार्म एउटा जीवन्त पाठशालासमेत बन्दै गएको छ।

व्यावसायिक कृषिसँगै पत्रकारिता र शिक्षण पेसालाई सँगसँगै अघि बढाउनुभएका खनाल रेडियो नेपाल र आदर्श समाज राष्ट्रिय दैनिकमा संवाददाताका रूपमा कार्यरत हुनुहुन्छ। रोजगारीको खोजीमा धेरै नेपाली युवाहरू विदेशिने गरेको अवस्थामा सम्भावनायुक्त कुरिलो, सिप्लीकान जस्ता खेतीतर्फ आफू लागेको उनको भनाइ छ। यसबाट अन्य युवाले पनि प्रेरणा लिँदै व्यावसायिक उत्पादन गर्न सक्ने खनालले बताए।

व्यावसायिक कृषिका माध्यमबाट स्वदेशमा नै केही गर्छु भन्नेलाई पहिचान गरी उनीहरूलाई प्रोत्साहित गर्ने वातावरण राज्यले तयार गनुपर्ने र त्यसमा आफू पनि सहकार्य गर्न तयार रहेको उनले बताए। रासस


प्रकाशित : शुक्रबार, चैत ६ २०८२१५:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend