काठमाडौं- लिपमोटर बीटेनको वास्तविक प्रदर्शन र दक्षता परीक्षण गर्न स्वतन्त्ररूपमा रेन्ज टेस्ट गरिएको छ। यस परीक्षणअन्तर्गत लिपमोटरको शोरुम उत्तरढोका (काठमाडौं) बाट यात्रा सुरु गरी पोखरा लेकसाइडसम्म पुगेर पुनः काठमाडौं फर्कने सम्पूर्ण यात्रा एकै दिन गरिएको हो।
करिब ४ सय ५० किलोमिटर दुरी तय गर्दै एकै चार्जमा सफलतापूर्वक काठमाडौं-पोखरा-काठमाडौंको यात्रा पूरा गरेको हो।
यो सफल परीक्षणले लिपमोटर बीटेनको उत्कृष्ट ऊर्जा दक्षता, अत्याधुनिक ब्याट्री प्रविधि, र नेपालको विविध सडक अवस्थाहरूमा पनि विश्वसनीय प्रदर्शन गर्ने क्षमतालाई स्पष्ट प्रमाणित गर्दछ।
यस उपलब्धिले लिपमोटरको दीर्घ-दुरीको यात्रामा व्यावहारिक रेन्ज, आराम र आत्मविश्वाससहित स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युग सुरु गर्ने प्रतिबद्धतालाई झल्काउने कम्पनीको भनाइ छ।
लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले बीटेनको सुरुवाती मूल्य ४९ लाख ९९ रूपैयाँ तोकेको छ भने टप भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रूपैयाँ कायम गरेको छ।
कम्पनीले दुई ब्याट्री अप्सनमा बीटेन ल्याएको कारण ब्याट्री क्षमताका आधारमा यसको मूल्य पनि फरक भएको कम्पनीको भनाइ छ। दुवै भर्सनमा मोटर पावर भने एउटै १ सय ६० किलोवाट क्षमताको छ।
बीटेनको पिकटर्क भने २ सय ४० एनएम रहेको छ। साथै रियर ह्वील ड्राइभ सिस्टम भएको कारण यसको पर्फमेन्स उच्च हुनेछ। बीटेन एसयूभीमा ५६.२ र ६७.१ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ। यी ब्याट्रीलाई ११ किलोवाटसम्म क्षमताका एसी चार्जर र १ सय ६८ किलोवाटसम्मका डीसी फास्ट चार्जरको प्रयोगबाट चार्ज गर्न सकिने छ।
सहरी क्षेत्रमा ४ सय ६० किलोमिटर रेन्ज दिने दाबी गरिएको बीटेन एसयूभीमा एडास लेभल टूलगायत अत्याधुनिक विशेषता रहेका छन्।
साइजको आधारमा पनि बीटेन धेरैको रोजाइमा पर्नसक्ने एसयूभी हो। यसको लम्बाइ ४५ सय १५ एमएम, चौडाइ १८ सय ८५ एमएम र उचाइ १६ सय ५५ एमएम छ। यसमा २७ सय ३५ एमएम लामो ह्वीलवेस रहेको छ।


