बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चितवनका मौरीपालक किसानलाई आईपीएम पाठशाला

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २७ २०८२
चितवनका मौरीपालक किसानलाई आईपीएम पाठशाला

चितवन- जिल्लाका मौरीपालक किसानका लागि आईपीएम कृषक पाठशाला सञ्चालन गरिएको छ। मौरीपालन विकास केन्द्र भण्डाराले राप्ती नगरपालिकामा मौरीपालन गर्ने १४ किसानलाई पाठशालामार्फत मौरीपालन व्यवसायमा लाग्ने रोग-किरा व्यवस्थापनसँगै विषादीले मौरीमा पार्ने असरका बारेमा ज्ञान दिएको हो।

कार्यालयका प्रमुख सुजन अम्गाईंका अनुसार गत भदौदेखि सुरु गरिएको पाठशालामा मौरीको जीवनचक्र, मौरीको कृत्रिम आहारहरू, मौरीमा लाग्ने रोग-किरालगायत मौरीको परागसेचन भूमिकाका विषयमा कृषकलाई जानकारी गराइएको थियो। पाठशालामा मौरीमा रोग-किराको व्यवस्थापन घरेलु तथा प्रांगारिक तरिकाले कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत ज्ञान दिइएको थियो।

मौरीमा लाग्ने किरा तथा रोगको समाधानका लागि विभिन्न घरेलु औषधिहरू जस्तैः बोझो, कडिपत्ता, गिदरी, अमलाको झोलको प्रयोग गर्न सकिने कक्षामा जानकारीसहित प्रयोगात्मक तवरले समेत देखाइएको छ। मौरीमा सुलसुले, मैनपुतली, खपटे, युरोपियन फाउल ब्रुर्ड, नोसेमा (पखाला) जस्ता रोग-किराहरू लाग्ने हुँदा यसलाई व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा पाठशालामा जानकारी गराइएको थियो।

पाठशाला १६ हप्तासम्म सञ्चालन हुने छ। तालिममा सहभागीमध्ये लक्ष्मण थापा यस पाठशाला किसानका लागि उपयुक्त भएको बताउँछन्। उनका अनुसार मौरीबाट हुने फाइदा, बेफाइदाका कुरासँगै व्यावसायिक रूपमा मौरीपालन गर्नलाई सहजीकरण पाठशालाले पुगेको छ। 

उनले भने, 'धेरै कुरा सिक्यो र सिक्दैछौँ। यसलाई व्यवहारमा उतार्न हामी लाग्छौँ।' अहिले आफूले तीन घार मौरीपालन गर्दै आएको र तालिमपछि यो संख्या बढाउँदै व्यावसायिक गर्ने योजना रहेको उनले बताए। 

जिल्लामा व्यावसायिक रूपमा मौरीपालन गर्ने किसान संख्या ४५० जना छन्। यहाँ १९ हजार ५०० घार छन्। ती घारबाट वार्षिक ५०० मेट्रिकटन मह उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ। जसमध्ये चिउरी र तोरीको मह ७५ प्रतिशत उत्पादन हुने गरेको छ। बाँकी २५ प्रतिशत रुदिलो, फापर, लिच्ची, पड्केलगायतका स्रोतबाट मह उत्पादन हुँदै आएको छ। रासस


प्रकाशित : मंगलबार, माघ २७ २०८२१६:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend