काठमाडौं- खुकुरी रम उत्पादक कम्पनी 'दि नेपाल डिष्टिलरीज' प्रालिले तीन आर्थिक वर्षमा ६० करोड ८४ लाख २ हजार ३ सय २७ रुपैयाँ करछली गरेको पुष्टि भएको छ।
व्यवसायी बसन्त चौधरी र शरदकुमार टिवडेवालासहितको हिस्सेदारी रहेको 'दि नेपाल डिष्टिलरीज'ले आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६ र २०७६/७७ मा भ्याट, अन्त:शुल्क, आयकर र अग्रिम करकट्टीसमेतका शीर्षकमा करछली गरेको देखिएको हो।
आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयले 'दि नेपाल डिष्टिलरीज'ले थप कर तिर्नुपर्ने गरी कर निर्धारण गरेको थियो। कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा अन्त:शुल्क शीर्षकमा २८ लाख ५८ हजार ५ सय १८ रुपैयाँ र मूल्य अभिवृद्धिकर (भ्याट) मा २ करोड ८९ लाख १८ हजार ६ सय १२ रुपैयाँ थप कर निर्धारण गरेको थियो।
ठूला करदाता कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा मूल्य अभिवृद्धिकर शीर्षकमा १ करोड ४७ लाख ४६ हजार १ सय ९७ रुपैयाँ र आयकर शीर्षकमा ८ करोड ३४ लाख १० हजार ५ सय ६९ रुपैयाँ निर्धारण गरेको छ।
कार्यालयले आर्थिक वर्ष २०७४/७५ मूल्य अभिवृद्धिकर शीर्षकमा ५ करोड ९२ लाख ४७ हजार ९ सय ९०, आयकर शीर्षकमा ४१ करोड ९१ लाख ९३ हजार २ सय ३३ रुपैयाँ र आयकर अग्रिम कर कट्टी शीर्षकमा २७ हजार २ सय ८ रुपैयाँ थप कर तिर्नु पर्ने भनि कर निर्धारण गरेको थियो।
'दि नेपाल डिष्टिलरीज'ले कर कार्यालयको कर निर्धारणमा चित्त नबुझाउँदै आन्तरिक राजस्व विभागअन्तर्गतको प्रशासकीय पुनरावलोकनमा गएको थियो। तर प्रशासकीय पुनरावलोकनबाट पनि कर कार्यालयले गरेको कर निर्धारणलाई नै सदर गरिएको थियो।
प्रशासकीय निर्णयमा चित्त नबुझाउँदै 'दि नेपाल डिष्टिलरीज'ले २०८१ असार २३ गते राजस्व न्यायाधिकरणमा रिट दायर गरेको थियो। रिट दायर भएको १८ महिनापछि राजस्व न्यायाधिकरणको संयुक्त इजालसबाट कम्पनीले दायर गरेको रिटमा ठूला करदाता कार्यालयलबाट निर्धारण भएको र प्रशासकीय पुनरावलोकनको निर्णयलाई नै सदर गरेको हो। उक्त फैसला न्यायाधिकरण कार्यालयका अध्यक्ष ब्रजेश प्याकुरेल र राजस्व सदस्य हरिप्रसाद तिमिल्सिनाले गरेका हुन्।
'दि नेपाल डिष्टिलरीज'का निर्देशक सुभाष लामिछानेले करमा यी सामान्य विषय भएको बताए। ‘हामीले गरेको अडिटमा केही समस्या भएको भन्दै कर कार्यालयले निर्धारण गरेको पनि हुनसक्छ तर हामीले कैफियत नदेखेर मुद्दामा गएको हो,’ लामिछानिले भने। अब मुद्दाको प्रकृति हेरेरमात्रै नयाँ कदम चालिनेसमेत उनले बताए।
खुकुरी रम उत्पादक कम्पनी 'दि नेपाल डिष्टिलरीज' ६६ वर्ष पुरानो कम्पनी हो। यो कम्पनी २०७५ जेठमा १ अर्ब ६१ करोड रुपैयाँमा बिक्री भएको थियो। लामो समयसम्म भारतीय लगानीकर्ताको स्वामित्वमा रहेको कम्पनी बिक्री भएपछि यसको ८० प्रतिशत सेयर सिंगापुरमा बसोबास गर्ने शरदकुमार टिवडेवाला र २० प्रतिशत सेयर नर्भिक अस्पतालका सञ्चालक बसन्तकुमार चौधरीको लगानी समूहको हातमा पुगेको थियो।
सन् १९५९ मा जमसेदजी कन्ट्रयाक्टरले स्थापना गरेको दि नेपाल डिष्ट्रिलरीसँगै खुकुरी रमको इतिहास घनिष्टरुपमा जोडिएको छ। संस्थापक जमसेदजीले नेपालसँगै भुटान र सिक्किममा पनि डिष्ट्रिलरी स्थापना गरेका थिए।
बिक्री हुनुअघि कम्पनी भारतको पिडिके इम्पेक्सको स्वामित्वमा थियो। पिडिके इम्पेक्सको सेयर ५५ प्रतिशत पशुपति प्लानर्स र ४५ प्रतिशत एमसिकेटी होल्डिङले २०७५ माघ र जेठमा खरिद गरेको थियो। पशुपति प्लानर्सको स्वामित्व बसन्त चौधरीको बीएलसी होल्डिङ्स र शरदकुमार टिवडेवालाको संयुक्त स्वामित्वमा रहेको थियो भने एमसिकेटी होल्डिङ टिवडेवालाको पूर्ण स्वामित्वमा थियो।
दुवै कम्पनीले प्रतिकित्ता २८ हजार ३ सय २९ रुपैयाँ ११ पैसामा सेयर खरिद गरेका थिए। यसरी तत्कालीन समयमा ५५ प्रतिशत सेयर ८९ करोड ३ लाख रुपैयाँमा र ४५ प्रतिशत सेयर ७१ करोड ९६ लाख रुपैयाँमा बिक्री भइ कुल कारोबार रकम १ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो।
लामो समयको इतिहास बोकेको खुकुरी रम उत्पादक 'दि नेपाल डिष्टिलरीज'को व्यापार नेपालमा मात्रै नभएर विदेशमा समेत हुने गरेको छ।
