बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ल्यान्ड रोभर आयात : जाँचपासमा संलग्न वीरगञ्ज भन्सारका कर्मचारी विभाग तानिए, सिधै ‘विस्तृत अनुसन्धान’मा अख्तियार

बिहीबार , फागुन १४ २०८२
ल्यान्ड रोभर आयात : जाँचपासमा संलग्न वीरगञ्ज भन्सारका कर्मचारी विभाग तानिए, सिधै ‘विस्तृत अनुसन्धान’मा अख्तियार

अख्तियारले काइरोसले आयात गरेका १७ वटा ल्यान्ड रोभर रेन्ज रोभरका गाडीको अनुसन्धान गरिरहेको छ। ती कारमध्ये ३/४ वटा हाइब्रिड भनेर ल्याइएका कार हाइब्रिड नभएको प्रारम्भिक निष्कर्ष निक्लिएको छ।

काठमाडौं- काइरोस इन्टरनेसनलले आयात गरेको ल्यान्ड रोभरका गाडी सन्देहपूर्ण रूपमा जाँचपास भएको भन्दै अख्यियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। यस्तैमा भन्सार विभागले पनि आफ्नो हिसाबमा अनुसन्धान गरिरहेको छ। त्यसका लागि विभागले वीरगञ्ज भन्सार कार्यालयका ४/५ जना कर्मचारीलाई काठमाडौं झिकाएको हो। 

काइरोस इन्टरनेसनलले आयात गरेको ल्यान्ड रोभर ब्रान्डका कार हाइब्रिड भए/नभएको, डिजेल वा पेट्रोल इन्जिनमा आएको र त्यसमा अन्डर इन्भोइस भएको विषय बाहिर आएको थियो। त्यसलगत्तै अख्तियारले भन्सार कार्यालय, यातायात व्यवस्था विभाग तथा यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट काइरोस इन्टरनेसनलले आयात गरेर दर्ता भएका ल्यान्ड रोभर ब्रान्डका सबै कारको सक्कल फाइल लगेर अनुसन्धान सुरु गरेको थियो। 

अख्तियारले यसबारेमा छानबिन सुरु गरेसँगै भन्सार विभागले पनि मातहतको वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीहरूलाई काठमाडौं बोलाएको हो। काइरोसले अवैध रूपमा ज्यागुअर ल्यान्ड रोभरका कार आयात गरेको बारे बिजनेस न्युजले निरन्तर समाचार प्रकाशन गर्दै आएको थियो। तर जब राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन्द्र (बालेन) शाहले ल्यान्ड रोभरको डिफेन्डर गाडी चढेर प्रचारमा हिँडे तब यसले सबैको ध्यान खिच्यो। 

बालेन शाहले चढेको ल्यान्ड रोभर डिफेन्डर नयाँ एसयूभी ४३४३ नम्बरको गाडी हो। बालेन शाहले चढेको कालो रङको ल्यान्ड रोभर डिफेन्डर त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा दर्ता भएको छ। यातायात व्यवस्था कार्यालयमा दर्ता भएको ढड्डाअनुसार गाडी काइरोस इन्टरनेसनलले खरिद गरेर ल्याएको हो। 

डिफेन्डर एसयूभी २०८२ कात्तिक २५ मा यातायात व्यवस्था कार्यालय साना/ठूला सवारीमा दर्ता भएको थियो। २०२५ मा बनेको ल्यान्ड रोभर डिफेन्डर २९ सय ९६ सीसी इन्जिन क्षमताको डिजेल हाइब्रिड कार भएको दर्ता किताबमा उल्लेख छ। तर आयात अनुमति माग्दा उक्त कार पेट्रोल भनेर अनुमति मागिएको थियो। 

उक्त गाडी कसरी आयात भयो, कसरले आयात गरेको हो, हाइब्रिड वा ननहाइब्रिड, डिजेल वा पेट्रोले इन्जिनको गाडी हो? लगायतको खोजी सुरु भयो। ल्यान्ड रोभर डिफेन्डर गाडी कसले खरिद गरेको हो विषयसम्म उठान गरेर भन्सारदेखि अख्तियारसम्म उजुरी पर्‍यो र अनुसन्धान प्रक्रिया अघि बढ्यो। 

सामानय उजुरी परेपछि अख्तियारले प्रारम्भिक अनुसन्धान गरेर विषयवस्तुको गम्भीरता पत्ता लगाएपछि मात्र विस्तृत अनुसन्धाको निर्णय गर्छ। तर काइरोस इन्टरनेसनलले आयात गरेको ल्यान्ड रोभरका कारमा गम्भीर आशंका गरेर अख्तियारले सोझै विस्तृत अनुसन्धान थालेको हो। 

भन्सार कार्यालयमा जाँचपास गर्ने क्रममा दुई जना जाँचकी र एक जना अर्का कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुन्छन्। लामो समयदेखि काइरोसले अवैध रूपमा आयात गर्दै आएका ल्यान्ड रोभरका कार सहजै जाँचपास हुने गरेकाले त्यसमा संलग्न पाइएका अन्य एक/दुई जना कर्मचारीलाई पनि भन्सारले काठमाडौं बोलाएको भन्सार स्रोतको भनाइ छ। 

अख्तियारले काइरोसले आयात गरेका १७ वटा ल्यान्ड रोभर रेन्ज रोभरका गाडीको अनुसन्धान गरिरहेको छ। ती कारमध्ये ३/४ वटा हाइब्रिड भनेर ल्याइएका कार हाइब्रिड नभएको प्रारम्भिक निष्कर्ष निक्लिएको छ। उक्त कार डिजेल वा पेट्रोल कुन भन्नेबारे पनि अनुसन्धान भइरहेको छ। हाइब्रिड नभएमा र पेट्रोल भनेर ल्याइएको गाडी डिजेल भएमा ८० प्रतिशत भन्सार र ६० प्रतिशत अन्तःशुल्कमा छुटेको डिफेन्डर ८० प्रतिशत भन्सार र १ सय ५ प्रतिशत अन्तःशुल्कमा छुट्नु पर्नेछ। अनुसन्धानबाट यो पुष्टि भएमा आयातकर्ताले छुट भएको भन्सार महसुल र जरिवानासमेत गरेर करोडौँ रुपैयाँ तिनुपर्ने हुन्छ।

काइरोस इन्टरनेसनल नामक कम्पनीले जेएलआरले उत्पादन गरेको ल्यान्ड रोभर रेन्ज रोभर स्पोट्र्स तथा डिफेन्डरलयात मोडलका कार आयातका लागि अनुमति पाएको छ। उत्पादक कम्पनीले नचिन्ने यो कम्पनीले कहाँबाट र कोसँग ल्यान्ड रोभर कार किनेर नेपालमा आधिकारिक विक्रेता बनेर ल्यायो भन्ने गम्भीर प्रश्नको उत्तर सरकारले दिएको छैन।

काइरोस इन्टरनेसनलले हङकङमा दर्ता भएको साउथ चाइना एक्जिम लिमिटेडसँग आधिकारिक विक्रेता सम्झौता गरेर उसैसँग ल्यान्ड रोभर रेन्ज रोभर स्पोट्र्स तथा डिफेन्डर कार ल्याएको हो। साउथ चाइना एक्जिम लिमिटेड सुरुमा राकेश अडुकियाकै नाममा हङकङमा दर्ता भएको कम्पनी हो। साउथ चाइना एक्जिम लिमिटेड न त ज्यागुअर ल्यान्ड रोभरको हङकङका लागि आधिकारिक विक्रेता हो न त त्यो कम्पनीले हङकङबाट तेस्रो मुलुकमा ल्यान्ड रोभरका कार बिक्री गर्ने अनुमति उत्पादक कम्पनीबाट पाएको छ।

राकेश अडुकिया संशयपूर्ण व्यापारमा उद्यत व्यक्ति हुन्। नेपालमा उनको आफ्नै नाममा कुनै पनि कम्पनी दर्ता छैन। यस्तै काम गर्न उनले सुरुमा श्रीमा डिस्ट्रिब्युसन प्रालि नामक कम्पनी बनाएर टेस्लाको विद्युतीय कार नेपाल भित्र्याएका थिए। उक्त कम्पनीले गैरकानूनी काम गरेको ठहरिएसँगै लफडा भएपछि उनले अरेत इन्टरनेसनल प्रालि नामक कम्पनी बनाएर आफै आधिकारिक विक्रेता भएको जिकिर गरेर टेस्लाका कार आयात गरिरहेका छन्।

काइरोस इन्टरनेसनलले पनि हङकङमा दर्ता भएको कम्पनीसँग ल्यान्ड रोभरका कार किनेर आफू आधिकारिक विक्रेता नियुक्त भएको किर्ते कागजात वाणिज्य विभागमा पेस गरी त्यहाँबाट एजेन्सी दर्ता गरेर कार ल्याइरहेको हो। किर्ते आधिकारिक विक्रेताको कागजात, त्यसैको आधारमा वाणिज्य विभागले दिएको एजेन्सी दर्ता प्रमाणपत्रका अधारमा यातायात व्यवस्था विभागको आयात अनुमति लिने र यी कागजात देखाएर वाणिज्य बैंकबाट एलसी (लेटर अफ क्रेडिट) खोलेर गाडी आयातमा काइरोस इन्टरनेसनलले गाडी ल्याइरहेको छ। 

ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन

जेएलआरले नेपालमा आधिकारिक बिक्रेता नतोक्दै कसले ल्याउन लाग्यो ल्यान्ड रोभरका कार?

उत्पादकले आधिकारिक बिक्रेता नतोक्दै ल्यान्ड रोभरका कार कहाँबाट कसरी काइरोस इन्टरनेसनलले ल्याउन लाग्यो? 


प्रकाशित : बिहीबार , फागुन १४ २०८२१७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend