बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

यसवर्ष ढुंगाटोलका आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २८ २०८२
यसवर्ष ढुंगाटोलका आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहामा पूर्व-पश्चिम राजमार्गको उत्तरतर्फ पर्ने मिर्चैया, गोलबजार, धनगढीमाई र लहान नगरपालिकामा आँपखेती हुने गरेको छ। आँप खेतीबाट राम्रो आम्दानी हुने भएकाले किसान पछिल्लो समय यसतर्फ आकर्षित हुँदै गएका छन्।

सिरहा- धनगढीमाई नगरपालिका-१३ ढुंगाटोलका आँपका बगैँचा यतिबेला ढकमक्क मञ्जरीले भरिएका छन्। अघिल्लो वर्षको तुलनामा यस वर्ष आँपका बोटमा प्रशस्त मञ्जरी लागेकाले स्थानीय किसान उत्पादन बढ्ने अपेक्षामा छन्।

धनगढी जस्तै जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको छ। अधिकांश बोटमा राम्रो मञ्जरी लागेकाले यस वर्ष उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ।

कृषि ज्ञान केन्द्र प्रमुख नरेन्द्र महासेठका अनुसार आँप प्रायः एक वर्ष बिराएर फल्ने भएकाले यसवर्ष फल्ने चक्रमा परेकाले बोटमा अत्यधिक मञ्जरी लागेको हो। 'आँपका बोटमा राम्रो मञ्जरी देखिएको छ। यसवर्ष उत्पादन बढ्ने संकेत गरेको छ। मञ्जरी जोगाउन किसानलाई प्राविधिक सहयोग उपलब्ध गराइरहेका छौँ,' उनले भने।

उनका अनुसार मञ्जरी जोगाउन किसानले एक पटक औषधि छरिसकेका छन् भने चिचिला लागेपछि फेरि औषधि छर्ने तयारी गरिरहेका छन्। जिल्लाका १७ वटै पालिकाका कृषि शाखासँग समन्वय गरेर किसानलाई आवश्यक प्राविधिक सहयोग प्रदान गरिँदै आएको उनले बताए।

सिरहामा पूर्व-पश्चिम राजमार्गको उत्तरतर्फ पर्ने मिर्चैया, गोलबजार, धनगढीमाई र लहान नगरपालिकामा आँपखेती हुने गरेको छ। आँप खेतीबाट राम्रो आम्दानी हुने भएकाले किसान पछिल्लो समय यसतर्फ आकर्षित हुँदै गएका छन्।

धनगढीमाई नगरपालिका-१३ का किसान रामनारायण यादवले यसवर्ष आँपबाट राम्रो उत्पादन हुने अपेक्षा रहेको बताए। उनले भने, 'बगैँचामा यसवर्ष धेरै मञ्जरी लागेको छ। समय-समयमा औषधि छर्ने र बोटको स्याहार-सम्भार गर्ने काम गरिरहेका छौँ । मौसम अनुकूल रहे राम्रो उत्पादन हुने आशा छ।'

अहिलेसम्म वर्षा नभएकाले आँपमा मधुवा रोग नदेखिएको स्थानीय कृषि प्राविधिकले बताएका छन्। यसवर्ष आँप ‘ब्रान्डिङ’ गरी बाहिरी बजारमा पठाउने तथा बजार व्यवस्थापनका लागि कृषि ज्ञान केन्द्रले तयारी गरिरहेको जनाएको छ। रासस


प्रकाशित : बिहीबार , फागुन २८ २०८२१३:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend