बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

केराखेतीको बीमा नहुँदा किसान मारमा, हावाहुरीले डेढ करोड रुपैयाँबराबरको केराखेती नष्ट

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ४ २०८२
केराखेतीको बीमा नहुँदा किसान मारमा, हावाहुरीले डेढ करोड रुपैयाँबराबरको केराखेती नष्ट
फाइल तस्बिर

बीमाका लागि चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्ले तथा विभिन्न बीमा कम्पनीलाई आग्रह गर्दा बेवास्ता गरेको कृषकको गुनासो छ।

रौतहट- केराखेतीको बीमा नहुँदा रौतहटका किसान मारमा परेका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केराखेतीमा बीमा नहुँदा यहाँका किसान प्रकृति प्रकोपबाट मारमा परेका हुन्।

सोमबार साँझ आएको भीषण हावाहुरीका कारण चन्द्रपुर नगरपालिकामा अत्यधिक क्षति पुगेको छ। विशेष गरी चन्द्रपुर-३ मा लगाइएको करिब डेढ करोड रुपैयाँबराबरको केराखेती पूर्ण रूपमा नष्ट हुँदा किसान आर्थिक मारमा परेका छन्।

चन्द्रपुर-१ को पौराई, चन्द्रपुर-२ को जुडिबेला, वार्ड नं ३ को गैडाटार, वार्ड नं ४ को चन्द्रनिगाहपुरलगायत गाउँमा हावाहुरीले केराखेतीमा पूर्ण रुपमा क्षति पुर्‍याएको छ। चन्द्रपुर-३ को गैँडाटार गाउँ केरा उत्पादनको मुख्य क्षेत्रका रूपमा परिचित छ। यहाँका अधिकांश किसानले व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन्।

सोमबार आएको हावाहुरीले हजारौँ बोट केरा ढल्दा वर्षभरिको मेहनत एकैछिनमा नष्ट भएको स्थानीय कृषक दीपक गौतमले बताए। लगानी, श्रम र समय सबै गुम्दा किसान आर्थिक रूपमा धरासायी हुने अवस्थामा पुगेका छन्।

केराखेती गर्ने किसानले बर्सेनि प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ। हावाहुरी, रोग र कहिलेकाही जङ्गली जनावरको आक्रमणले केराखेती नष्ट हुने गरेको तर बीमा नहुँदा सबै क्षति किसानले बेहोर्नुपरेको गौतम बताउँछन्।

यस क्षेत्रमा व्यावसायिक रुपमा केराखेती गर्ने किसान बढेपछि केराखेतीको बीमा गर्न पटकपटक चन्द्रपुर नगरपालिकामा आवाज उठाउँदा सुनवाइ नभएको उनले बताए।

बीमाका लागि चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्ले तथा विभिन्न बीमा कम्पनीलाई आग्रह गर्दा बेवास्ता गरेको कृषक गौतमको गुनासो छ। उनले करिब ७ बिघा जमिनमा केराखेती गर्दै आउनुभएको छ। रौतहटमा करिब चार सय बिघाभन्दा बढी जमिनमा केरा खेति भएको र हावाहुरीबाट रु तीन करोडभन्दा बढीको क्षति पुगेको छ।

यस्तै चन्द्रपुर-३ का अर्का किसान रमेश घिमिरेले केराखेतीको बीमा भएमा किसानको लगानी सुरक्षित हुने बताए। यहाँ बीमा नहुँदा किसान मारमा परेको उनले बताए।

अहिलेको समयमा हरेक बालीको बीमा अपरिहार्य भएको घिमिरेले बताए। बीमा कम्पनीले जोखिम बढी हुने भन्दै केराखेतीको बीमा गर्न आनाकानी गर्दै आएको उनको गुनासो छ। यसले हरेक वर्ष प्राकृतिक प्रकोप आउँदा किसान थप समस्यामा पर्ने गरेका छन्।

चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले कृषकको बाली बीमाका लागि नगरपालिका सबै किसिमको सहयोग गर्न तयार रहेको बताए। बालीका लागी बीमा अति आवश्यक भएकाले बीमाका लागि कुनै पनि किसिमको सहयोग गर्न तयार रहेको उनको भनाइ थियो। रासस


प्रकाशित : बुधबार, चैत ४ २०८२११:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend