शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

विश्व बजारमा उच्च गिरावट आएसँगै नेपालमा पनि एकैदिन ११ हजार ६ सय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार, कात्तिक ९ २०८२
विश्व बजारमा उच्च गिरावट आएसँगै नेपालमा पनि एकैदिन ११ हजार ६ सय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार सुनको मूल्य तोलामा ११ हजार ६ सय रूपैयाँले घटेर प्रतितोला २ लाख ४१ हजार ९ सय रूपैयाँ कायम भएको छ।

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएसँगै नेपालमा पनि उच्चदरमा घटेको छ। आइतबार सुनको मूल्य तोलामा ११ हजार ६ सय रूपैयाँले घटेर प्रतितोला २ लाख ४१ हजार ९ सय रूपैयाँ कायम भएको छ।

तिहार बिदाअघि कात्तिक ३ गते सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रूपैयाँ थियो। त्यसअघि निरन्तर उकालो लागिरहेको सुनको मूल्य आइतबार भने ह्वात्तै घटेको हो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा हेरक दिनजसो घटिरहेको छ। गत शुक्रबार स्पट गोल्ड १.५ प्रतिशतले घटेर प्रति औँस ४ हजार ६३ डलरमा पुगेको छ। यस साता सुनको मूल्य ४.३ प्रतिशतले घटेको छ, जुन नोभेम्बर २०२४ यताकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट हो।

विश्व बजारमा सुनको मूल्य गत मंगलबार एकैदिन करिब ६.३ प्रतिशतले घट्दा यो १२ वर्षयताकै सबैभन्दा ठूलो दैनिक गिरावटको रूपमा दर्ज भएको थियो। निरन्तर रेकर्ड तोड्दै बढिरहेको सुनको मूल्य तिहारको मध्यमा आइपुग्दा ऐतिहासिक रूपमा घटेको हो।

विश्लेषकहरूले मूल्य घट्नका तीन प्रमुख कारणहरू उल्लेख गरेका छन्। पहिलो, अमेरिकी डलरमा पुनरुत्थानका संकेत देखिनु, दोस्रो, अमेरिका-चीनबीच व्यापारिक तनाव घट्ने सम्भावना र तेस्रो, लगानीकर्ताहरूले उच्च मूल्यबाट मुनाफा सुरक्षित गर्न थाल्नु।

यसअघि लगातार दुई महिनाभित्र सुनको मूल्य २५ प्रतिशतले वृद्धि भएको थियो। सुनको गिरावटलाई ‘ढिलो आएको तर अपरिहार्य सुधार’को रूपमा पनि व्याख्या गरिएको छ।

सुनसँगै अन्य बहुमूल्य धातुहरूको मूल्य पनि घटेको छ। अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले चीनसँग व्यापार सम्झौता नजिकिएको संकेत दिनु र विश्व बजारमा सरकारी ऋण नियन्त्रण तथा ब्याजदर वृद्धिको अपेक्षाले पनि सुनको माग घटाएको बताइएको छ।

गत केही महिनायता सुनको मूल्य बढ्नुमा विश्वका केन्द्रीय बैंकहरूको भूमिकासमेत महत्वपूर्ण रहेको छ। धेरै देशहरूले डलरको विकल्पका रूपमा सुन किनेर भण्डारण बढाएका छन्। सेप्टेम्बर महिनामा मात्र सुनमा आधारित एक्सचेन्ज-ट्रेडेड फन्डहरूमा २६ अर्ब डलरभन्दा बढी नयाँ लगानी आएको थियो।

ब्लुम्बर्गका अनुसार सुनको मूल्य घटे पनि यसलाई दीर्घकालीन नकारात्मक संकेतका रूपमा लिन मिल्दैन। विश्व अर्थतन्त्रमा मुद्रास्फीति र भू-राजनीतिक जोखिम यथावत् रहँदा सुनको माग दीर्घकालमा बलियो रहन सक्ने देखिन्छ।


प्रकाशित : आइतबार, कात्तिक ९ २०८२११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend