बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ४ २०८२
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

मौसमी तरकारी उत्पादनका कारण राधानगरलाई अहिले ‘तरकारी पाइने गाउँ’का रूपमा चिनिन थालेको छ। झापाको प्रमुख बजार बिर्तामोडमा आउने स्थानीय तरकारीमध्ये धेरैजसो यही गाउँबाट पुग्ने गरेको छ।

झापा- झापाको बाह्रदशी गाउँपालिका-३ स्थित ‘राधानगर’ गाउँ तरकारीखेतीबाट परिचित छ। बिहान झिसमिसै उज्यालो हुनुअघि नै यहाँका किसानहरू खेतबारीतर्फ निस्किसकेका हुन्छन्। करिब ३ बजेदेखि सुरु हुने उनीहरूको कामले गाउँको कृषि गतिविधि चलायमान देखिन्छ। निरन्तर मेहनत, लगाव र परिवारको सहकार्यका कारण यहाँका किसानहरूले तरकारी उत्पादनबाट उल्लेख्य आम्दानी गरिरहेका छन्।

राधानगरका बासिन्दाका लागि खेतीपाती रोजगारीको माध्यम मात्र नभइ दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ। समयसँगै सुधार हुँदै गएको कृषि प्रविधि, बजारको बढ्दो माग र स्थानीय किसानहरूको सक्रियताले यो गाउँ झापामा तरकारी उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको छ। अहिले यहाँका धेरैजसो परिवारले मौसमी तरकारीखेतीलाई आफ्नो प्रमुख आयआर्जनको आधार बनाएका छन्।

राधानगरका किसान सुन्दरलाल शाहको दैनिकी यस गाउँका किसानहरूको प्रतिनिधि कथाजस्तै छ। उनीको दिनचर्या बिहान ३ बजेदेखि सुरु हुन्छ। घर वरपर अँध्यारो अझै बाँकी रहँदा उनी खेततर्फ लागिसक्छन्। आजभोलि खेतमा लगाइएका बन्दागोभी, काउली र बैगुनजस्ता मौसमी तरकारी टिप्ने काम त्यसै समयबाट सुरु हुन्छ। तीन बिघा क्षेत्रफलमा फैलिएको उनीको खेत अहिले बन्दागोभी, काउली र बैगुनले ढाकिएको छ। बिहानैदेखि तरकारी टिप्ने, वर्गीकरण गर्ने र गाडीमा राखेर बजार पठाउने काममा परिवारका सदस्यहरू पनि व्यस्त देखिन्छन्।

सुन्दरलाल यस काममा श्रीमती र छोरी सरिताले भरपूर साथ दिएको बताउँछन्। 'बिहान ३ः०० बजे उठ्नुपर्छ, तरकारी टिप्नुपर्छ अनि गाडीमा राखेर झापा जिल्लाको व्यापारिक केन्द्र बिर्तामोडको कृषि थोक बजारसम्म पुर्‍याउनुपर्छ', सुन्दरलाल भन्छन्, 'तर आफ्नै उत्पादन सिधै बजारमा लैजान पाउँदा विचौलियाको झन्झट कम हुन्छ।'

परिवारका सदस्यबाहेक तीन जनालाई नियमित रोजगारी दिनुका साथै तरकारीखेतीबाट खर्च कटाएर वार्षिक १२ लाखभन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछन्। यद्यपि खेतीमा आम्दानीसँगै खर्च पनि उत्तिकै हुने गरेको सुन्दरलालको अनुभव छ। गोबर मल, ट्र्याक्टर जोताइ, रासायनिक मल, मजदुर खर्च र ढुवानीमा ठूलो रकम खर्च हुने गरेको उनी बताउँछन्। 'कमाइ राम्रो हुन्छ तर खर्च पनि धेरै हुन्छ', उनी भन्छन्, 'गोबरमलमै एक वर्षमा एक लाखभन्दा बढी रुपैयाँ खर्च हुन्छ।'

सुन्दरलालकी छोरी सरिता शाह कृषि क्षेत्रमा नयाँ पुस्ताको प्रतिनिधिजस्तै देखिन्छन्। उनले १८ महिनाको कृषि प्राविधिक (जेटिए) अध्ययन पूरा गरेका छन्। बाल्यकालदेखि बुबाले खेतमा गरेको मेहनत देख्दै हुर्किनुभएकी सरितालाई कृषि क्षेत्रमा काम गर्ने प्रेरणा त्यहीँबाट मिलेको हो।

'सानैदेखि बुबाले खेती गरेको देखेर यो क्षेत्रमा केही गर्नुपर्छ भन्ने लाग्थ्यो', सरिता भन्छिन्, 'त्यसैले कृषि पढेँ, अहिले बुबालाई सघाउँदा धेरै कुरा बुझ्न सजिलो भएको छ।'

उनका अनुसार गाउँमै तरकारीखेती गरेर राम्रो आम्दानी गर्न सकिन्छ। तर सीमावर्ती भारतीय बजारबाट अवैध विषादीयुक्त सस्तो मूल्यका तरकारी खुल्ला रुपले आउँदा स्थानीय किसानले उचित बजार मूल्य पाउन नसक्ने समस्या भने अझै रहेको सरिता बताउँछन्। उनी भन्छन्, 'त्यस्ता तरकारी सस्तोमा आउँदा हाम्रो उत्पादनको मूल्य घट्छ।'

सुन्दरलालको परिवारको परम्परागत पेसा भने सुर्तीखेती थियो। उनका बुबा र हजुरबुबाहरूले पनि यही खेती गर्दै आएका थिए। तर समयसँगै सुर्तीखेतीमा बजार घट्दै गयो र आम्दानी पनि कम हुन थाल्यो। मौसमले पनि साथ दिन छाड्यो त्यसपछि सुन्दरलालले विसं २०५२ देखि तरकारीखेती सुरु गरेका हुन्। सुरुवाती दिनहरूमा सानो जमिनबाट सुरु गरिएको खेती अहिले तीन बिघासम्म विस्तार भएको छ। 'पहिला सानो कित्ताबाट सुरु गरेको थिएँ', उनी सम्झनुहुन्छ, 'अहिले मेहनत र अनुभवले खेती राम्रो भएको छ।'

राधानगरकै अर्का किसान जगतलाल शाहको कथा पनि उत्तिकै प्रेरणादायी छ। उनले आठ वर्ष मलेसियामा वैदेशिक रोजगारी गरे। विदेशमा काम गरेर फर्किएपछि उनले गाउँमै तरकारीखेती सुरु गरे।

'विदेशमा काम गर्दा पनि मन गाउँमै थियो', उनी भन्छन्, 'त्यसैले फर्किएपछि खेती सुरु गरेँ।' हाल उनले एक बिघा जमिनमा तरकारीखेती र दुई बिघामा मकैखेती गर्दै आउनुभएको छ। खेतीबाट खर्च कटाएर वार्षिक १५ लाखभन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछन्। 'अहिले दुई जना मजदुरलाई नियमित रोजगारी दिएको छु', उनी भन्छन्, 'तरकारीखेतीकै कमाइबाट दुई बिघा जमिन थप जोडेको पनि छु।'

जगत्का दुई छोराहरू भने हाल विदेशमै रोजगारीमा छन्। भविष्यमा उनीहरूलाई पनि गाउँमै फर्काएर कृषि क्षेत्रमा लगाउने योजना रहेको उनी बताउँछन्। राम्रो आम्दानीसँगै बजार सजिलै पाए पनि उचित मूल्य पाउन चुनौती रहेको जगतलालको अनुभव छ। राधानगरकै अर्का किसान विनोद शाह पनि तरकारीखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ। उनले एक विघा जमिनमा बन्दागोभी, काउली र बैगुनलगायतका मौसमी तरकारीखेती गर्दै आउनुभएको छ।

विनोदले आफ्नो उत्पादन स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। घरका सदस्यहरू मिलेर काम गर्दा खर्च कम हुने र आम्दानी राम्रो हुने उनीको अनुभव छ। 'घरकै मान्छेले काम गर्दा खर्च कम हुन्छ', उनी भन्छन्, 'खर्च कटाएर वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी हुन्छ।' तर उनका अनुसार भारतीय बजारबाट आउने विषादीयुक्त तरकारी स्थानीय किसानका लागि मुख्य चुनौती बनेको छ।

राधानगरमा शाह समुदायका करिब १४० परिवार बसोबास गर्दै आएका छन्। यीमध्ये अधिकांश परिवार तरकारीखेतीमा संलग्न छन्। श्यामनारायण शाह, झडीलाल शाह, नागिन शाह, लखतलाल शाहलगायतका किसानहरू पनि यही पेसामा सक्रिय छन्।

मौसमी तरकारी उत्पादनका कारण राधानगरलाई अहिले ‘तरकारी पाइने गाउँ’का रूपमा चिनिन थालेको छ। झापाको प्रमुख बजार बिर्तामोडमा आउने स्थानीय तरकारीमध्ये धेरैजसो यही गाउँबाट पुग्ने गरेको छ।

बाह्रदशी गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख निशान विष्टका अनुसार यस क्षेत्रमा अधिकांश किसानले मौसमी तरकारीखेती गर्दै आएका छन्। गाउँपालिकाले किसानलाई कृषि उपकरण, प्रविधि र तालिम उपलब्ध गराउँदै आएको उनी बताउँछन्। 'किसानलाई आवश्यक पर्दा समन्वय र सहयोग गर्ने काम पालिकाले गरिरहेको छ', उनी भन्छन्। कृषि प्रविधिको प्रयोग, उन्नत बीउबिजन र बजार व्यवस्थापनमा सहयोग मिल्दै जाँदा यहाँको तरकारी उत्पादन अझै बढ्ने अपेक्षा गरिएको छ।

तरकारीखेतीबाट राम्रो आम्दानी भए पनि किसानहरूले केही चुनौती पनि भोगिरहेका छन्। मुख्य समस्या भनेको भारतीय बजारबाट आउने सस्तो तरकारी हो। विषादी प्रयोग भएका तरकारी सस्तोमा बजारमा आउँदा स्थानीय उत्पादनको मूल्य घट्ने गरेको किसानहरू बताउँछन्। यद्यपि किसानहरू मेहनत, अनुभव र नयाँ प्रविधिको प्रयोगबाट यी चुनौती पार गर्दै अघि बढिरहेका छन्।

आज राधानगरका खेतहरूमा फैलिएको हरियाली केवल तरकारीका बोटहरूको हरियाली मात्र होइन, यो गाउँका किसानहरूको आशा र भविष्यको हरियाली पनि हो। बिहानको अँध्यारो चिर्दै खेतमा पुग्ने किसानहरूको मेहनतले यहाँको माटोलाई सुनजस्तै बनाइरहेको छ। सुन्दरलाल, जगतलाल, विनोदजस्ता किसानहरूको कथाले देखाउँछ-यदि इच्छाशक्ति र मेहनत भए गाउँमै बसेर पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ।

राधानगर आज केवल एउटा गाउँ होइन, मेहनत र सम्भावनाको कथा बनेको छ। खेतबारीमा हुर्किरहेका तरकारीसँगै यहाँका किसानहरूको सपना पनि दिनदिनै बढिरहेको छ। भविष्यमा अझ राम्रो प्रविधि, बजार व्यवस्थापन र सरकारी सहयोग मिल्दै गए यो गाउँ झापाको मात्र होइन, देशकै उत्कृष्ट तरकारी उत्पादन केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गर्न सकिन्छ। रासस


प्रकाशित : बुधबार, चैत ४ २०८२१४:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend