बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रतिनिधिसभा चुनावमा उद्योगीदेखि डिजिटल स्टार्टपसम्मका व्यवसायी प्रत्यक्ष प्रतिस्पर्धामा

बुधबार, माघ ७ २०८२
प्रतिनिधिसभा चुनावमा उद्योगीदेखि डिजिटल स्टार्टपसम्मका व्यवसायी प्रत्यक्ष प्रतिस्पर्धामा

आर्थिक पुनरुत्थान र विकास मुख्य चुनौती बनेको वर्तमान अवस्थामा यस्ता उम्मेदवारहरूको भूमिका निर्णायक हुन सक्ने राजनीतिक विश्लेषकहरूको आँकलन छ।

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी र व्यावसायिक पृष्ठभूमिका उम्मेदवार प्रत्यक्षतर्फको चुनावी मैदानमा उत्रिएका छन्।

सहकारी सञ्चालकदेखि म्यानपावर, पर्यटन, स्वास्थ्य, ऊर्जा, डिजिटल प्रविधि र उत्पादन क्षेत्रका व्यवसायीसम्म संसदमा पुग्ने प्रयासमा छन्। उनीहरूले आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको तर्क गर्दै आएको भए पनि मंगलबार सम्पन्न मनोनयन दर्तासम्म औपचारिक चुनावी एजेन्डा सार्वजनिक गरेका छैनन्।

प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका व्यवसायीमध्ये सबैभन्दा चर्चित नाम हो- नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी। नेपाली कांग्रेसले उनलाई नवलपरासी पश्चिम-१ बाट दोस्रोपटक उम्मेदवार बनाएको छ।

चौधरीले आफू राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणको पक्षमा रहेको बताएका छन्। 'म राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणको पक्षमा छु,' उनले भने, 'जेनजी मुभमेन्टले दिएको सन्देशको मर्मलाई मैले राम्रोसँग बुझेको छु।' उनले नयाँ पुस्ताको अपेक्षा, रोजगारी, उद्यमशीलता र समावेशी विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्।

व्यवसायी पृष्ठभूमिबाट चुनावी मैदानमा उत्रिएका अर्का प्रभावशाली उम्मेदवार हुन्- मेडिकल व्यवसायी सुनीलकुमार शर्मा। नेपाली कांग्रेसले मोरङ-३ मा उम्मेदवार बनाएका शर्मा काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक हुन्। उनी जलविद्युत् आयोजनामा समेत लगानी विस्तारको तयारीमा छन्। शर्मा यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डीपी अर्याल काठमाडौं-९ बाट उम्मेदवार बनेका छन्। कृषि फार्म, ट्राभल सर्भिस, सहकारी, इँटा उद्योग, रेमिटेन्स, शिक्षा परामर्श, सुरक्षा सेवा, ट्रेकिङ र होटल व्यवसायसम्म उनको लगानी फैलिएको छ। उनी अघिल्लो निर्वाचनमा समानुपातिक सांसद थिए।

सिराहा-४ बाट चुनावी मैदानमा उत्रिएका वीरेन्द्रकुमार महतो बैंकिङ, जलविद्युत् र शिक्षा क्षेत्रमा लगानी गरेका व्यवसायी हुन्। माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष महतो यसअघि जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए भने यसपटक जनमत पार्टीबाट उम्मेदवार बनेका छन्।

कपिलवस्तु-३ मा एमाले उम्मेदवार बनेका वीरेन्द्रकुमार कनौडिया लुम्बिनी सुगर मिल्सका अध्यक्ष हुन्। उनी कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका हुन्।

पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा पर्यटन व्यवसायी धनञ्जय रेग्मी स्याङ्जा-१ बाट चुनाव लड्दै छन्।

काठमाडौं-१ बाट पठाओका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात स्वतन्त्र उम्मेदवार बनेका छन्। डिजिटल अर्थतन्त्र र प्रविधिमैत्री नीतिलाई बहसमा ल्याउने उम्मेदवारका रूपमा उनको उम्मेदवारीलाई हेरिएको छ।

कास्की-१ मा नुर ओभर्सिज म्यानपावरका सञ्चालक तिलक रानाभाट कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन्।

सञ्चार उद्यमी ऋषि धमला आम जनता पार्टीबाट रौतहट-१ मा चुनावी प्रतिस्पर्धामा छन्।

रास्वपाका नेता तथा निवर्तमान सांसद हरि ढकाल चितवन-१ बाट पुनः उम्मेदवार बनेका छन्। उनी पनि विभिन्न व्यवसायमा संलग्न छन्। 

मुक्तिनाथ विकास बैंकका पूर्व सञ्चालक तथा पूर्व सीईओ भरतराज ढकाल कांग्रेसका तर्फबाट स्याङ्जा-१ मा उम्मेदवार छन्।

रास्वपाले ऊर्जा व्यवसायी भरतप्रसाद पराजुलीलाई सिन्धुपाल्चोक-१ बाट उम्मेदवार बनाएको छ।

पर्यटन व्यवसायी तथा टानका पूर्वअध्यक्ष रमेश धमला धादिङ-२ बाट कांग्रेस उम्मेदवार बनेका छन्।

धादिङ-१ मा पर्यटन व्यवसायी कृष्ण रिजाल उम्मेदवार छन् भने रसुवाबाट निर्माण व्यवसायी मोहन आचार्य कांग्रेसका तर्फबाट मैदानमा उत्रिएका छन्। उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

दाङ-३ मा कांग्रेस उम्मेदवार दीपक गिरी व्यवसायी तथा निवर्तमान सांसद हुन्।

पर्सा-४ मा कांग्रेस उम्मेदवार बनेका अनिल रुंगटा विभिन्न इन्भेस्टमेन्ट, बीमा र औद्योगिक कम्पनीमा संलग्न व्यवसायी हुन्।

गोरखा-१ मा पर्यटन तथा घरजग्गा व्यवसायी प्रेम खत्री उम्मेदवार बनेका छन्। यस्तै मनाङमा कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ र मुस्ताङमा पर्यटन व्यवसायी योगेश गौचन थकाली पनि चुनावी प्रतिस्पर्धामा छन्।

बारा-४ मा उम्मेदवार बनेका कृष्णकुमार (किसान) श्रेष्ठ सिमरामा होटल, अपार्टमेन्ट, निर्माण सामग्री र ऊर्जा क्षेत्रमा लगानी गर्दै आएका व्यवसायी हुन्। झापा-४ मा एमाले उम्मेदवार लालप्रसाद लिम्बु (एलपी साँवा) वैदेशिक रोजगार, ऊर्जा र इन्भेस्टमेन्ट कम्पनीमा संलग्न छन्।

नवलपुर-१ मा पर्यटन व्यवसायी भगीरथ सापकोटा उम्मेदवार छन्। यस्तै गोरखा-२ मा एमाले उम्मेदवार मिलन गुरुङ घरजग्गा र मनोरञ्जन व्यवसायमा आबद्ध छन्।

धादिङ-१ मा सहकारी सञ्चालक राजेन्द्रप्रसाद पाण्डे उम्मेदवार बनेका छन्। काठमाडौं-८ मा उम्मेदवार बनेका सुमन साय्मी कालीमाटीस्थित ‘स्विटकेभ’ होटलका सञ्चालक हुन्।

यस्तै बारा-३ मा रास्वपाका उम्मेदवार अरविन्द साह डिजिटल भुक्तानी सेवा ‘खल्ती’ का सहसंस्थापक हुन्।

कैलाली क्षेत्र नम्बर २ मा यातायात व्यवसायी विजय स्वाँर पनि उम्मेद्‍वार बनेका छन्। 

यसपटकको प्रतिनिधिसभा निर्वाचनमा व्यावसायिक पृष्ठभूमिका उम्मेदवारहरूको उल्लेखनीय उपस्थितिले संसदमा निजी क्षेत्र, लगानी, रोजगारी, उद्यमशीलता र आर्थिक नीतिसम्बन्धी बहस थप सशक्त हुने अपेक्षा गरिएको छ।

आर्थिक पुनरुत्थान र विकास मुख्य चुनौती बनेको वर्तमान अवस्थामा यस्ता उम्मेदवारहरूको भूमिका निर्णायक हुन सक्ने राजनीतिक विश्लेषकहरूको आँकलन छ।

व्यावसायिक पृष्ठभूमिका उम्मेदवारहरू

विनोद चौधरी - चौधरी ग्रूप, नेपाली कांग्रेस (नवलपरासी पश्चिम-१)

सुनीलकुमार शर्मा - मेडिकल व्यवसायी, नेपाली कांग्रेस (मोरङ-३)

डोलप्रसाद (डीपी) अर्याल - म्यानपावर/पर्यटन/बहुआयामिक व्यवसाय, राष्ट्रिय स्वतन्त्र पार्टी (काठमाडौं-९)

वीरेन्द्रकुमार महतो - बैंकिङ, जलविद्युत् र शिक्षा क्षेत्र, जनमत पार्टी (सिराहा-४)

वीरेन्द्रकुमार कनौडिया - लुम्बिनी सुगर मिल्स, नेकपा एमाले (कपिलवस्तु-३)

असीममान सिंह बस्न्यात - पठाओ (राइड सेयरिङ), स्वतन्त्र (काठमाडौं-१)

धनञ्जय रेग्मी - पर्यटन व्यवसायी, राष्ट्रिय स्वतन्त्र पार्टी (स्याङ्जा-१)

तिलक रानाभाट - म्यानपावर व्यवसायी, नेपाली कांग्रेस (कास्की-१)

भरतराज ढकाल - पूर्व बैंक सञ्चालक, नेपाली कांग्रेस (स्याङ्जा-१)

भरतप्रसाद पराजुली - ऊर्जा उत्पादक, राष्ट्रिय स्वतन्त्र पार्टी (सिन्धुपाल्चोक-१)

रमेश धमला - पर्यटन व्यवसायी, नेपाली कांग्रेस (धादिङ-२)

कृष्ण रिजाल - पर्यटन व्यवसायी, नेपाली कांग्रेस (धादिङ-१)

मोहन आचार्य - निर्माण व्यवसायी, नेपाली कांग्रेस (रसुवा)

प्रेम खत्री - घरजग्गा तथा पर्यटन व्यवसायी, नेपाली कांग्रेस (गोरखा-१)

योगेश गौचन थकाली - पर्यटन व्यवसायी, नेपाली कांग्रेस (मुस्ताङ)

टेकबहादुर गुरुङ - व्यवसायी, नेपाली कांग्रेस (मनाङ)

अनिल रुंगटा - उद्योग तथा इन्भेस्टमेन्ट व्यवसाय, नेपाली कांग्रेस (पर्सा-४)

दीपक गिरी - व्यवसायी, नेपाली कांग्रेस (दाङ-३)

कृष्णकुमार (किसान) श्रेष्ठ - उद्योग, होटल र ऊर्जा व्यवसाय, नेकपा एमाले (बारा-४)

लालप्रसाद लिम्बु (एलपी साँवा) - म्यानपावर तथा इन्भेस्टमेन्ट, नेकपा एमाले (झापा-४)

भगीरथ सापकोटा - पर्यटन तथा ट्राभल व्यवसाय, नेकपा एमाले (नवलपुर-१)

मिलन गुरुङ - घरजग्गा तथा मनोरञ्जन व्यवसाय, नेकपा एमाले (गोरखा-२)

अरविन्द साह - डिजिटल भुक्तानी सेवा ‘खल्ती’ का सह-संस्थापक, राष्ट्रिय स्वतन्त्र पार्टी (बारा-३)

सुमन साय्मी - होटल तथा खाद्य व्यवसाय, नेकपा (काठमाडौं-८)

राजेन्द्रप्रसाद पाण्डे - सहकारी सञ्चालक, स्वतन्त्र/दलसम्बद्ध (धादिङ-१)

चुन्नप्रसाद शर्मा - यशोदा फुड्स, नेपाली कांग्रेस (रुपन्देही-२)

अशोक टेमानी - व्यवसायी (पर्सा-२)

विजय स्वाँर - यातायात व्यवसायी (कैलाली-२)


प्रकाशित : बुधबार, माघ ७ २०८२११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend