नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापश्चिम) निर्वाचन क्षेत्र नं. १ विकासको नक्सामा लामो समयसम्म ओझेल परेको भूगोल हो। पूर्व-पश्चिम राजमार्गले छोए पनि भित्री बस्तीहरू धुलाम्मे सडक, अधुरा पुल र अव्यवस्थित सिँचाइका कारण पछि परेका थिए।
सुस्तापारिका गाउँ पुग्नै कठिन, हुलाकी सडक वर्षौँदेखि अलपत्र, किसान सिँचाइ नपुगेर निराश स्थानीय ‘बत्तीमुनिको अँध्यारो’मा थिए। तीन वर्षअघि प्रतिनिधिसभामा निर्वाचित विनोद चौधरी अहिले त्यही कथा बदल्ने वाचापत्र बोकेर मतदातामाझ उभिएका छन्।
मन्त्री पद नपाए पनि संसदीय पहल, निजी क्षेत्रसँगको सहकार्य र स्थानीय सरकारसँगको समन्वयमार्फत काम अघि बढाएको दाबी गर्दै उनी यसपटक ‘रिपोर्ट कार्ड’सहित घरदैलो गरिरहेका छन्। राजनीतिक प्रतिस्पर्धाभन्दा माथि यो चुनाव विकास यात्रालाई निरन्तरता दिने अभियान रहेको उनी बताउँछन्।
परिवर्तनको पहिलो आधार पूर्वाधारमा पछिल्ला तीन वर्षमा राम्रो कामहरू गर्न सकेकोमा चौधरी सन्तोष व्यक्त गर्छन्। वर्षौँदेखि अलपत्र हुलाकी राजमार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ। प्रतापपुर रिङरोड र पालिकालाई जोड्ने भित्री सडकहरूले गाउँसम्मको पहुँच विस्तार गरेका छन्।
यस्तै सुस्ता झोलुंगे पुल बनेपछि सीमावर्ती बस्तीको आवागमन सहज भएको छ। अम्वास हुँदै संसारकोट जोड्ने सडक निर्माणले पूर्व-पश्चिम राजमार्गको वैकल्पिक मार्गको सम्भावना खोलिदिएको छ।
सडकसँगै सिँचाइ सुधारमा गरिएको हस्तक्षेपलाई चौधरीले उपलब्धिको रूपमा प्रस्तुत गरेका छन्। गण्डक नहरको मर्मत, सरसफाइ र मुहानमा बालुवा थिगार्ने पोखरी निर्माणपछि नहर पूर्ण क्षमतामा सञ्चालनमा आएको छ।
समयमै पानी पाउन थालेपछि किसानहरू व्यावसायिक खेतीउन्मुख भएको उल्लेख गरिन्छ। गण्डक परियोजनाको १५ मेगावाट क्षमतामध्ये दुई टर्बाइन सञ्चालनमा आइसकेका छन्, तेस्रो मर्मत प्रक्रियामा छ। ऊर्जा र सिँचाइ सुदृढ हुँदा उत्पादन र आय दुवै बढ्ने विश्वास चौधरीले व्यक्त गरेका छन्।
स्वास्थ्य क्षेत्रमा पनि विस्तार देखिएको छ। चिसापानीस्थित ट्रमा सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ। चौपत्ता अस्पतालमा डायलासिस सेवा सुरु भएपछि बिरामीलाई बाहिर जानुपर्ने बाध्यता घटेको छ। सुस्ता र सरावलमा १५-१५ शैय्याका अस्पताल निर्माणाधीन छन्। पकलिहवा र भुजहवामा बर्थिङ सेन्टर सञ्चालनमा आएका छन्। चिसापानी अस्पतालमा स्थापना गरिएको ‘सबल केन्द्र’बाट कृत्रिम हातखुट्टा सेवा प्राप्त गर्नेको संख्या उल्लेखनीय रहेको बताइन्छ।
शिक्षामा गुणस्तर सुधारलाई प्राथमिकता दिइएको छ। सात विद्यालयमा एसईई तयारी कक्षा सञ्चालन गरिएको छ। शिक्षकहरूलाई तालिम दिइएको छ। डिजिटल कक्षा र ई-पुस्तकालय स्थापनाको प्रक्रिया अघि बढेको छ। २५ विद्यालयमा शुद्ध खानेपानी सुविधा विस्तार गरिएको छ। प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रस्ताव पेस भइसकेको र कानूनी प्रक्रिया पूरा भएपछि अगाडि बढ्ने जनाइएको छ।
कृषि क्षेत्रमा उखु किसानको भुक्तानी समस्या समाधान र न्यूनतम मूल्य निर्धारणका लागि निरन्तर पहल गरिएको उल्लेख छ। नवलपरासीलाई विशेष ‘केरा जोन’का रूपमा विकास गर्ने योजना अघि बढाइएको छ। उन्नत जातको बेर्ना वितरण, मलको कोटा वृद्धि र केरामा आधारित उद्योग स्थापनाका लागि सुस्तामा जग्गा खरिद गरिएको चौधरी बताउँछन्। किसानलाई प्रत्यक्ष बजारसँग जोड्ने संरचना बनाउने लक्ष्य राखिएको छ।
युवा रोजगारी र उद्यमशीलतामा पनि विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताइन्छ। प्राविधिक तालिम, ब्युटिसियन, सिलाइ-कटाइ र बेकरी तालिममार्फत सयौँ युवा लाभान्वित भएको दाबी छ। केहीलाई स्वरोजगारका लागि सामग्री वितरण गरिएको छ। बर्दघाट-५ मा निर्माणाधीन साना तथा मझौला औद्योगिक ग्रामलाई स्थानीय रोजगारी र औद्योगिकीकरणको आधारका रूपमा प्रस्तुत गरिएको छ।
भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण, मुसहर समुदायका लागि आवास कार्यक्रम, डुबान प्रभावितको तथ्यांक संकलन, आर्सेनिकमुक्त खानेपानी योजनालगायत विषयलाई सामाजिक न्यायका उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। सीमा क्षेत्रमा गुगल म्यापको त्रुटिका कारण बैंक ऋण नपाउने समस्या समाधानतर्फ पहल भएको दाबी गरिएको छ।
पर्यटनतर्फ त्रिवेणीधाम, बुद्धमंगल ताल, संसारकोट र कञ्चनगढीमा पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको छ। खेलकुद पूर्वाधार विस्तारका लागि रंगशाला र क्रिकेट मैदान निर्माणको पहल अघि बढेको उल्लेख छ।
अबको संकल्प के?
अबको कार्यकाललाई ‘निरन्तरताको चरण’ भन्छन् चौधरी। उनका अनुसार आगामी पाँच वर्षमा नवलपरासीलाई लुम्बिनी प्रदेशकै नमुना निर्वाचन क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्य छ।
औद्योगिक ग्रामलाई पूर्ण सञ्चालनमा ल्याएर स्थानीय रोजगारी सिर्जना गर्ने, कृषि उत्पादनलाई उद्योगसँग जोडेर मूल्य शृंखला विकास गर्ने, केरा र उखुलाई निर्यातयोग्य बनाउने, सुक्खा बन्दरगाह स्थापनाका लागि कुटनीतिक पहल तीव्र बनाउने र पर्यटन पूर्वाधारलाई बहुवर्षीय योजनामार्फत पूरा गर्ने उनका प्राथमिकता छन्।
साथै सुशासन र नीतिगत सुधारलाई राष्ट्रिय एजेन्डा बनाउने प्रतिबद्धता उनी दोहोर्याउँछन्। लगानीमैत्री वातावरण, सेवा प्रवाहमा सहजता र पारदर्शितालाई केन्द्रमा राखेर काम गर्ने उनले बताउँदै आएका छन्।
‘अधुरा कामलाई पूर्णता दिन निरन्तरता आवश्यक छ। समुन्नत नवलपरासीको सपना सामूहिक प्रयासबाट मात्र साकार हुन्छ' उनी भन्छन्।
अब निर्णय मतदाताको हातमा छ। तीन वर्षको कार्यसम्पादन र आगामी संकल्पसहित प्रस्तुत गरिएको रिपोर्ट कार्डले जनविश्वासलाई पुनः आर्जन गर्छ भन्ने विश्वासमा चौधरी छन्।
चौधरीले देशमा सुशासन र आर्थिक एजेन्डा राजनीतिको केन्द्रमा आउन नसकेको स्वीकार गर्दै अब नीतिगत सुधारमार्फत अर्थतन्त्रलाई गतिशील बनाउने प्रतिबद्धता दोहोर्याएका छन्। उनका अनुसार ‘विकासलाई द्रुतता दिन स्थिर नीति, लगानीमैत्री वातावरण र स्थानीय स्तरमा रोजगारी सिर्जना अनिवार्य छ।'
चौधरीले के काम गरे? के काममा पहल गरे?
- हुलाकी राजमार्ग निर्माणमा विभिन्न पहल
- पूर्व-पश्चिम राजमार्ग स्तरोन्नतिमा निरन्तर निगरानी र छलफल
- प्रतापपुर रिङरोड तथा पालिका जोड्ने भित्री सडकका काम हुँदै
- सुस्ता झोलुंगे पुल निर्माण
- अम्वास-संसारकोट सडक निर्माण, वैकल्पिक मार्गको रूपमा विकास
- गण्डक नहर मर्मत तथा सरसफाइ
- बालुवा थिगार्ने पोखरी निर्माणपछि पूर्ण क्षमतामा सञ्चालन
- गण्डक परियोजनाको १५ मेगावाट क्षमतामध्ये दुई टर्बाइन सञ्चालनमा, तेस्रो मर्मत प्रक्रियामा
- कृषिमा उत्पादन वृद्धि र व्यावसायिक खेतीतर्फ किसानको आकर्षण बढाएको दाबी गरिएको छ।
- चिसापानीस्थित ट्रमा सेन्टर निर्माण अन्तिम चरणमा
- चिसापानी अस्पताल स्तरोन्नति
- चौपत्ता अस्पतालमा डायलासिस सेवा
- सुस्ता र सरावलमा १५-१५ शैय्याका अस्पताल निर्माणाधीन
- पकलिहवा र भुजहवामा बर्थिङ सेन्टर सञ्चालन
- निःशुल्क स्वास्थ्य शिविर र पाठेघरसम्बन्धी शल्यक्रिया
- चिसापानी अस्पतालमा ‘सबल केन्द्र’ स्थापना-कृत्रिम हातखुट्टा सेवा, देशभरका करिब एक हजार लाभान्वित
- शिक्षक तालिम (टीओटी) कार्यक्रम
- रिमोट टिचिङको तयारी
- ६ विद्यालयमा डिजिटल कक्षा र ई-पुस्तकालय स्थापना प्रक्रिया
- २५ विद्यालयमा स्मार्ट ड्रिंकिङ वाटर परियोजना
- विद्यालयमा खेलकुद सामग्री वितरण
- प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रस्ताव पेश, कानुनी संशोधनपछि प्रक्रिया अघि बढ्ने बताइएको छ।
- १५२ युवालाई प्राविधिक (मेकानिकल, इलेक्ट्रिकल, मर्मत) तालिम
- १३२ जनालाई ब्युटिसियन तालिम
- सिलाइ-कटाइ, बेकरी तालिम
- ३० वटा ठेला वितरण
- बैंक तथा वित्तीय संस्थासँग सहजीकरण गरी स्टार्टअप कर्जा पहुँच
- बर्दघाट-५ मा साना तथा मझौला औद्योगिक ग्राम निर्माणाधीन, लगानी सम्मेलनमार्फत उद्योग स्थापना तयारी।
- उखु किसानका लागि उखुको न्यूनतम मूल्य निर्धारणमा पहल
- उखु किसानका लागि भुक्तानी सहजीकरण
- उखु किसानका लागि अनुदान निरन्तरताका लागि दबाब
- नवलपरासीलाई केरा जोनका रूपमा विकास
- उन्नत जातको बेर्ना वितरण तयारी
- मलको कोटा वृद्धि
- केरामा आधारित उद्योग स्थापनाका लागि सुस्तामा जग्गा खरिद
- सिँचाइमा सुधार गरी नहर व्यवस्थापनपछि उत्पादन वृद्धि
- धान, गहुँ लगायत परम्परागत खेतीको व्यावसायिकीकरण
- २५० जनालाई जग्गाधनी प्रमाणपूर्जा वितरण, १०० प्रक्रिया अन्तिम चरणमा
- भूमिसम्बन्धी आयोगमार्फत नापी कार्य
- मुसहर समुदायका लागि आवास कार्यक्रम (बजेट विनियोजन)
- डुबान प्रभावितको तथ्यांक संकलन र व्यवस्थापन पहल
- नेपाल-भारत आयात-निर्यात प्रवर्द्धनका लागि पहल
- सुक्खा बन्दरगाह स्थापनाको प्रयास
- सीमा क्षेत्रमा गुगल म्याप समस्या समाधानका लागि बैंक तथा सरकारी निकायसँग समन्वय
- त्रिवेणीधाम, बुद्ध मंगल ताल, कञ्चनगढी, संसारकोट लगायत क्षेत्रमा बजेट विनियोजन
- डीपीआर तयार गरी बहुवर्षीय योजनामा समावेश
- सूर्यनगर खेलमैदान र बुद्धबस्ती क्रिकेट ग्राउन्डका लागि बजेट सुनिश्चित
- विभिन्न क्लबलाई खेल सामग्री र सहयोग
- खानेपानी र आर्सेनिक नियन्त्रण
- प्रतापपुर गाउँमा आर्सेनिकमुक्त खानेपानी योजना
