बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रमोटरको पकड कायमै, लाभांश र नियामकीय दबाबले बैंकका सेयरधनी पलायनतर्फ

३ अर्ब ७३ करोड कित्ता सेयरमध्ये ५५ प्रतिशत प्रमोटरकै हातमा

शुक्रबार, माघ २ २०८२
प्रमोटरको पकड कायमै, लाभांश र नियामकीय दबाबले बैंकका सेयरधनी पलायनतर्फ

संस्थागतरुपमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष मुख्य प्रमोटर लगानीकर्ता छन्। व्यक्तिगत रुपमा खासै आकर्षण नभए पनि कोषहरूलाई भने सुरक्षित लगानीको बाटो बन्दै आएको छ।

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकहरूमा प्रमोटर समूहको स्वामित्व धेरै छ। १९ वटा वाणिज्य बैंकको उपलब्ध तथ्यांक हेर्दा कुल ३ अर्ब ७३ करोड ६५ लाख ८१ हजार ५१ कित्ता सेयरमध्ये ५५ प्रतिशतभन्दा बढी प्रमोटर समूहको नियन्त्रणमा रहेको  छ।

वाणिज्य बैंकहरूमा प्रमोटर र पब्लिक सेयरको संरचना हेर्दा नेपालको बैंकिङ क्षेत्र अझै पनि प्रमोटरकेन्द्रित मोडेलमै अडिएको देखिन्छ। तर पछिल्लो समय प्रमोटर सेयर लगानीकर्ताहरू पनि जतिसक्दो छिटो बिक्री गरेर बाहिरिन चाहन्छन्।

वाणिज्य बैंकहरूले लगातार लाभांश दिन नसक्नुको साथै सञ्चालक बस्नेहरूको हालिमुहालीका कारणले पनि पछिल्ला वर्षहरूमा प्रमोटर सेयर लगानीकर्ताहरू बाहिरिन प्रयत्न गरेको देखिन्छ।

पछिल्ला वर्षहरूमा प्रमोटर सेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकहरूमा निश्चित अवधीमा फुकुवा गरेर साधारण लगानीकर्तासरह कारोबार गर्न पाउनुपर्ने माग गरिरहेका छन् तर संस्थागत जोखिम बढ्ने भन्दै अस्वीकार हुँदै आएको छ। यसका लागि बहस जारी भएपनि नीतिरुपमा व्यवस्थामा गर्न राष्ट्र बैंक अनिच्छुक रहेको छ।

बैंकहरूमा भने अहिले पनि प्रमोटर सेयरकै दबदबा रहेको छ। जसमा संस्थागतरुपमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष मुख्य प्रमोटर लगानीकर्ता छन्। व्यक्तिगत रुपमा खासै आकर्षण नभए पनि कोषहरूलाई भने सुरक्षित लगानीको बाटो बन्दै आएको छ।

तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा प्रमोटर सेयर २ अर्ब ५ करोड ६१ लाख ७३ हजार ५ सय ६६ कित्ता पुगेको छ। यो कुल सूचीकृत सेयरको करिब ५५.०१ प्रतिशत हो। बाँकी १ अर्ब ६८ करोड ४ लाख ७ हजार ४८५ कित्ता अर्थात् ४४.९९ प्रतिशत सेयर सर्वसाधारण (पब्लिक) का नाममा रहेको छ।

हिमालयन बैंक, नेपाल एसबीआई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा प्रमोटर स्वामित्व ७० प्रतिशतभन्दा माथि छ। हिमालयन बैंकमा ७० प्रतिशत, नेपाल एसबीआई बैंकमा ७०.३६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ७०.२१ प्रतिशत सेयर प्रमोटर समूहकै नियन्त्रणमा रहेको छ। यी बैंकहरूमा पब्लिक सेयरको हिस्सा तुलनात्मक रूपमा सीमित देखिन्छ।

त्यस्तै नबिल बैंक, एभरेस्ट बैंक र एनआईएमबीमा पनि प्रमोटर स्वामित्व ५८ देखि ६१ प्रतिशतको हाराहारीमा रहेको छ, जसले रणनीतिक निर्णयमा प्रमोटरको निर्णायक प्रभाव कायमै रहेको संकेत गर्छ।

धेरैजसो बैंकमा ५१ प्रतिशत प्रमोटर र ४९ प्रतिशत पब्लिक भन्ने संरचना यथावत् देखिन्छ। ग्लोबल आइएमई बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, नेपाल बैंक, एनआइसी एशिया बैंक, सिटिजन्स बैंक, एडीबीएल, सानिमा बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकमा यही संरचना लागू छ।

वाणिज्य बैंकमा प्रमोटर-पब्लिक सेयर संरचना, कुन बैंकमा कति सेयर?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकहरूको सेयर संरचना हेर्दा प्रमोटर र पब्लिक सेयरको हिस्सा बैंकअनुसार फरक-फरक देखिएको छ। उपलब्ध तथ्यांकअनुसार अधिकांश बैंकमा ५१ प्रतिशत प्रमोटर र ४९ प्रतिशत पब्लिक सेयरको संरचना कायम छ भने केही बैंकमा प्रमोटर स्वामित्व ६० देखि ७० प्रतिशतसम्म पुगेको छ।

ग्लोबल आइएमई बैंकमा कुल ३८ करोड ११ लाख ५८ हजार ५२८ कित्ता सेयर सूचीकृत छन्। यसमध्ये १९ करोड ५३ लाख ५ हजार ६ सय ३० कित्ता (५१.२४ प्रतिशत) प्रमोटरको नाममा छन् भने १८ करोड ५८ लाख ५२ हजार ८ सय ९८ कित्ता (४८.७६ प्रतिशत) पब्लिक सेयर रहेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल सूचीकृत सेयर ३४ करोड १२ लाख ८५ हजार ९ सय ४९ कित्ता पुगेको छ। यहाँ प्रमोटर समूहको स्वामित्व २० करोड ७५ लाख ३४ हजार १०७ कित्ता (६०.८१ प्रतिशत) रहेको छ भने पब्लिक सेयर १३ करोड ३७ लाख ५१ हजार ८ सय ४२ कित्ता (३९.१९ प्रतिशत) छ।

नबिल बैंकमा कुल २७ करोड ५ लाख ६९ हजार ९ सय ८४ कित्ता सेयर छन्। प्रमोटर सेयर १५ करोड ८१ लाख २१ हजार ९९ कित्ता (५८.४४ प्रतिशत) र पब्लिक सेयर ११ करोड २४ लाख ४८ हजार ८ सय ८५ कित्ता (४१.५६ प्रतिशत) रहेको छ।

कुमारी बैंकको कुल सेयर संख्या २६ करोड २२ लाख ५८ हजार ६ सय १३ कित्ता छ। यसमध्ये १३ करोड ४० लाख ५३ हजार ३ सय २१ कित्ता (५१ प्रतिशत) प्रमोटर र १२ करोड ८२ लाख ५ हजार २ सय ९२ कित्ता (४९ प्रतिशत) पब्लिक सेयर छन्।

लक्ष्मी सनराइज बैंकमा कुल २६ करोड ७८ लाख ११ हजार ६ सय ३५ कित्ता सेयर सूचीकृत छन्। प्रमोटर समूहसँग १३ करोड ६७ लाख १७ हजार ८४० कित्ता (५१.०५ प्रतिशत) र पब्लिकसँग १३ करोड १० लाख ९३ हजार ७ सय ९६ कित्ता (४८.९५ प्रतिशत) सेयर छ।

प्रभु बैंकको कुल सेयर २३ करोड ५४ लाख २४ हजार ८ सय ९९ कित्ता पुगेको छ। यसमा १२ करोड ६ लाख ६६ हजार ६ सय ९९ कित्ता (५१ प्रतिशत) प्रमोटर र ११ करोड ५३ लाख ५८ हजार २ सय कित्ता (४९ प्रतिशत) पब्लिक सेयर रहेको छ।

हिमालयन बैंकमा कुल २२ करोड ५८ लाख १६ हजार ६ सय २७ कित्ता सेयरमध्ये १५ करोड ८० लाख ७१ हजार ६ सय ३९ कित्ता (७० प्रतिशत) प्रमोटरको नियन्त्रणमा छन्। पब्लिक सेयर भने ६ करोड ७७ लाख ४४ हजार ९ सय ८८ कित्ता (३० प्रतिशत) मात्रै रहेको छ।

प्राइम बैंकको कुल सूचीकृत सेयर २० करोड ९५ लाख ४७ हजार ८ सय २० कित्ता छ। प्रमोटर सेयर १० करोड ६८ लाख ६९ हजार ३ सय ८८ कित्ता (५१ प्रतिशत) र पब्लिक सेयर १० करोड २६ लाख ७८ हजार ४ सय ३२ कित्ता (४९ प्रतिशत) छ।

एनएमबी बैंकमा कुल १९ करोड २८ लाख ५० हजार ४ सय १३ कित्ता सेयर सूचीकृत छन्। प्रमोटर ९ करोड ८३ लाख ५३ हजार ७ सय ११ कित्ता (५१ प्रतिशत) र पब्लिक ९ करोड ४४ लाख ९६ हजार ७ सय २ कित्ता (४९ प्रतिशत) छन्।

नेपाल बैंकको कुल सेयर १४ करोड ६९ लाख ४० हजार २३० कित्ता पुगेको छ। यसमध्ये प्रमोटर ७ करोड ४९ लाख ३९ हजार ५ सय १८ कित्ता (५१ प्रतिशत) र पब्लिक ७ करोड २० लाख ७ सय १२ कित्ता (४९ प्रतिशत) छ।

एनआइसी एशिया बैंकमा कुल १४ करोड ९१ लाख ७५ हजार ६ सय ७० कित्ता सेयर सूचीकृत छन्। प्रमोटर सेयर ७ करोड ६० लाख ७९ हजार ५ सय ९१ कित्ता (५१ प्रतिशत) र पब्लिक सेयर ७ करोड ३० लाख ९६ हजार ७९ कित्ता (४९ प्रतिशत) रहेको छ।

सिटिजन्स बैंकको कुल सेयर १५ करोड ५० लाख ७४ हजार ६ सय ३८ कित्ता छ। प्रमोटर ७ करोड ९२ लाख १२ हजार १ सय २५ कित्ता (५१.०८ प्रतिशत) र पब्लिक ७ करोड ५८ लाख ६२ हजार ५ सय १३ कित्ता (४८.९२ प्रतिशत) छन्।

कृषि विकास बैंक (एडीबीएल) मा कुल १४ करोड ३० लाख ५५ हजार १ सय ९२ कित्ता सेयर छन्। प्रमोटर ७ करोड २९ लाख ५८ हजार १ सय ४८ कित्ता (५१ प्रतिशत) र पब्लिक ७ करोड ९ हजार ७ सय ४४ कित्ता (४९ प्रतिशत) रहेको छ।

सानिमा बैंकको कुल सूचीकृत सेयर १३ करोड ५८ लाख १५ हजार २ सय ५६ कित्ता पुगेको छ। यसमा प्रमोटर ६ करोड ९२ लाख ६५ हजार ७ सय ८१ कित्ता (५१ प्रतिशत) र पब्लिक ६ करोड ६५ लाख ४९ हजार ४ सय ७५ कित्ता (४९ प्रतिशत) छन्।

एभरेस्ट बैंकमा कुल १३ करोड ७२ लाख १३ हजार ७ सय ६० कित्ता सेयर सूचीकृत छन्। प्रमोटर सेयर ८ करोड १२ लाख ७१ हजार ७ सय १० कित्ता (५९.२३ प्रतिशत) र पब्लिक सेयर ५ करोड ५९ लाख ४२ हजार ५० कित्ता (४०.७७ प्रतिशत) रहेको छ।

माछापुच्छ्रे बैंकको कुल सेयर १२ करोड ८ लाख ६२ हजार १ सय १६ कित्ता पुगेको छ। प्रमोटर ६ करोड १६ लाख ३९ हजार ६ सय ७९ कित्ता (५१ प्रतिशत) र पब्लिक ५ करोड ९२ लाख २२ हजार ४ सय ३७ कित्ता (४९ प्रतिशत) छन्।

नेपाल एसबीआई बैंकमा कुल ११ करोड ३३ लाख ५१ हजार २ सय ४४ कित्ता सेयर सूचीकृत छन्। यसमध्ये ७ करोड ९७ लाख ५३ हजार ९ सय ३५ कित्ता (७०.३६ प्रतिशत) प्रमोटर र ३ करोड ३५ लाख ९७ हजार ३ सय ९ कित्ता (२९.६४ प्रतिशत) पब्लिक सेयर छन्।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको कुल सेयर संख्या १० करोड ४ लाख २३ हजार ६ सय ८४ कित्ता पुगेको छ। प्रमोटर समूहसँग ७ करोड ५ लाख ७ हजार ८ सय १ कित्ता (७०.२१ प्रतिशत) र पब्लिकसँग २ करोड ९९ लाख १५ हजार ८ सय ८३ कित्ता (२९.७९ प्रतिशत) सेयर छ।

सिद्धार्थ बैंकमा कुल १४ करोड ७९ लाख ४४ हजार ७ सय ९२ कित्ता सेयर सूचीकृत छन्। प्रमोटर सेयर ७ करोड ५४ लाख ५१ हजार ८ सय ४४ कित्ता (५१ प्रतिशत) र पब्लिक सेयर ७ करोड २४ लाख ९२ हजार ९ सय ४८ कित्ता (४९ प्रतिशत) रहेको छ।


प्रकाशित : शुक्रबार, माघ २ २०८२१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend