काठमाडौं- नेपालमा नाममात्रको उद्योग खडा गरेर सुपारी तस्करी भइरहेको देखिएको छ। कागजमा उद्योग राख्ने र आयात गरेर सम्बन्धित स्थानमा नपुर्याइ बीचमै पल्टी गरेर तस्करी गर्ने गरेको देखिएको हो।
पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका-२ स्थित बाइपास रोडबाट अवैध रूपमा लोड-अनलोड भइरहेको ठूलो परिमाणको सुपारी बरामद गरेको हो। प्रहरीले ४ करोड ७७ लाख ४० हजार रुपैयाँबराबरको सुपारी यही पुस ३ गते नियन्त्रणमा लिएको हो।
सुपारी आयात गरेर प्रशोधन गर्ने भन्दै २०८१ असोज १३ गते महोत्तरी बर्दिबास ठेगाना राखेर 'ओम साई प्रोडक्ट प्रालि' उद्योगमा दर्ता भएको थियो। तर उद्योग भनिएको उक्त संरचना हेर्दा बाख्रापालनसमेत गर्न नमिल्ने अवस्था देखिन्छ।
उद्योग विभागले उद्योग भए-नभएको र प्रशोधन गर्न सक्ने अवस्था छ छैन भन्ने यकिन नगरी निरीक्षणबिना दर्ता गरिदिएको देखिन्छ। जसमा आर्थिक चलखेल भएको आशंका उब्जिएको छ।
साथै सुपारी आयातका लागि उद्योग विभागबाट वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सिफारिस जान्छ। विभागका तत्कालीन महानिर्देशक कुमार दाहालले २०८२ जेठको पहिलो साता ५४ हजार किलो सुपारी आयातका लागि अनुमति दिन्छन्।
छ महिनाभित्र सुपारी आयात गर्नका लागि पाएको अनुमतिअनुसार समय सकिनु केही दिन अगाडिमात्रै सुपारी वीरगञ्ज भन्सार नाकाबाट पास भएको हो। तर वीरगञ्ज नाकाबाट पास भएर उद्योग भएको ठाउँमा जानुपर्ने सुपारी बीचबाट नै भारत पठाउन लागिएको आशंकामा प्रहरीले रोकिदियो।
वीरगञ्ज नाकाबाट पास भएको तीन किलोमिटरकै दुरीमा ट्रक रोकेर शिल तोडी अर्को ट्रकमा सार्ने काम भइरहँदा प्रहरीले रोकेको हो। त्यस्ता दुईवटा ट्रकमध्ये एउटा ट्रकमा रहेको ४ सय ५० बोरा सुपारीमध्ये ७० बोरा झारिसकिएको थियो। त्यहीँ पहिले नै झारिएको ९ सय ५० बोरा सुपारीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। १९ सय बोरा सुपारीसहित प्रहरीले राजस्व अनुसन्धान कार्यालय पथलैयामा ट्रक जिम्मा लगाएको छ।
'कागजात हेर्दा वीरगञ्ज भन्सारबाट पास भएर महोत्तरीमा पुग्ने भनेर लेखिएको छ। भन्सारमा शिल्ड भएपछि अन्तिम गन्तव्यमा गएर खोल्नुपर्नेमा दुई ट्रकमध्ये एउटा ट्रक खोलेर सुपारी निकालेको सूचनापछि हामी हेरेका हौँ। भित्र गोदाममा हेर्दा पनि ९ सय बोरा राखिएको देखिन्छ। त्यसैले यो सबै अनुसन्धानको प्रक्रियामा जान्छ' पर्सा जिल्ला प्रहरी प्रमुख सुदिपराज पाठकले भने।
भन्सारबाट पास भएको सुपारी बोकेको ट्रक कानूनत: उद्योग परिसरमा पुगेपछि मात्रै शिल तोड्नु पर्छ। प्रशोधन उद्योग कागजमा मात्रै रहेका कारण तस्करीका लागि बीचबाटोमा नै सुपारी पल्टी गरिएको शंकासहित अहिले राजस्व अनुसन्धान विभागले छानबीन गरिरहेको छ।
मलेसियाबाट आयात गरिएको र वीरगञ्ज भन्सारबाट मापदण्डअनुरुप राजस्व दाखिला गरी आयात भएको सुपारीलाई अवैध भनिएको भन्दै उद्योगीले गुनासो गरिरहेका छन्। तर नाममात्रको उद्योग दर्ता गरेर भनिएको ठाउँसम्म आयात भएको सुपारी लगिएको छैन। सुपारी झारिएको स्थानमा गोदाम दर्तासमेत रहेको देखिँदैन।
विभागको प्रारम्भिक अनुसन्धानबाट सुपारी तस्करले डमी व्यक्ति खडा गरे उद्योग दर्ता गरेकोसमेत देखिएको छ। स्रोतका अनुसार सुपारी सौर्य एयरलाइन्सका मालिक दीपक पोखरेलको भएको भन्दै अनुसन्धान त्यसतर्फ सोझिएको छ। उक्त नाममात्रको उद्योग भने युवराज पराजुलीको नाममा दर्ता भएको देखिन्छ।
सुपारी झारिएको ठाउँमा रहेको गोदाम काठमाडौंका निशान्त लुनावट जैनको नाममा रहेको देखिएको छ। प्रहरी स्रोतका अनुसार जैन सुपारीजस्ता वस्तुको अवैध कारोबारमा संलग्न रहेको पुरानो रेकर्डसमेत छ।
व्यवसायीहरूका अनुसार नेपालमा बर्सेनि ३७ हजार मेट्रिकटनको हाराहारीमा सुपारी खपत हुन्छ। नेपालमा वार्षिक १३ हजार मेट्रिकटन हारीहारीमामात्र उत्पादन हुन्छ।
आर्थिक वर्ष २०८१/८२ मा नेपालमा १ अर्ब ४ करोड ४२ लाख ७१ हजार रुपैयाँको ६७ लाख किलो सुपारी आयात भएको थियो। त्यस्तै २०७९/८० मा १ अर्ब ४९ करोड रुपैयाँको आयात भएको थियो। २०८२/८३ को पाँच महिनामा ६१ करोड रुपैयाँको सुपारी आयात भएको तथ्यांक देखिन्छ।
तेस्रो मुलुकबाट सेटिङमा नेपाल आयात हुने सुपारी भारततर्फ नै निकासी हुने गरेको छ। कागजात वैध देखिए पनि सुपारीलाई गन्तव्यमा नपठाइ गोदाममा राख्ने र अवैध रूपमा भारत पठाउने काम भइरहेका हुन्छन्। बेलाबेला कतिपय राजस्व छली तथा यस्ता तस्करीको जालो उजागर भइरहेको छ।
