बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बोखिमका किसानलाई उन्नत जातका सुन्तलाको बेर्ना वितरण

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १२ २०८२
बोखिमका किसानलाई उन्नत जातका सुन्तलाको बेर्ना वितरण

भोजपुर- किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले यहाँको भोजपुर नगरपालिका-५ बोखिमका किसानलाई उन्नत जातका सुन्तलाका बेर्ना वितरण गरिएको छ। वडा कार्यालयले १५० किसानलाई करिब एक हजार २५० सुन्तलाका बेर्ना वितरण गरेको हो।

बोखिम क्षेत्र सुन्तला उत्पादनका लागि उपयुक्त मानिन्छ। किसानलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा बेर्ना उपलब्ध गराइएको वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए। ती बेर्ना धनकुटास्थित पारीपात्ले सुन्तला जात अनुसन्धान केन्द्रबाट ल्याइएका हुन्।

‘उन्सु जापानिज’ र ‘खोकु स्थानीय कलमी’ जातका सुन्तलाका बेर्ना वितरण गरिएको वडाध्यक्ष प्रधानले बताए। यस वर्ष वडाले सुन्तला तथा अंगुरका बेर्ना वितरणका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। मागका आधारमा हाल सुन्तलाका बेर्ना वितरण गरिएको र केही समयपछि अंगुरका बेर्ना पनि वितरण गरिने उनको भनाइ छ।

'बोखिम सुन्तला खेतीका लागि उपयुक्त क्षेत्र हो,' वडाध्यक्ष प्रधानले भने, 'सदरमुकाम नजिक भएकाले बजारको समस्या छैन। किसानलाई व्यावसायिक सुन्तलाखेतीतर्फ आकर्षित गर्दै आयआर्जनमा जोड्ने उद्देश्यले बेर्ना वितरण गरेका हौँ।'

हाल यहाँका करिब ३०० किसान सुन्तला खेतीमा आबद्ध छन्। स्थानीय किसान भीमबहादुर दाहालले उन्नत जातका बेर्ना वितरण कार्यक्रमले किसानलाई ठूलो राहत मिलेको बताए। रासस


प्रकाशित : मंगलबार, फागुन १२ २०८२१६:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend