बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पशुलाई रोगबाट जोगाउन म्याग्दीमा पूर्णखोप अभियान सञ्चालन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २७ २०८२
पशुलाई रोगबाट जोगाउन म्याग्दीमा पूर्णखोप अभियान सञ्चालन

चालु आर्थिक वर्ष २०८२/८३ मा पशुमा पूर्णखोप कार्यक्रममार्फत करिब ९० हजार गाई, भैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोगविरुद्ध पाँच प्रकारका खोप लगाउने लक्ष्य रहेको केन्द्रका प्रमुख गोपाल गिरीले जानकारी दिए।

म्याग्दी- पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप अभियान सञ्चालन भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका ६ वटै स्थानीय तहका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको हो।

चालु आर्थिक वर्ष २०८२/८३ मा पशुमा पूर्णखोप कार्यक्रममार्फत करिब ९० हजार गाई, भैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोगविरुद्ध पाँच प्रकारका खोप लगाउने लक्ष्य रहेको केन्द्रका प्रमुख गोपाल गिरीले जानकारी दिए।

करिब ११ हजार घरपरिवार किसानले पालेका १४ हजार १५९ गाई, २३ हजार ३२६ भैँसी, ४७ हजार १८६ बाख्रा, १४ हजार ७९१ भेडा, एक हजार ६६८ बंगुर, चार हजार ८७७ कुकुर-बिरालो र ३७९ चौरीलाई खोप लगाउने लक्ष्य छ।

गाईभैँसीलाई खोरेत र लम्की स्किन, भेडाबाख्रालाई पीपीआर, कुकुर, बिरालोलाई रेबिज र बंगुर/सुगुरलाई स्वाइन फिवरविरुद्धको खोप लगाइने केन्द्रका प्रमुख गिरीले बताए। बेनी नगरपालिका, धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकामा खोप अभियान सम्पन्न भएको छ। रघुगंगा र मंगला गाउँपालिकामा सुरु भएको छ।

किसानका पशु फार्म तथा गोठमा पुगेर पशुचौपायाको तथ्यांक संकलन, खोपकर्ता नियुक्ति, पालिकास्तरमा जनप्रतिनिधि र अगुवा किसानलाई अभिमुखीकरण गरी खोप लगाउन प्राविधिकहरूलाई पचिालन गरिएको छ।

पूर्णखोप अभियानका लागि एउटा वडामा भूगोल र पशु संख्याका आधारमा दुईदेखि तीन जनाका दरले प्राविधिक र खोपकर्ता परिचालन गरिएको थियो। पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी उपाय भएको किसानहरू बताउँछन्।

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको बेनी नगरपालिका-३ डाडाखानीका किसान धनबहादुर श्रीसले बताए।

गण्डकी प्रदेश सरकारले संक्रामक रोग निर्मूल पार्ने योजनाअनुसार प्रदेशलाई नै पूर्णखोपयुक्त बनाउन ११ जिल्लामा पशुमा पूर्णखोप अभियान चलाएको छ। रासस


प्रकाशित : मंगलबार, माघ २७ २०८२११:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend