काठमाडौं- चालु आर्थिक वर्षको ६ महिनामै ११ वटा जलविद्युत आयोजना निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ। सार्वजनिक भएको कतिपय रिपोर्टको स्वीकृत भइसकेको छ भने केही स्वीकृतको प्रक्रियामा रहेका छन्।
सार्वजनिक भएका १९ वटा आयोजनाको कुल विद्युत उत्पादन क्षमता १५ सय ३० मेगावाट छ। ११ वटा आयोजनाको कुल लागत ३ खर्ब ४९ अर्ब रुपैयाँभन्दा बढी अनुमान गरिएको छ।
वन तथा वातावरण मन्त्रालयले ९८.१७ मेगावाट क्षमताको चुवा खोला जलविद्युत आयोजना, ५७० मेगावाट विद्युत उत्पादन गर्ने हुम्ला-कर्णाली १ र २, ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली र ३५.१५ मेगावाटको माथिल्लो अप्सुवाखोला आयोजना रहेका छन्।
यसैगरी सार्वजिनक भएको रिपोर्टहरूमा मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजना, ३२ मेगावाट क्षमताको करुवा सेती जलविद्युत आयोजना, २४.४१ मेगावाट क्षमताको सुपर इन्खुखोला जलविद्युत आयोजना, २४.२२ मेगावाट क्षमताको माथिल्लो इन्खुखोला जलविद्युत आयोजना, ३० मेगावाट क्षमताको म्यार्दी खोला जलविद्युत आयोजन र ३ सय २८ मेगावाट क्षमताको भारबुंग जलाशययुक्त आयोजना रहेका छन्।
चुवा खोला जलविद्युत आयोजना
कर्णाली प्रदेशको हुम्ला जिल्लामा ९८.१७ मेगावाट क्षमताको चुवा खोला अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको लागत १७ अर्ब ६९ करोड रुपैयाँ रहेको छ।
आयोजनाको क्षमता ७० मेगावाटबाट बढेर ९८.१७ मेगावाट भएको हो। आयोजना निर्माणको अवधि ४ वर्षको हुनेछ। आयोजनाको सुरुमा प्रस्तावक सुपर मुगु कर्णाली हाइड्रोपावर प्रालि रहे पनि अहिले परिवर्तन भइ बिजबेल प्रालि भएको छ।
आयोजनाको सर्वेक्षण लाइसेन्स २०७६ माघमा जारी भएको थियो। सर्वेक्षण लाइसेन्स २०८० माघमै सकिएको भए पनि विद्युत उत्पादन अनुमतिपत्र लिने प्रक्रियामा रहेको रायसुझावका लागि सार्वजनिक भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।
हुम्ला-कर्णाली १ र २
कर्णाली प्रदेशमा ५७० मेगावाट क्षमताका दुई ठूला जलविद्युत आयोजना निर्माणको तयारी तीव्र भएको छ। रुरु जलविद्युत परियोजना लिमिटेडले प्रवर्द्धन गर्न लागेको हुम्ला-कर्णाली १ र २ जलविद्युत आयोजना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले राय-सुझावका लागि सार्वजनिक गरेको हो।
५७० मेगावाट क्षमताका यी दुवै आयोजनाको कुल लागत करिब १ खर्ब ३० अर्ब रुपैयाँ प्रक्षेपण गरिएको छ। हुम्ला-कर्णाली १ को क्षमता २३५ मेगावाट रहनेछ र यसको लागत अनुमान ५७ अर्ब २७ करोड रुपैयाँभन्दा बढी गरिएको छ। सो आयोजना हुम्लाको सर्केगाड र चंखेली गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकामा फैलिनेछ।
नदी प्रवाहमा आधारित यो आयोजना २२ मिटर अग्लो बाँध, आठ किलोमिटरभन्दा लामो सुरुङ, भूमिगत विद्युतगृह र अन्य संरचनासहित बन्नेछ। आयोजना सञ्चालनमा आएपछि अधिकतम १३० घनमिटर/सेकेन्ड पानी प्रयोग गरी वार्षिक १ हजार ५ सय ३१ गिगावाट आवर विद्युत उत्पादन हुने लक्ष्य राखिएको छ।
यसैगरी हुम्ला-कर्णाली २ आयोजना ३३५ मेगावाट क्षमताको रहनेछ। यसको कुल लागत करिब ७२ अर्ब ९० करोड रुपैयाँ अनुमान गरिएको छ। यो आयोजना हुम्लाको सर्केगाड र खार्पुनाथ गाउँपालिकामा फैलिनेछ। यसअन्तर्गत ६२ मिटर अग्लो हेडवर्क्स बाँध, दुईवटा डाइभर्सन सुरुङ, १२ किलोमिटरभन्दा लामो हेडरेस सुरुङ र सतही विद्युतगृह निर्माण गरिनेछ।
आयोजना सञ्चालनमा आएपछि सुक्खा याममा करिब ६०९ गिगावाट आवर र वर्षायाममा १ हजार १ सय ८४ गिगावाट आवर विद्युत उत्पादन गरी वार्षिक १ हजार ७ सय ९५ गिगावाट आवर ऊर्जा राष्ट्रिय प्रणालीमा थपिने अनुमान छ। दुवै आयोजना निर्माणका क्रममा आवश्यक पर्ने जग्गा, वातावरणीय प्रभाव न्यूनीकरण, वृक्षरोपण र सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि छुट्टै बजेट विनियोजन गरिएको प्रतिवेदनमा उल्लेख छ।
करिब एक खर्ब ३० अर्ब रुपैयाँको अनुमानित लागतमा बन्ने यी आयोजना सम्पन्न भए नेपालका ठूला निजी-क्षेत्र प्रवर्द्धित जलविद्युत आयोजनामध्ये प्रमुख बन्ने अपेक्षा गरिएको छ। कर्णाली प्रदेशमै पहिलो पटक यस्तो ठूलो क्षमताका आयोजनाले ऊर्जा उत्पादनमा ऐतिहासिक फड्को मार्ने विश्वास गरिएको छ।
माथिल्लो मुगु कर्णाली
कर्णाली प्रदेशको मुगु जिल्लामा प्रस्तावित ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजना (३०६ मे.वा.) को वातावरणीय प्रभाव मूल्याकंन (ईआईए) प्रतिवेदन सार्वजनिक भइसकेको छ।
आयोजना प्रवर्धक एलिभेट इनर्जी प्रा.लि. द्वारा तयार पारिएको प्रतिवेदन अनुसार, मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिका क्षेत्रमा आयोजना संरचना रहनेछ। बाँध मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ५ र ६ मा निर्माण हुनेछ र भूमिगत जलमार्गको माध्यमबाट विद्युत गृहसम्म जल आपूर्ति हुनेछ।
आयोजनाबाट वार्षिक १,६२९.२५ गीगावाट–घण्टा विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ। बाँधबाट विद्युत गृहसम्म करिब १२ किलोमिटर नदी खण्डमा जल प्रवाह घट्ने भएकाले विभिन्न वडाहरू प्रभावित हुनेछन्। बाँध २७ मिटर अग्लो र २,५६५.५ मिटर लामो जलाशय सिर्जना गर्नेछ, जसको अधिकतम सतह स्तर २,२८१.६ मिटर रहनेछ।
निर्माणका लागि करिब ३७.८७ हेक्टर सरकारी र १५.१९ हेक्टर निजी जग्गा आवश्यक पर्नेछ। आयोजना ५ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ र कुल निर्माण लागत ५५.३३ अर्ब रुपैयाँ अनुमान गरिएको छ।
माथिल्लो अप्सुवाखोला आयोजना
संखुवासभामा ३५.१५ मेगावाटको माथिल्लो अप्सुवाखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। संखुवासभाको सिलिचोङ गाउँपालिका-५ र मकालु गाउँपालिका-१ को सिमाना भएर बग्ने अप्सुवा खोलाको ९.२५ घनमिटर प्रति सेकेण्ड पानी प्रयोग गरी रामजानकी हाइड्रोपावरले आयोजना निर्माण गर्ने भएको हो।
कम्पनीका अनुसार अप्सुवा खोलामा २० मिटर लामो र ५ मिटर अग्लो पानी फर्काउने बाँध निर्माण गरिनेछ। खोलाको दाँया किनार (सिलिचोङ गाउँपालिका-५) तर्फ बालुवा गिट्टी थिग्याउने पोखरी निर्माण गरिनेछ। त्यहाँबाट २४७५ मिटर लामो भूमिगत जलप्रवाह प्रणाली हुँदै याङ्गदेन गाउँभन्दा ८०० मिटर तल अवस्थित सतही विद्युत गृहसम्म पानी पुऱ्याइनेछ।
विद्युत गृहबाट निस्किएको पानी पुनः अप्सुवा खोलामै छोडिने छ। यस आयोजनाले विद्युत गृहदेखि बाँधस्थलसम्म ९ किलोमिटर सडक निर्माण गर्नेछ। सडक र अस्थायी शिविरका लागि निजी २.८४ हेक्टर तथा मकालु बरुण राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रभित्रको ९.४४ हेक्टर जग्गा चाहिने छ।
आयोजनाको लागत ६ अर्ब ११ करोड ४० लाख रुपैयाँ छ। ४ वर्षमा निर्माण गरिसक्ने भनिएको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भइसेको छ।
रोल्वालिङ खोला जलविद्युत आयोजना
१५ अर्ब १० करोड अनुमानसहित ८८ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक भइसेको छ। आयोजनाको निर्माण अवधि ४ वर्षको हुने रिपोर्टमा उल्लेख छ।
८८ मेगावाट क्षममताको आयोजनाको प्रतिमेगावाट लागत १७ करोड १६ लाख रुपैयाँ अनुमान गरिएको छ। आयोजना दोलखाको गौरीशंकर र विगु गाउँपालिका रहने छ। आयोजनाको प्रस्ताव एचइडी इनर्जी प्रालि हो।
आयोजनाले ६ मिटर अग्लो र २५ मिटर लम्बाइ बाध निर्माण हुने छ। प्रस्तावित आयोजना नदीको प्रवाहमा आधरित भइ निर्माण हुने जलविद्युत आयोजना हो। आयोजनाबाट गौरीशंकर गाउँपालिका वडा नम्बर ९ र विगु गाउँपालिकाको वडा नम्बर १ मा पर्दछ।
भारबुंग जलाशययुक्त आयोजना
कर्णाली प्रदेशको डोल्पामा १ खर्ब रुपैयाँभन्दा बढीको लागतमा जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ। डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काइके गाउँपालिकामा ३ सय २८ मेगावाट क्षमताको आयोजना निर्माण हुन लागेको हो। आयोजनाको लागत १ अर्ब ३ अर्ब ३१ करोड ९ लाख १ सय ३८ रुपैयाँ अनुमान गरिएको छ।
प्राप्त प्रतिवेदनअनुसार यस आयोजनाअन्तर्गत भारबुंग नदीमा निर्माण हुने जलाशयबाट ३ सय २५ मेगावाट र तातु खोलाको १.१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीबाट उपयोग गरी ३.१० मेगावाट गरी दुईवटा प्रणालीमार्फत विद्युत उत्पादन हुनेछ।
आयोजनाबाट डोल्पाको छार्का ताङसोङ वडा नम्बर ४ र ५ तथा काइके गाउँपालिकाको वडा नम्बर १ प्रभावित हुनेछन्। आयोजनाअन्तर्गतको भारबुंग जलाशय प्रणालीका लागि छार्का ताङसोङ गाउँपालिका वडा नम्बर ४ मा १ सय ६९ मिटर अग्लो बाँध, ७ सय ६६ दशमवल १ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक, १६ किलोमिटर लम्बाइको हेडरेस सुरुङ निर्माण हुनेछ।
यसैगरी काइके गाउँपालिका वडा नम्बर १ मा भूमिगत विद्युतगृह र पानी निकास नहर निर्माण हुने रायसुझावका लागि सार्वजनिक भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ। त्यस्तै तातु खोलाको प्रणालीका लागि छार्का ताङसोङ गाउँपालिका वडा नम्बर ४ मा ३ मिटर अग्लो वेयर, इन्टेक, १ हजार ३ सय ४७ मिटर लम्बाइको हेडरेस सुरुङ तथा सतही विद्युतगृह निर्माण गरिने भएको छ।
तातु खोलाबाट फर्काइएको पानीलाई भारबुंग नदीमा निर्माण हुने जलाशयमा छोडिनेछ। आयोजनाका दुबै प्रणालीबाट वार्षिक ९ सय ३३ सय १९५ गिगावाट विद्युत उत्पादन हुनेछ। प्रस्तावित आयोजनाका लागि जग्गा खरिदमा ३ खर्ब रुपैयाँ हाराहारी खर्च हुनेछ। आयोजना हिमाली क्षेत्रमा भएका कारण महँगो हुने भएको छ। प्रतिमेगावाट लागत नै २८ करोड ५० लाख रुपैयाँ हुने अनुमान गरिएको छ।
माथिल्लो इन्खुखोला जलविद्युत आयोजना
कोशी प्रदेशको सोलसखुम्बु जिल्लाको सेताङ गाउँपालिमा २४.२२ मेगावाट क्षमताको माथिल्लो इन्खुखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनको कुल लागत ६ अर्ब २३ करोड ७४ लाख ६९ हजार ५० रुपैयाँको र प्रतिमेगावाट लागत २५ करोड ७५ लाख ३३ हजार ८ सय १७ रुपैयाँ रहेको छ।
आयोजनाको कुल वार्षिक उर्जा उत्पादन इमता १४६.६२ गिगावाट आवर रहेको छ। प्रस्तावित आयोजनाको मुख्य संरचनामा वेयर, इन्टेक, अन्डर स्लुइस, एप्रोच क्यान्ल, बालुवा थिग्राउने संरचना, सुरुङ सर्ज साप्ट, भूमिगत प्रकारको विद्युत गृह रहेको छ। यसैगरी आयोजनाले ४.५ मिटर चौडाइको १७ किलोमिटर लामो पहुँच सडक र तीस मिटरको पुल निर्माण समेत गर्ने छ।
सुपर इन्खुखोला जलविद्युत आयोजना
सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँवालिका वडा नम्बर १ र खुम्बु पासाङल्हामु गाँउपालिकाको वडा नम्बर १ मा २४.४१ मेगावाट क्षमताको सुपर इन्खुखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको लागत ४ अर्ब ९४ करोड ३७ लाख ५ हजार ९ सय २० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड २५ लाख ६९ हजार रुपैयाँ रहेको छ।
आयोजनाका लागि मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रको १८.७० हेक्टर जग्गा आवश्यक पर्नेछ। आयोजना कुल वार्षिक १४३.०४ गिगावाट आवर उर्जा उत्पादन क्षमता रहेको छ। आयोजनाका लागि मुख्य संरचनाहरूमा वेयर, इन्टेक, अन्डर स्लुइस, सर्ज साफ्ट, भूमिगत प्रकारको विद्युत गृह देखि ४.५ मिटरको चौडाइको ११ किलामिटर लामो पहुँच सडक र ३५ मिटरको पुल निर्माण हुनेछ।
करुवा सेती जलविद्युत आयोजना
कास्कीको माछापुच्छ्रेगाउँपालिकामा ३२ मेगावाट क्षमताको करुवा सेती जलविद्युत आयोजना निर्माण हुने छ। आयोजनाको कुल लागत ६ अर्ब ६८ करोड २० लाख रुपैयाँ अनुमान गरिएको छ।
आयोजनाको मुख्य संरचनाहरूमा बाँध, इन्टेक, ग्राभेल ट्रयाप, एप्रोच क्यानल, बालुवा थिग्राउने पोखरी, हेडरेस कल्भर्ट, हेडरेस सुरुङ, सर्ज साफ्ट, पेनस्टक पाइप, विद्युत गृह तथा टेलरेस रहेका छन्।
म्यार्दी खोला जलविद्युत आयोजना
गण्डकी प्रदेशको लम्जुङ जिल्लामा ३० मेगावाट क्षमताको म्यार्दी खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक भएको छ।
आयोजनाको लागत ३ अर्ब ९० करोड ९७ लाख रुपैयाँ रहेको छ। आयोजना मर्स्याङदी गाउँपालिका वडान नम्बर ४ र ५ तथा मनाङको नासों गाउँपालिका वडा नम्बर पर्दछ।
प्रस्तावित जलविद्युत आयोजनाका विभिन्न संरचनाहरूको निर्माणका लागि जम्मा १०.८४ हेक्टर जग्गा आवश्यक पर्ने जसमा स्थायी रूपमा निजी स्वामित्वको १.८५ हेक्टर र अस्थायी रूपमा ०.३० हेक्टर र अन्नपूर्ण संरक्षण क्षेत्रको वन क्षेत्रवाट ८.६९ हेक्टर प्रयोग गरिनेछ।
