म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष करिब ४ करोड रुपैयाँको सुन्तला बिक्री गरेका छन्।
अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण संकलन गरेको हो। कृषि शाखाकी प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट ३ करोड ८८ लाख रुपैयाँबराबरको सुन्तला बिक्री भएको जानकारी दिइन्।
वडा नं १ दोवामा ७० लाख रुपैयाँ, वडा नं २ भुरुङ-तातोपानीमा ३९ लाख रुपैयाँ, वडा नं ३ दानामा २१ लाख रुपैयाँ, वडा नं ४ नारच्याङमा १० लाख रुपैयाँ, वडा नं ६ घारमा ६० लाख रुपैयाँ र वडा नं ७ हिस्तान दोसल्ले र औलामा १ करोड ८८ लाख रुपैयाँबराबरको सुन्तला बिक्री भएको उनले बताइन्।
२ सय जनाभन्दा बढी किसानले न्यूनतम ५० हजार रुपैयाँदेखि २० लाख रुपैयाँबराबरको सुन्तला बिक्री गरेका छन्। सबैभन्दा बढी दोसल्लेका किसान विकास श्रेष्ठले २० लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन्।
अन्नपूर्णका किसानले म्याग्दीमा सबैभन्दा पछि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए। फागुन २ गतेसम्म सुन्तला टिपेर बजार पठाएका हुन्। गत वर्षको तुलनामा ४० प्रतिशत कम उत्पादन भए पनि दोब्बर मूल्य पाउँदा आम्दानी बढेको दोसल्लेका किसान श्रेष्ठले बताए।
दोसल्लेका किसानले प्रतिकिलोग्राम २ सय रुपैयाँसम्म सुन्तलाको मूल्य हात पारेका छन्। सुन्तला अन्नपूर्ण गाउँपालिकाको प्रमुख नगदेबाली हो। यहाँ आलुपछि धेरै बिक्री हुने कृषिबाली सुन्तला हो। अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनका किसानलाई सहयोग गरिएको बताइन्। रासस
