बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भोजपुरको दिङ्लामा रुद्राक्ष खेतीमा किसानको आकर्षण उच्च

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ४ २०८२
भोजपुरको दिङ्लामा रुद्राक्ष खेतीमा किसानको आकर्षण उच्च

रुद्राक्ष व्यवसायी संघका केन्द्रीय अध्यक्ष मनोज चापागाईंका अनुसार भोजपुरमा रुद्राक्ष कारोबारबाट वार्षिक ‍एक अर्ब रुपैयाँको हाराहारीमा रकम भित्रिने गरेको छ।

भोजपुर- भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ। विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यमका रूपमा अपनाएका छन्। यहाँका किसानले रुद्राक्ष बिक्रीबाट लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन्।

रुद्राक्ष व्यवसायी संघका केन्द्रीय अध्यक्ष मनोज चापागाईंका अनुसार भोजपुरमा रुद्राक्ष कारोबारबाट वार्षिक ‍एक अर्ब रुपैयाँको हाराहारीमा रकम भित्रिने गरेको छ। राम्रो गुणस्तर, आकार र दुर्लभ मुख भएका रुद्राक्षको मूल्य अत्यधिक हुने भएकाले किसानले यसबाट पर्याप्त आर्थिक लाभ लिनसक्ने अवस्था रहेको उनको भनाइ छ।

अध्यक्ष चापागाईंका अनुसार राम्रो आकारको २१ मुखे रुद्राक्षको एउटै दाना प्रतिगोटा ५५ लाख रुपैयाँदेखि ६० लाख रुपैयाँसम्ममा बिक्री हुने गर्दछ। रुद्राक्षमा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ। सामान्यतया आठदेखि २९ मुखसम्मका दानालाई मुखदार रुद्राक्ष मानिन्छ। व्यापारीका अनुसार रुद्राक्षको मुखको संख्या जति धेरै हुन्छ, त्यति नै दुर्लभ र मूल्यवान मानिने भएकाले यसको बजार मूल्य सोहीअनुसार उच्च हुने गर्दछ।

दिङ्ला क्षेत्रमा यस वर्ष एउटा २९ मुखे रुद्राक्षसमेत फलेको अध्यक्ष चापागाईंले जानकारी दिए। २९ मुखे रुद्राक्ष दुर्लभ मानिने भएकाले यसको मूल्य निकै महँगो हुने गर्दछ। धार्मिक तथा आध्यात्मिक महत्त्वका कारण यस्ता दुर्लभ रुद्राक्षको माग स्वदेशमा मात्र नभई विदेशमा उच्च छ। दिङ्लाका एक किसानले रुद्राक्षबाट वार्षिक रूपमा न्यूनतम एक लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले बताए। गत वर्ष मात्र भोजपुरबाट करिब २१ लाख किलो रुद्राक्ष बिक्री भएको तथ्यांक रहेको अध्यक्ष चापागाईंले बताए।

'करिब ६ लाख किलो रुद्राक्ष चीनतर्फ निर्यात भएको थियो। बाँकी भारतमा निर्यात गरिएको तथ्यांक छ,' उनले भने।

रुद्राक्षको मूल्य निर्धारण यसको मुख, तौल, आकार, गुणस्तर र दुर्लभताको आधारमा हुने गर्दछ। राम्रो आकार, स्पष्ट मुख र कम दोष भएका दानाको मूल्य बजारमा धेरै हुने गर्दछ। भोजपुरमा करिब ३० हजारदेखि ४० हजार किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुद्राक्ष खेतीमा आबद्ध रहेको रुद्राक्ष व्यवसायी संघले जनाएको छ।

दिङ्ला क्षेत्रका किसानले उत्पादन गरेको रुद्राक्ष खरिद गर्न चीनका व्यापारी घर-घरमा समेत आउने गरेका छन्। यो क्षेत्रमा रुद्राक्ष अत्याधिक उत्पादन हुने भए पनि यसको प्रमुख प्रारम्भिक बजार भने संखुवासभाको खाँदबारी र तुम्लिङटार हो। यहाँका किसानले उत्पादन गरेको रुद्राक्ष ती बजारमा लगेर बिक्री गर्ने गरेका छन्। खाँदबारीबाट भने रुद्राक्ष तराईका विभिन्न जिल्ला, काठमाडौं तथा चीन र भारतसम्म निर्यात हुने गरेको छ। पछिल्लो समय युरोप, अमेरिकालगायतका मुलुकमा समेत नेपाली रुद्राक्षको माग बढ्दै गएको व्यापारीहरू बताउँछन्।

इतिहासका अनुसार भोजपुरमा रुद्राक्ष खेतीको सुरुवात धेरै पुरानो मानिन्छ। विसं १९३२ भन्दा अघि भारतको काशीबाट ल्याएर बालागुरु षडानन्द अधिकारीले दिङ्ला क्षेत्रमा रुद्राक्षको बिरुवा रोपेको पाइएको छ। त्यसपछि यहाँ क्रमशः यसको विस्तार हुँदै गएको स्थानीय बताउँछन्। अहिले भोजपुरको दिङ्ला क्षेत्र नेपालकै प्रमुख रुद्राक्ष उत्पादन केन्द्रका रूपमा चिनिन्छ।

रुद्राक्षले धार्मिक तथा आध्यात्मिक रूपमा पनि विशेष महत्त्व राख्छ। हिन्दु धर्मावलम्बीले रुद्राक्षलाई भगवान् शिवसँग सम्बन्धित पवित्र वस्तुका रूपमा लिने गर्छन्। त्यसैले पूजा, जपमाला तथा विभिन्न धार्मिक अनुष्ठानमा यसको प्रयोग हुने गर्दछ। सामान्यतया कालो रङको रुद्राक्षलाई सबैभन्दा राम्रो मानिन्छ। जुन रुद्राक्षमा प्वाल नपारीकन नै धागो छिराउन सकिन्छ। प्राकृतिक रूपमा बनेका यस्ता दाना दुर्लभ हुने भएकाले यसको मूल्य धेरै हुने गर्दछ।

भोजपुरको षडानन्द नगरपालिकाअन्तर्गत नेपालेडाँडा, कुदाकाउले, देउराली, मुलपानी, केउरेनीपानी लगायतका स्थानमा रुद्राक्ष खेती व्यापक रूपमा हुँदै आएको छ। यसबाहेक जिल्लाका अन्य विभिन्न स्थानमा पनि यसको उत्पादन बढ्दै गएको छ। यद्यपि किसानले रुद्राक्ष खेतीसँगै समस्या पनि भोगिरहेका छन्।
 
विशेषगरी राम्रो दाना चोरी हुने, रुद्राक्षका बोट काटिदिने जस्ता समस्या बढ्दै गएको किसानको गुनासो छ। यसको संरक्षण तथा व्यवस्थित बजार व्यवस्थापन गर्न सकेमा रुद्राक्ष खेती अझ बढी लाभदायक बन्न सक्ने स्थानीयको भनाइ छ। उचित संरक्षण, बजार व्यवस्थापन र प्रवर्द्धन गर्न सकेमा रुद्राक्षले भोजपुरका किसानको आर्थिक अवस्था सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ। रासस


प्रकाशित : बुधबार, चैत ४ २०८२१०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend