बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नयाँ संसद भवनको मल्टिपर्पोज हलमा बस्नेछन् सांसद, यसरी हुँदैछ काम

बिहीबार , फागुन २८ २०८२
नयाँ संसद भवनको मल्टिपर्पोज हलमा बस्नेछन् सांसद, यसरी हुँदैछ काम

सिंहदरबारको उत्तरतर्फ बन्दै गरेको संसद भवन पस्न चारवटा गेट खुला हुने बताइएको छ। जसमा एउटा मुख्य विशिष्ट व्यक्ति प्रवेश गर्ने गेट सिंहदरबारभित्र अर्थात् भवनको दक्षिणतर्फ पर्छ।

काठमाडौं- सिंहदरबार परिसरभित्र निर्माण भइरहेको नयाँ संसद भवनमा नै अब आउने संसद बैठक हुने भएको छ। जसका लागि आवश्यक काम धमाधम भइरहेको छ।

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै संसद बैठक बस्ने कक्ष तयार नहुँदा नयाँ भवनको मल्टिपर्पोज हललाई तयार गर्न लागिएको छ। सहरी विकास मन्त्रालयका अधिकारीका अनुसार शनिबारसम्म मल्टिपर्पोज हललाई सभाकक्षका रुपमा निर्माण गरिसकिने छ।

साथै मल्टिपर्पोज हलबाहिर भवन परिसरको सरसफाइ पनि गरिने छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक कक्षहरु नै तयार हुन भने अझै दुई महिना समय लाग्ने देखिएको छ।

सरकारले यसअघि २०६५ सालदेखि नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालन गर्दै आएको थियो। भाडाको घरमा संसद चलेको ११ वर्षपछि सरकारले २०७६ असोजमा नयाँ भवन निर्माणको प्रक्रिया अघि सारेको हो। गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सम्मेलन केन्द्रको भवनमा आगजनी गरिएपछि अब नयाँ आउने सांसदका लागि निर्माणाधीन भवनको काम सक्नु अपरिहार्य छ।

बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमनसमेत गरेका छन्। अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभा र प्रतिनिधिसभा हलका साथै मल्टिपर्पोज हलको अवस्थाका बारेमा जानकारी लिएका छन्।

samsad new bulding  (7).jpg

दाहालले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहणका लागि बनिरहेको मल्टिपर्पोज हलको प्रगतिका बारेमा पनि जानकारी लिएका छन्। अनुगमनका क्रममा दाहालले नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण र त्यसपछि प्रतिनिधि सभाको बैठकका लागि सबै तयारी गर्न निर्देशनसमेत दिए।

सिंहदरबारभित्र अत्याधुनिक प्रविधिसहितका १२ वटा भवन बनाउन २०७६ असोज १६ मा ‘तुँदी र सेक’ जोइन्ट भेन्चर (जेभी)सँग ठेक्का सम्झौता भएको थियो। निर्माणाधीन संसद भवनको जिम्मेवार सरकारी निकाय सहरी विकास मन्त्रालय हो। मन्त्रालयले सिभिल अर्थात् भवन र इन्टेरियर डिजाइन (भित्रि साजसज्जा) गरी दुई चरणमा ठेक्का लगाएर काम गर्दैछ।

samsad new bulding  (8).jpg

सिभिलतर्फको काम २०७६ असोजमा सुरु भएपनि इन्टेरियर डिजाइनका लागि २०८० असार अन्तिममा केसी र श्यामसुन्दर बानियाँको जेभी कम्पनीसँग सम्झौता भएको हो। इन्टेरियर डिजाइनको ठेक्का २ अर्ब ३४ करोड ५४ लाख ९० हजार रुपैयाँमा भएको थियो। सिभिलतर्फको ठेक्का भ्याटबाहेक ५ अर्ब २ करोड १ लाख ४२ हजार ९३० रुपैयाँमा ठेक्का सम्झौता भएको हो। निर्माणका लागि म्याद थपिएसँगै लागत रकम पनि बढेर ५ अर्ब ५७ करोड ८ हजार ९ सय ११ रुपैयाँ पुगेको छ।

सिंहदरबारभित्र १ सय ७३ रोपनी क्षेत्रफलमा संसद भवन निर्माणाधीन छ। त्यहाँ प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, सामूहिक लबी, अतिविशिष्ट कक्ष र क्यान्टिन, कर्मचारी, लाइब्रेरी, प्रिन्टर, सुरक्षा निकाय बस्ने कार्यालयहरू रहने बताइएको छ।

samsad new bulding  (2).jpg

सिंहदरबारको उत्तरतर्फ बन्दै गरेको संसद भवन पस्न चारवटा गेट खुला हुने बताइएको छ। जसमा एउटा मुख्य विशिष्ट व्यक्ति (भीभीआईपी) प्रवेश गर्ने गेट सिंहदरबारभित्र अर्थात् भवनको दक्षिणतर्फ पर्छ। सांसदहरू पश्चिम गेटबाट प्रवेश गर्न मिल्छ। जुन गेट न्यूप्लाजातर्फ पर्छ।

सांसदहरू प्रवेश गर्ने गेटको सुरुको एउटा गेटबाट प्रवेश सिधै हुन्छ भने नजिकै रहेको अर्को गेटमा चेकिङ भएपछि मात्रै मुख्य भवनभित्र प्रवेश गर्न पाइन्छ। त्यस्तै पूर्वतर्फ अर्थात् अनामनगरतर्फको गेटबाट भने कर्मचारी र सर्वसाधारणले प्रवेश गर्न पाउँछन्।

samsad new bulding  (3).jpg
samsad new bulding  (5).jpg
samsad new bulding  (4).jpg
samsad new bulding  (6).jpg


प्रकाशित : बिहीबार , फागुन २८ २०८२१६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend