काठमाडौं- वस्तुको निर्यातबाट मुलुकको वैदेशिक व्यापारलाई सन्तुलित बनाउने तथा रोजगारी सिर्जनामा छलाङ हान्ने सपना करिब असफल भइसकेको छ। सरकारले आधिकारीक रुपमा घोषणा गर्न र बोल्नमात्र बाँकी रहेको यो एउटा आकर्षक भाषणको शीर्षक आजभोलि हराउँदै गएको छ।
विगत पाँच दशकको प्रयासबाट कुनै पनि वस्तुको उत्पादन र त्यसको वैदेशिक बजार खोज्ने र त्यसलाई निरन्तरता दिन मुलुक असफल भएको छ। सरकार र निजी क्षेत्रको प्रयास यसमा असफल भएपनि रेमिट्यान्सको सुविधाजनक टेकोले त्यसको प्रभाव देखिन दिएको छैन।
रेमिट्यान्समाथिको निर्भरताको स्तर बढ्दै गएपछि त्यसको विकल्पको खोजीका लागि भन्दै गैरसरकारी पहल र अग्रसरतामा सेवाको निर्यात अवसर भएको भन्न थालिएको छ।
केही समय पहिले आईआईडीएसले गरेको एउटा अध्ययनले आजकै मितिमा पनि पर्यटनभन्दा धेरै विदेशी मुद्राको आर्जन सूचना प्रविधिबाट भइरहेको तथ्यांक निकालेको थियो। उक्त अध्ययनबाट हौसिएको सरकारले पनि सेवामा आधारित उद्यम र त्यसको निर्यातबाट रोजगारीसँगै विदेशी मुद्राको आर्जन गर्न सकिने भनेर बजेटदेखि अन्य घोषणामा समावेश गर्न थालेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको समयमा ल्याइएको बजेटमा त दशकपछि वर्षमा खर्बौँको निर्यात र लाखौँ रोजगारी सिर्जनाको लक्ष्यसमेत राखिएको थियो।
ज्ञानमा आधारित उद्यमशीलता र जनसंख्यालाई मानवपुँजीमा रुपान्तरण गर्ने यो अभियानको वास्तविकता के छ? ज्ञानको विकास गर्ने शिक्षा र सिकाइको स्तर के सपना देखाइएको जस्तो छ?
पक्कै पनि त्यस्तो छैन। नेपाल सरकारकै एउटा निकायले विगत दशकदेखि एउटा अध्ययन गरिरहेको छ कि हाम्रो सिकाइको स्तर कस्तो छ भनेर। शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको यस्तो अनुसन्धानमा सिकाइको स्तर निकै कमजोर पाइएको छ। सामान्य जोड घटाउन, भाग र गुणनका समस्या समाधानमा पनि विद्यार्थीहरूलाई सकस देखिएको उक्त अध्ययन केन्द्रको अनुसन्धानले देखाएको छ।
७० प्रतिशतभन्दा धेरै विद्यार्थीले अध्ययन गर्ने सामुदायिक विद्यालयमा सिकाइको संकट झन् ठूलो रहेको बताउँछन् अध्येयता डा. उत्तम शर्मा।
आईआईडीएसले काठमाडौंमा आयोजना गरेको पोलिसि कन्क्लेभमा बोल्दै शर्माले यस्तो कुरा बताएका हुन्। 'नेपाली भाषा नै बोल्ने परिवारका तीन कक्षामा पढ्नेले राम्रोसँग नेपाली शब्द उच्चारण गर्न सक्दैन। पाँच कक्षामा पढ्ने ३२ प्रतिशतले जोड घटाउ जस्ता हिसाबको समाधान गर्न नसक्ने अवस्था छ। नौ कक्षाका २१ प्रतिशतले समान्य भाग गर्न नसक्ने पाइएको छ। यो कुरा सरकारकै अध्ययनले देखाएको छ’ उनी भन्छन्।
सिकाइमा ठूलो संकट गहिरिँदै गएको उनको भनाइ छ। विश्व एआईको दौडमा लागिरहेको समयमा त्यही एआईका लागि आधारभूत मानिएकै गणितको सिकाइमा झन् ठूलो संकट देखिएको छ। अवस्था यस्तोसम्म छ कि सामुदायिक विद्यालयले गणित पढाउने शिक्षक नै नपाउने अवस्था छ। योग्य शिक्षक त टाढाको कुरा, एउटा शिक्षकका लागि दर्जनौँपटक विज्ञापन गर्दा पनि पाएका छैनन्।

वस्तु निर्यातको सम्भावना करिब सकिएपछि भाररहित अर्थतन्त्रको निर्माण गर्नैपर्ने र लाभ पनि त्यसमा रहेकोमा कुनै दुईमत नभएपनि सिकाइको प्रणालीगत संकटका कारणले कठिन देखिएको शर्माको भनाइ छ।
‘बुझाइभन्दा कण्ठ गर्ने प्रणालीको बाहुल्यता छ। सबै विद्यार्थीलाई आलोचनात्मक सोच, सीर्जनशीलता जस्ता कुरामा पोख्त बनाउँदै जानुपर्छ। जुन कुरा हाम्रोमा झन खस्किँदै गएको छ’ शर्मा भन्छन्,’ नेपाललाई न्यून दक्ष श्रमिक निर्यातबाट ज्ञान पुँजी निर्यात गर्ने राष्ट्रमा उभ्याउन, ४ प्रतिशतको न्यून वृद्धिदरको पासोबाट उकास्नका लागि यसमा सुधार गर्नैपर्छ।’
न्यून आर्थिक वृद्धिदरको निरन्तरता, कमसल सार्वजनिक सेवा र कुशासनबाट आजित भएका जनतामा अहिले दिगो र समावेसी विकास सबैलाई चाहिएको छ। यसकै खोजीमा रहेका युवाहरूले गएको भदौ २३ र २४ गतेको विद्रोहबाट देखाइसकेका छन्। तर यो विकासको ठूलो आकांक्षा पूरा गर्नका लागि सानोतिनो सुधारले सम्भव नहुने शर्माको भनाइ छ।
‘उकुसमुकुस, तनाब छ र त जनताले विकासको आकांक्षा राखेका छन्। तर यसमा खाडल भने छ। तर यसका लागि हामीसँग भएको डिजिटल नेटिभ जनसंख्या छ, यो जनसंख्यालाई सामुदायिक पुँजीका रुपमा विकास गर्नका लागि सिकाइमा एउटा क्रान्ति चाहिएको छ’ उनी भन्छन्।
विद्यालयहरूको सिकाइको गुणस्तरको मापन गर्ने निकाय शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक देवीराम आचार्य ज्ञानमा आधारित अर्थतन्त्रबाट लाभ लिने कुराको धरातल निकै कमजोर रहेको बताउँछन्। आईआईडीएसको कार्यक्रममा बोल्दै आचार्यले असम्भव नभए पनि कठिन रहेको बताए।
‘हाम्रोमा आजभोलि एउटा निकै खतरानाक बुझाइको विस्तार हुँदै गएको छ। विद्यालय शिक्षालाई बुझ्ने कुरामै समस्या देखिएको छ। सिकाई केही होइन, फेल भएर पनि केही हुँदैन जस्ता घातक सन्देशको प्रवाह झन धेरै भएको पाइन्छ। एउटा मान्छेलाई १० वर्ष पढाएपछि केही गरिखान सक्दैनौ भन्ने सन्देश दिनुजस्तो घातक के हुन्छ? कता कता यस्तै भइरहेको जस्तो देखिन्छ। यस्तो अवस्थामा धरातल कमजोर छ’ उनी भन्छन्।
भाषाभन्दा पनि अंकको निरक्षरता झन् डरलाग्दो भएको आचार्यको भनाइ छ। जुनसुकै परीक्षामा पनि नेपाली विद्यार्थी सबैभन्दा धेरै अनुत्तिर्ण हुने भनेको गणित नै रहेको छ। पहिलेको एसएलसीमा फेल हुने गणितमै धेरै थियो र अहिलेको एसईईमा ननग्रेड हुने पनि गणितमै रहेको छ। यतिमात्र होइन सिकाइको गुणस्तरमा समस्या एकातिर अर्कोतिर विभेद पनि रहेको आचार्यको भनाइ छ। गाउँ र सहर साथै सामुदायिक र निजीमा निकै ठूलो अन्तर रहेको छ।
नेपालमा सिकाइको संकटको पछाडिको मुख्य कारण उत्तरदायित्वको अभाव रहेको आचार्यको बुझाइ छ। यत्रो वर्षदेखि गणित शिक्षण र सिकाइमा खाडल हुँदा पनि कसैले जवाफ दिन नपर्ने, सिकाइको गुणस्तरमा निरन्तर प्रश्न उठ्दा पनि कसैले जवाफ दिन नपर्ने भएकाले यो समस्या झन् बढ्दै गएको उनको भनाइ छ।
