काठमाडौं- यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणतर्फ पुगेसँगै संसदमा व्यावसायिक पृष्ठभूमिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति हुने देखिएको छ।
व्यावसायिक पृष्ठभूमिका धेरै उम्मेदवार विजयी भएका छन्। उनीहरू मुख्यतः नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आएका छन्। परम्परागत दल नेपाली कांग्रेस र नेकपा एमालेबाट उठेका धेरै स्थापित व्यवसायी भने पराजित भएका छन्।
यस पटकको निर्वाचनमा पर्यटन, उत्पादन, निर्माण, कृषि, ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रसँग सम्बन्धित दर्जनौँ व्यवसायी उम्मेदवार विभिन्न दलका टिकटबाट चुनावी मैदानमा उत्रिएका थिए। आर्थिक क्षेत्रका प्रतिनिधि राजनीतिक नेतृत्वमा पुग्ने अपेक्षा गरिएको भए पनि मतदाताले पुराना दलका स्थापित व्यवसायीभन्दा नयाँ राजनीतिक विकल्पसँग जोडिएका व्यवसायी उम्मेदवारलाई बढी विश्वास गरेको नतिजाले देखाएको छ।
संसदमा उद्योगी व्यवसायीको उपस्थिति बढ्ने भएसँगै उद्योग, लगानी, रोजगारी सृजना, कर नीति, नियामकीय सुधार तथा व्यवसायिक वातावरण सुधारजस्ता विषय अझ प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।
चर्चित विजेतामध्ये मधेश प्रदेशको सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित बाजेको सेकुवा समूहकी सञ्चालक नितिमा कार्की भण्डारी हुन्। उनले ४४ हजार १८१ मत प्राप्त गर्दै प्रतिनिधिसभामा प्रवेश गरेकी छन्। खाद्य तथा आतिथ्य क्षेत्रबाट राजनीतिमा प्रवेश गरेकी कार्कीको जितलाई मधेश प्रदेशमा रास्वपाको विस्तारको संकेतका रूपमा पनि हेरिएको छ।
सूचना प्रविधि र डिजिटल भुक्तानी क्षेत्रका उद्यमी अरविन्द साह पनि संसदमा प्रवेश गर्न सफल भएका छन्। डिजिटल वालेट सेवा ‘खल्ती’का सहसंस्थापक साह बारा क्षेत्र नम्बर ३ बाट ४० हजार ६९७ मतसहित विजयी भए। प्रविधि क्षेत्रमा सफल व्यवसायीका रूपमा स्थापित साहको विजयलाई युवा र डिजिटल अर्थतन्त्रसँग जोडिएको प्रतिनिधित्वका रूपमा विश्लेषण गरिएको छ।
काठमाडौं क्षेत्र नम्बर ९ बाट डोलप्रसाद अर्याल ३५ हजार ९३ मतसहित निर्वाचित भएका छन्। म्यानपावर, कृषि फार्म र ट्राभल व्यवसायमा सक्रिय अर्याल पनि रास्वपाको टिकटबाट जित हात पारेका हुन्। यसले राजधानी क्षेत्रमै पनि व्यावसायिक पृष्ठभूमिका नयाँ अनुहारप्रति मतदाताको आकर्षण देखिएको विश्लेषण गरिएको छ।
पर्यटन क्षेत्रबाट पनि प्रतिनिधित्व बढ्ने देखिएको छ। नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा पर्यटन व्यवसायी धनञ्जय रेग्मी गण्डकी प्रदेशको स्याङ्जा क्षेत्र नम्बर १ बाट २९ हजार ७१ मतसहित निर्वाचित भएका छन्। सोही क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वबैंकर भरतराज ढकाल १८ हजार ८५७ मतसहित दोस्रो स्थानमा सीमित भए।
त्यस्तै बाजेको सेकुवा समूहकै प्रमुख कार्यकारी अधिकृत सुशील खड्का बागलुङ क्षेत्र नम्बर १ बाट २० हजार ९२७ मतसहित विजयी भएका छन्। ऊर्जा क्षेत्रका व्यवसायी भरतप्रसाद पराजुली बागमती प्रदेशको सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। यसले ऊर्जा, पर्यटन र सेवा क्षेत्रका प्रतिनिधिहरू संसदमा प्रवेश गर्ने क्रम बढेको संकेत दिएको छ।
परम्परागत दलका स्थापित व्यवसायी उम्मेदवारहरूको अवस्था भने यसपटक कमजोर देखिएको छ। लुम्बिनी प्रदेशको नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका चौधरी समूहका अध्यक्ष तथा पूर्वसांसद विनोदकुमार चौधरी पराजित भए।
रूपन्देही क्षेत्र नम्बर २ मा पनि नेपाली कांग्रेसका उम्मेदवार तथा यशोदा फुड्सका अध्यक्ष चुन्नुप्रसाद पौडेल पराजित भएका छन्। सो क्षेत्रबाट रास्वपाका सुलभ खरेल विजयी भएका छन्।
यस्तै रसुवाबाट कांग्रेस तर्फबाट मोहन आचार्य विजयी भएका छन्। उनी निर्माण व्यवसायी हुन्।
नेपाली कांग्रेसबाट चुनाव लडेका अन्य केही व्यवसायी पनि पछाडि परेका छन्। मोरङ क्षेत्र नम्बर ३ मा मेडिकल व्यवसायी सुनिल शर्मा १३ हजार ६५८ मतसहित दोस्रो स्थानमा सीमित भएका छन्।
धादिङ क्षेत्र नम्बर १ मा निर्माण व्यवसायी तिलकबहादुर रानाभाट ११ हजार २१४ मतसहित पराजित भएका छन्। उनी राप्रपाबाट उम्मेदवार थिए भने सोही क्षेत्रमा कांग्रेसका पर्यटन व्यवसायी रमेशप्रसाद धमला पनि पराजित भएका छन्।
कांग्रेसबाट मुस्ताङका पर्यटन उद्यमी योगेश गौचन थकाली बनेका छन्। उनी ३ हजार ३०७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। हिमाली जिल्लामा सीमित मतदाता भए पनि पर्यटन क्षेत्रसँग जोडिएको नेतृत्वले निरन्तरता पाएको छ।
यस्तै पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत-१ बाट उम्मेदवारी दिएका थिए। नेपाली कांग्रेसबाट उम्मेदवार रहेका खड्काले २८ हजार ८ सय मत ल्याएर जित हासिल गरेका छन्।
त्यस्तै रास्वपाबाट उम्मेदवार बनेका कर्णाली यातायातका प्रमुख रमेश सापकोटाले सुर्खेत-२ बाट ३० हजार ८ सय मत ल्याएर जित हासिल गरेका छन्।
बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार एवं पर्यटन व्यवसायी श्रीधर पोख्रेल निर्वाचित भएका छन्। उनी २९ हजार ६ सय ७८ मत ल्याएर विजयी भए। २५ वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय पोख्रेल बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रकृति पथ प्रदर्शक हुन् भने ठाकुरद्वारामा उनको आफ्नै रिसोर्ट सञ्चालनमा छ।
उदयपुरका पर्यटन व्यवसायी ४१ वर्षीय सूर्यबहादुर तामाङ पनि रास्वपाबाटै उदयपुर-२ मा निर्वाचित भएका छन्।
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार भरतप्रसाद पराजुली जलविद्युत् व्यवसायीको पहिचानसहित संसद् प्रवेश गर्ने भएका छन्। उनी ४५ मेगावाट क्षमताको निर्माणाधीन ब्रहृमायणी जलविद्युत् आयोजनाका अध्यक्षसमेत हुन्।
साथै रास्वपाबाट नै पर्सा-४ मा व्यवसायी टेकबहादुर शाक्य र काभ्रेपलान्चोक-२ मा व्यवसायी बदन भण्डारी निर्वाचित भएका छन्।
मधेश प्रदेशको पर्सा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उद्योगपति अनिलकुमार रूंगटा पनि पराजित भएका छन्। नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका उनले ११ हजार ८८५ मत प्राप्त गरे पनि सो क्षेत्रमा रास्वपाका बुद्धिप्रसाद पन्त विजयी भइसकेका छन्।
नेकपा एमालेबाट कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका लुम्बिनी सुगर मिल्सका सञ्चालक वीरेन्द्रकुमार कनौडिया पनि पराजित भएका छन्।
स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं क्षेत्र नम्बर १ बाट त्रिभुज चुनाव चिह्नसहित उम्मेदवारी दिएका असीममान सिंह बस्न्यातले भने उल्लेखनीय मत पाउन सकेनन्। उनले जम्मा ५० मतमात्रै प्राप्त गरे।
