बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिद्धार्थ बैंकको नेतृत्वमा भएको १७ अर्बभन्दा बढी ऋण लगानी जोखिममा, स्पार्क हाइड्रो कम्पनीको विवाद उत्कर्षमा

सोमबार, फागुन ४ २०८२
सिद्धार्थ बैंकको नेतृत्वमा भएको १७ अर्बभन्दा बढी ऋण लगानी जोखिममा, स्पार्क हाइड्रो कम्पनीको विवाद उत्कर्षमा

कोशी प्रदेशको ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत आयोजनाको कुल लागत २३ अर्ब ४ करोड रुपैयाँ अनुमान गरिएको छ।

काठमाडौं- स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडभित्रको सञ्चालक समितिको विवाद उत्कर्षमा पुगेपछि सिद्धार्थ बैंक लिमिटेडको नेतृत्वमा गरिएको १७ अर्ब रुपैयाँभन्दा बढी ऋण लगानी जोखिममा पर्ने संकेत देखिएको छ।

कोशी प्रदेशको ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत आयोजनाको कुल लागत २३ अर्ब ४ करोड रुपैयाँ अनुमान गरिएको छ। उक्त रकममध्ये ७५ प्रतिशत अर्थात् करिब १७ अर्ब २८ करोड रुपैयाँ दीर्घकालीन आयोजना ऋणका रूपमा बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको हो। सिद्धार्थ बैंकले लिड बैंकको भूमिका निर्वाह गर्दै अन्य बैंक तथा वित्तीय संस्थासँग सह-वित्तीयकरणमार्फत ऋण संरचना तयार पारेको थियो।

वित्तीय व्यवस्थापन सम्झौता २३ असोज २०८२ मा सम्पन्न भएको थियो। सम्झौतामा कम्पनीका तत्कालीन अध्यक्ष श्रवणकुमार गोयल र सिद्धार्थ बैंकका कर्पोरेट क्रेडिट हेड अमित श्रेष्ठले हस्ताक्षर गरेका थिए।

तर अहिले कम्पनीभित्र नेतृत्व परिवर्तनसँगै विवाद चुलिएको छ। गोयलले आफूलाई गैरकानूनी रूपमा अध्यक्ष पदबाट हटाइएको दाबी गर्दै सार्वजनिक अपिल जारी गरेका छन्। उनले आफ्नो व्यक्तिगत जमानीका आधारमा थप ऋण प्रवाह नगर्न बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरेका छन्। 'मेरो नाम वा व्यक्तिगत जमानीका आधारमा ऋण प्रवाह भएमा त्यसमा मेरो कुनै दायित्व रहने छैन,' उनले स्पष्ट पारेका छन्।

गोयलका अनुसार कम्पनीको वित्तीय समापनपछि अन्य सञ्चालक र व्यवस्थापन पक्षले निर्णय प्रक्रिया र वित्तीय अनुशासनविपरीत गतिविधि अघि बढाएका आरोप लगाएका छन्। उनले कम्पनीको औपचारिक निर्णयबिना रकम संकलन गरिएको, आय-व्यय पारदर्शी रूपमा सार्वजनिक नगरेको तथा बैठक सञ्चालन प्रक्रिया नियमविपरीत भएको आरोप लगाएका छन्।

कम्पनीका संस्थापक अध्यक्ष भानेन्द्रकुमार लिम्बू थिए। वित्तीय व्यवस्थापन सम्झौतासम्म भने गोयललाई अध्यक्ष बनाइएको थियो। अहिले गोयललाई हटाएर पुन लिम्बू अध्यक्ष बनेका छन्। योसँगै विवाद उत्कर्षमा पुगेको छ।

यस विषयमा उनले कम्पनी ऐन, २०६३ को दफा १७८ बमोजिम निर्देशन माग गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दर्ता गरिसकेको बताएका छन्।

तमोर-मेवा जलविद्युत आयोजनाले २०७७ असोज २५ गते विद्युत उत्पादन अनुमति पत्र प्राप्त गरिसकेको छ। त्यस्तै नेपाल विद्युत प्राधिकरण सँग २०८० असोज २४ गते विद्युत खरिद-बिक्री सम्झौता सम्पन्न भइसकेको छ। हाल आयोजनाको करिब २५ प्रतिशत भौतिक प्रगति भएको दाबी गरिएको छ। २०८५ असोज २५ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

यस्तो छ गोयलको आरोप

स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडका सञ्चालकहरूले मलाई तपाईँ यस कम्पनीमा लगानी गरी अध्यक्ष पदमा बसी नेतृत्व गरी दिनुपर्‍यो भनी आग्रह गरेकाले मैले कम्पनीको ठूलो मात्रामा सेयर खरिद गरेपछि मिति २०८२/०६/१३ मा कम्पनीको सञ्चालक समिति अध्यक्षमा नियुक्ति गरिएको थियो।

मलाई उपयोग गरी कम्पनीको फाइनान्सियल क्लोजर सम्पन्न गरिसकेपछि कम्पनीका केही सञ्चालक तथा प्रवन्ध निर्देशकहरूले कम्पनीको निर्णयविना सर्वसाधारणबाट अन्धाधुन्ध पैसा उठाएको, कम्पनीको आय-व्यय पारदर्शी नगरेको, सञ्चालक समितिको बैठक बोलाउँदा बैठक नम्बर उल्लेख नगरी आफ्‌नो स्वार्थअनुकूल पछिल्लो मिति राखी निर्णय गर्ने गरेको, मेरो सल्लाहबिना कम्पनीको नाममा रकम उठाई कम्पनीको हितविपरीतका कार्यहरू गरेको पाइयो।

कम्पनीको हितविपरीतका यस्ता गैरकानूनी कार्य नगर्न तथा नगराउन पटक-पटक लिखित तथा मौखिक रूपमा अनुरोध गर्दा पनि बेवास्ता गरिएकाले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं. ३२७० मिति २०८२/१०/२५ मा कम्पनी ऐन, २०६३ को दफा १७८ बमोजिम कम्पनीका पदाधिकारीहरूलाई निर्देशन जारी गरिपाऊँ भनी निवेदन दर्ता गरेको छु। उक्त निवेदन हाल कारबाहीको प्रक्रियामा रहेको छ।

मैले कम्पनीलाई कानून तथा नियमअनुसार सञ्चालन गर्नुपर्दछ भनी अडान लिएको तथा कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएको विषय बाहिर आएपछि सञ्चालकहरूले मसँग प्रतिशोध लिँदै कम्पनी ऐन, प्रबन्धपत्र तथा नियमावलीविपरीत गैरकानूनी ढंगले जबरजस्ती सञ्चालक समिति अध्यक्ष पदबाट हटाउने निर्णय गरेका छन्। कम्पनीको फाइनान्सियल क्लोजरका लागि मात्र मलाई अध्यक्ष बनाइएको रहेछ भन्ने कुरा हालका काम, कारबाही, आचरण र व्यवहारबाट प्रस्ट भएको छ।

यस प्रकारको व्यवहारबाट मेरो भावनामा गम्भीर चोट पुगेको छ र कम्पनीको सञ्चालक समितिस्तरको विवाद चरम अवस्थामा पुगेको छ।

यस अवस्थामा मैले बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको व्यक्तिगत जमानीका आधारमा उक्त कम्पनीलाई थप ऋण प्रवाह नगर्न अनुरोध गर्दछु। यदि मेरो नाम वा व्यक्तिगत जमानीका आधारमा ऋण प्रवाह गरिएमा सोमा मेरो कुनै दायित्व तथा जिम्मेवारी रहने छैन भन्ने व्यहोरा यसै सूचनामार्फत जानकारी गराउँछु।

साथै म हाल उक्त कम्पनीको सञ्चालक समिति अध्यक्ष नरहेको हुँदा मेरो नाम जोडेर कसैले लगानी नगर्नु/नगराउनु होला। कम्पनीमा चरम विवाद विद्यमान रहेकाले थप लगानी गर्दा विशेष सचेत हुन सम्पूर्ण लगानीकर्ताज्यूहरूलाई अनुरोध गर्दछु। मेरो नाम लिएर कसैले पैसा उठाएमा वा लगानी गराएमा सो सम्बन्धमा मेरो कुनै दायित्व, जिम्मेवारी एवं जवाफदेहिता रहने छैन।


प्रकाशित : सोमबार, फागुन ४ २०८२१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend