सर्लाही- गडौताका महेन्द्र राय यादव श्री महालक्ष्मी सुगर्स मिलको गेटअगाडि बैलगाडीसहित धेरै दिन लाइनमा बसे। उखु काटेको धेरै दिन बितिसक्यो, मिलमा ल्याइसक्दा पनि काँटामा जोखिने पालोको टुंगो भएन। चर्को ढुवानी भाडा तिर्ने दबाब एकातिर छ, अर्कोतिर खानबस्नको कुनै व्यवस्था छैन।
'रातभरि यतै जागै बस्छौँ, न खाने ठेगान छ, न सुत्ने,' उनले गुनासो गरे। काँटामा जोखेपछि मात्रै कति रकम पाउने भन्ने निश्चित हुने भएकाले उनी जस्ता सयौँ किसान अनिश्चितताको पीडामा छन्।
किसानहरूको आरोप छ- पहिले गाउँकै टोलमा काँटा राखिएको थियो। त्यहीँ जोखेर मिल सञ्चालकले ट्रकमार्फत उखु ढुवानी गर्थे। तर गत वर्षदेखि काँटा हटाइएपछि किसान आफैँले बैलगाडी वा ट्र्याक्टरमा मिलसम्म उखु पुर्याउनुपर्ने बाध्यता सिर्जना भएको छ। स्थानीयका अनुसार काँटा हटाउने निर्णयमा नेता र मिलधनीको मिलेमतो रहेको छ।
एक किसान सञ्जय पटेल पनि एक साताभन्दा बढी लाइनमा बसे। उनले १०० क्विन्टल उखु काटेर ल्याएका थिए। तर लामो प्रतीक्षाका कारण उखु सुक्दै जाँदा तौल घटेर ७० क्विन्टलमा झर्ने निश्चितजस्तै भएको उनको भनाइ छ। '३० क्विन्टल घाटा त पक्का भयो,' उनले भने, 'गाउँमै काँटा हुँदो हो त यो हालत हुँदैनथ्यो।'

हतिहौकाका रामविनयप्रसाद यादव पनि पालो कुर्दै छन्। किसानले प्रतिक्विन्टल ६९० रुपैयाँ पाउने गरेका छन्। तर लाइनमा सुक्दा तौल घट्ने भएकाले प्रत्यक्ष आर्थिक क्षति किसानले नै व्यहोर्नुपर्छ। किसानहरूको आरोप छ। उखु सुक्दा किलो घटे पनि मिलको नाफामा असर पर्दैन बरु घटेको तौलबाट बचेको रकम अन्यत्र जान्छ।
दीपककुमार यादवले दुई ट्रेलर उखु काटिसकेका छन्। मलखाद खरिदका लागि लिएको ऋण तिर्ने आशामा उखु बिक्रीको पैसाको प्रतीक्षा गरिरहेका उनी समयमै भुक्तानी नपाउने चिन्तामा छन्। किसानहरूको गुनासो छ- १५ दिनभित्र पाउनुपर्ने भुक्तानी कहिलेकाहीँ एक वर्षसम्म अड्किने गरेको छ।
उखु नगदे बालीको रूपमा चिनिन्छ। चिनी, मिश्री, सख्खरलगायतका गुलियो पदार्थको कच्चा पदार्थ यही हो। तराई क्षेत्रका कृषकले उखु खेती व्यापक रूपमा गर्दै आएका छन् र तीमध्ये सर्लाही अग्रस्थानमा पर्छ। उत्पादन धेरै भए पनि किसानको अवस्था भने बर्सेनि उस्तै छ। लाइन, घाटा र भुक्तानीको प्रतीक्षा।
दीपककुमार यादवले भने 'हामीलाई उखु खेती छाड्न बाध्य बनाइँदैछ। उत्पादन हाम्रो, दुःख हाम्रो, घाटा हाम्रो-तर नाफा अरूको।'


