बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हुरीका कारण झापामा केराखेतीमा १६ लाख रुपैयाँबराबरको क्षति

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १ २०८२
हुरीका कारण झापामा केराखेतीमा १६ लाख रुपैयाँबराबरको क्षति
फाइल तस्बिर

३० बिघा जमिनको केरामध्ये घरी लागेका दुई बिघा जमिनको तीन हजार २०० बोट केरा नष्ट भएको हो। केरा नष्ट हुँदा करिब १६ लाख रुपैयाँबराबरको क्षति भएको छ।

झापा- तीन दिनदेखिको हुरीका कारण झापा गाउँपालिका-७ का किसानचन्द्र बस्नेतको दुई बिघा जमिनमा लगाएको केराखेतीमा क्षति पुगेको छ।

कृषि ज्ञान केन्द्र झापाकी सहायक बाली संरक्षण अधिकृत अञ्जु आचार्यका अनुसार दुई बिघा दुई कट्ठा जमिनमा लगाएको केरा हुरीले पूर्ण रुपमा नष्ट गरेको छ। 'भाँचिएका सबै केराघरी लागेका रहेछन्', उनले भनिन्, 'पाक्न लागेका केरा नष्ट हुँदा किसानको ठूलो आर्थिक क्षति भएको छ।'

उनका अनुसार बस्नेतले लगाएको ३० बिघा जमिनको केरामध्ये घरी लागेका दुई बिघा जमिनको तीन हजार २०० बोट केरा नष्ट भएको हो। केरा नष्ट हुँदा करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताइन्।

किसान बस्नेतले प्राकृतिक विपत्तिले आफूलाई पटक-पटक मारमा पारेको बताए। यसअघि गत असोज १८ र १९ गतेको अविरल वर्षा र बाढीले उनको करिब एक करोड रुपैयाँबराबरको केराखेती नष्ट गरेको थियो।

'बाढीले उजाडेको ठाउँमा बल्लतल्ल नयाँ बिरुवा हुर्काउँदै थिएँ, फेरि हुरीले सखाप पारिदियो', बस्नेतले भने, 'अघिल्लो पटकको क्षतिको राहत अझै कतैबाट पाएको छैन, फेरि अर्को क्षति। प्रकृति विपद् पनि मलाई मात्र आउँछ कि जस्तो हुन थल्यो।' रासस


प्रकाशित : आइतबार, चैत १ २०८२१५:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend