बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

स्याउ आयात वृद्धिपछाडिको संयोग : जब भारतले कडाइ गर्‍यो तब नेपालमा चिनियाँ स्याउको आयात बढ्यो

आइतबार, फागुन १० २०८२
स्याउ आयात वृद्धिपछाडिको संयोग : जब भारतले कडाइ गर्‍यो तब नेपालमा चिनियाँ स्याउको आयात बढ्यो

एकातिर स्वदेशकै उत्पादन बढेको अर्कोतिर पछिल्ला केही वर्षमा औद्योगिक उत्पादन तथा खपतमा पनि निराशाजनक चित्र आइरहँदा स्याउको आयात भने तीव्र गतिमा बढिरहेको छ।

काठमाडौं- पछिल्लो समय नेपालमा स्याउ उत्पादन र त्यसको बजारीकरणबाट हिमाली क्षेत्रका किसानले राम्रो आम्दानी गरिरहेको खबर आइरहेका हुन्छन्। त्यस्तै गण्डकी प्रदेश तथा कर्णालीका हिमाली जिल्लामा स्याउ खेतीको विस्तार भइरहेको तथ्यांक सरकारले नै दिइरहेको छ। 

उत्पादन तथा खेतीको विस्तार पछिल्लो पाँच वर्षमा १० प्रतिशतभन्दा बढीले भएको कृषि मन्त्रालयको तथ्यांक छ। एकातिर  देशभित्रकै स्याउको उत्पादनको सफल कथा प्रवाह भइरहेको समयमा अर्कोतिर भने विदेशबाट स्याउको आयात पनि रोचक ढंगले बढेको छ। 

पछिल्लो १० वर्षमा विदेशबाट आयात हुने फलफूलमा स्याउको हिस्सा सबैभन्दा धेरै छ। गएको वर्ष स्याउ १० अर्ब रुपैयाँको आयात भयो। दश वर्षअघिसम्म एक अर्ब रुपैयाँको पनि स्याउ आयात नहुने देशमा अहिले १० अर्बको आयात हुन्छ। 

एकातिर स्वदेशकै उत्पादन बढेको अर्कोतिर पछिल्ला केही वर्षमा औद्योगिक उत्पादन तथा खपतमा पनि निराशाजनक चित्र आइरहँदा स्याउको आयात भने तीव्र गतिमा बढिरहेको छ। 

नेपालमा स्याको आयात बढ्नु र भारत र चीनबीचको व्यापार त्यसमा पनि स्याउजस्ता फलफूलको आयात निर्यातमा आएको टकराबको संयोग छ। सन् २०१७ देखि भारतले चीनबाट आयात हुने स्याउ जस्ता फलफूलको आयातमा कडाइ गर्न थालेको थियो। २०१५ देखि नै भारतले यस्तो व्यापारलाई निरुत्साहित गर्न खोजेपनि २०१७ देखि भने फाइटोस्यानिटरी (किरा–रोग परीक्षण) मापदण्ड कडा बनाइदियो। जसले गर्दा चिनियाँ स्याउको भारत प्रवेश निकै कठिन बन्यो। 

z5ehZ-न-प-लम-स-य-उ-आय-त-.png

त्यसपछि सन् २०१९ देखि त भारतले ५० प्रतिशत भन्सार नै लगाइदियो। सन् २०२० पछिको तनाबले यस्ता व्यापारलाई निकै कठिनमात्र होइन असम्भव जस्तै बनाइदियो। 

भारत र चीतबीचको यो तनाब सुरुवात भएदेखि नै नेपालमा स्याउको आयातमा उछाल देखिन थालेको तथ्यांक देखिन्छ। सन् २०१५ सम्म नेपालमा बर्सेनि २ अर्बको स्याउ आयात हुन्थ्यो। त्यसमा भारतबाट पनि आयात हुन्थ्यो। भारतबाट आयात हुने विशेषगरी डाबर नेपालले जुस बनाउने स्याउ हो। जुन अहिले पनि आयात हुन्छ। 

त्यसपछिको वर्ष ३ अर्ब ५० करोडको आयात भयो।  सन् २०१७ मा हालसम्मकै धेरै स्याउ आयात भएको थियो। सन् २०१५ सम्म ४०/४५ हजार टनको वार्षिक स्याउ आयात हुँदै आएकोमा पछिल्ला केही वर्षदेखि ८० हजार टनमाथिको स्याउ आयात भइरहेको छ। 


प्रकाशित : आइतबार, फागुन १० २०८२१६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend