काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा मूल्य चुलिएसँगै नेपालमा पनि दिनहुँ रेकर्ड ब्रेक गर्दै निरन्तर वृद्धितर्फ लागिरहेको सुनको मूल्य अझै थामिएको छैन। निरन्तर उचाइतिरै लागिरहेको छ।
बिहीबार पनि उकालोतिरै लागेको सुनको मूल्य तोलाकै २ लाख ५० हजार ९ सय रूपैयाँ पुगेको छ। बिहीबार तोलामा २ हजार रूपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको हो।
यो साता बुधबार तोलामा चारसय रूपैयाँले बढेर सुन प्रतितोला २ लाख ४८ हजार ९ सय रूपैयाँ थियो।
निरन्तर बढेर यो साता बुधबार घटेको चाँदीको मूल्य पनि बिहीबार पुन: वृद्धितर्फै लागेको छ।
बिहीबार चाँदीको मूल्य तोलामा ३५ रूपैयाँले बढेर प्रतितोला ३ हजार २ सय ७५ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार चाँदी प्रतितोला ३ हजार २ सय ४० रूपैयाँमा कारोबार भएको थियो।


