बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ कमाउँछिन् पूर्वमुक्तकम्लरी आशारानी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ३ २०८२
अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ कमाउँछिन् पूर्वमुक्तकम्लरी आशारानी

महिला उद्यमीद्वारा उत्पादित वस्तुको बजारीकरणका लागि स्थानीय सरकारले पनि पहल गर्न आवश्यक रहेको उनले बताइन्।

दाङ- लमही नगरपालिका-५ लमहीकी आशारानी चौधरीको मुख्य पेसा अचार व्यवसाय हो। उनी अहिले अचार बिक्रीका लागि घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा आएकी छिन्।

यही आफ्नो मुख्य पेसा भएका कारण जिल्लामा सञ्चालन हुने विभिन्न मेला महोत्सवमा जाने गरेको उनी बताउँछिन्। आयआर्जनको राम्रो स्रोत भएका कारण अचार व्यवसायलाई विगत १३ वर्षदेखि निरन्तरता दिँदै आएको उनको भनाइ छ।

उनले तामा, हरियो खुर्सानी, करेला, मेथी, आँपलगायतका अचार उत्पादन गरेर बिक्री गर्न व्यस्त छिन्। अघिपछिभन्दा चाडपर्व र मेला-महोत्सवमा राम्रो बिक्री हुने उनले बताइन्।

'सबैभन्दा बढी आँपको अचार बिक्री हुन्छ,' उनले भनिन्, 'यस व्यसायबाट मासिक २५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी छु।' सुरुमा स्वान नेपाल भन्ने संस्थाबाट तालिम लिएर व्यावसायिक रूपमा अचार बनाएर बिक्री गर्दै आएको आशारानी बताउँछिन्।

उनले भनिन्, 'अचारअनुसार किलोलाई २५० रुपैयाँदेखि ५०० रुपैयाँसम्ममा बिक्री गर्दै आएकी छु।' आफूले अचार उत्पादन गरेर बिक्री गर्ने र स्थानीय तहले महिलाका लागि सञ्चालन गरेको तालिममा प्रशिक्षक भएर समेत जाने गरेको उनको अनुभव छ।

धेरै महिलाले यससम्बन्धी तालिम लिए पनि उत्पादन गरेर बिक्री गर्न समस्या हुने उनी बताउँछिन्। उमेरले ४० वर्ष पुगेकी उनलाई परिवारको राम्रो साथ मिलेको छ।

उनी पूर्वमुक्तकम्लरीसमेत हुन्। आफ्नै व्यवसायमा जोडिएर आयआर्जन गर्न पाउँदा खुसी लागेको उनले बताइन्। लाजाजुनी पूर्वमुक्तकम्लरी अचार उद्योगमार्फत सञ्चालन गरेको अचार व्यवसायका लागि आँप एक वर्षका लागि पहिले नै मौज्दात राख्ने गरेको उनी बताउँछिन्।

महिला उद्यमीद्वारा उत्पादित वस्तुको बजारीकरणका लागि स्थानीय सरकारले पनि पहल गर्न आवश्यक रहेको उनले बताइन्। अन्य महिलाले व्यावसायिक रूपमा अचार उद्योग सञ्चालन गर्ने मन भए पनि आर्थिक समस्याका कारण पछि पर्ने गरेको आशारानीले बताइन्।

महिलालाई आर्थिक रूपमा सशक्त बनाउन सीपमा जोड्न आवश्यक रहेको उनको भनाइ छ। आफ्नै गाउँघरमा उत्पादन भएको अचार प्रयोग गर्न आमनागरिकलाई उनको सुझाव छ।

'हामीले कुनै केमिकल प्रयोग गर्दैनौँ, हामीले उत्पादन गर्ने अचार राम्रो हुन्छ,' उनले भनिन्। पछिल्लो समय मेला महोत्सवमा ग्राहकको मुख्य रोजाइ मिक्स अचार हुने गरेको छ। रासस


प्रकाशित : मंगलबार, चैत ३ २०८२१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend