काठमाडौं- विश्व बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड तोड्दै ऐतिहासिक उचाइमा पुगिरहेको छ। सन् २०२५ मा सुनको मूल्य ५४ प्रतिशतले वृद्धि भएको छ, जुन सन् १९७९ यताकै सबैभन्दा ठूलो वार्षिक वृद्धिका रूपमा लिइएको छ।
सुनको मूल्य बढ्नेक्रम रोकिएको छैन, निरन्तर उचाइतर्फ लागिरहेको छ। नेपालमा पनि सुनको मूल्य २ लाख ५० हजार आसपास पुगिसकेको छ। मंगलबारमात्रै सुनको मूल्य तोलामा ८ हजार एकसय रूपैयाँले बढेर प्रतितोला २ लाख ४८ हजार ५ सय रूपैयाँ पुगेको छ। जुन अहिलेसम्मकै धेरै हो। पछिल्लो तीन दिनमा मात्रै १३ हजार ५ सयको वृद्धि भएको छ।
बढ्दै गएको भूराजनीतिक तनाव, अमेरिकी ब्याजदर थप कटौती हुने अपेक्षा र वित्तीय बजारमा छिटोछिटो भइरहेको परिवर्तनका कारण सुनको मूल्य निरन्तर बढिरहेको छ। युक्रेन र मध्यपूर्वमा भएका द्वन्द्वका साथै अमेरिका र चीनबीचको बढ्दो तनावले यस वर्ष विश्वभरका केन्द्रीय बैंकहरूले सुन खरिद बढाइरहेका छन्।
सुन अहिले पनि मुद्रास्फीति, राजनीतिक जोखिम र आर्थिक अनिश्चितताबाट बच्ने सबैभन्दा भरपर्दो धातु बनेको छ। तर, यही सुरक्षित लगानीले कहिले जोखिमको स्वरूप पनि लिन सक्छ भन्ने तथ्य लगानीकर्ताले बिर्सनु भने हुँदैन।
विश्लेषकहरूका अनुसार सुनको मूल्य वृद्धि कुनै आकस्मिक घटना होइन। अमेरिकाको फेडरल रिजर्भले ब्याजदर घटाउन थालेपछि डलर कमजोर बनेको छ। जसले सुनमा लगानी आकर्षक बनाएको छ। त्यस्तै युक्रेन र रूसबीचको युद्ध, इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व र चीन-अमेरिका तनावले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाएको छ। यस्ता परिस्थितिमा लगानीकर्ताहरूले परम्परागत रूपमा सुरक्षित मानिने सम्पत्ति-सुनतर्फ झुकाव बढाएका छन्।
वर्ल्ड गोल्ड काउन्सिलको सन् २०२५ को सर्वेक्षण अनुसार ९५ प्रतिशत केन्द्रीय बैंकहरूले यस वर्ष आफ्नो सुन भण्डारण बढाउने योजना बनाएका छन्। कुनै पनि प्रमुख केन्द्रीय बैंकले आफ्नो भण्डारण घटाउने अपेक्षा राखेको छैन। चीनले विदेशी मुद्रामा निर्भरता घटाउने रणनीतिअन्तर्गत ठूलो मात्रामा सुन खरिद गरिरहेको छ। अमेरिकी डलर सूचकांकमा आएको गिरावटले अन्तर्राष्ट्रिय खरिदकर्ताका लागि सुन सस्तो बनेको छ, जसले विश्वव्यापी मागलाई थप बल दिएको छ।
नेपालमा पनि सुनप्रतिको आकर्षण तीव्र रूपमा बढेको छ। जेनजी आन्दोलनपछिको अनिश्चितता, घट्दो बैंक ब्याजदर, अस्थिर सेयरबजार र घरजग्गाको उच्च मूल्यले सर्वसाधारण लगानीकर्तालाई सुनतर्फ मोडेको छ।
सुन परम्परागत रूपमा सुरक्षित लगानीको प्रतीक मानिए पनि यसको जोखिम न्यून छैन। हाल मूल्य ऐतिहासिक उच्च बिन्दुमा पुगेकाले अहिलेको खरिदले नाफा भन्दा घाटाको सम्भावना पनि बोकेको छ। यदि आगामी महिनामा अमेरिकाको फेडरल रिजर्भले ब्याजदर पुनः बढायो भने डलर बलियो बन्छ र त्यसको प्रत्यक्ष असरले सुनको मूल्य घटाउने जोखिम रहन्छ। नेपालमा कच्चा सुनको वैधानिक कारोबार प्रतिबन्धित भएकाले बजारमा अभाव र कालो बजारको सक्रियता देखिन थालेको छ।
सुनमा लगानी उत्पादनशील क्षेत्र होइन, यसले प्रत्यक्ष रोजगार वा मूल्यवृद्धि सृजना गर्दैन। त्यसैले दीर्घकालीन आर्थिक दृष्टिले सुनमा अत्यधिक लगानी सन्तुलित विकल्प मानिँदैन। तर, लगानीको सन्तुलित संरचनामा केही अंश सुनमा राख्नु भने विवेकपूर्ण ठहर्छ। मुद्रास्फीतिको प्रभाव घटाउन र अन्य क्षेत्रको जोखिम सन्तुलन गर्न सुनले भूमिका खेल्न सक्छ।
नेपालमा सुनमा व्यवस्थित लगानीका अवसर अझै सीमित छन्। राष्ट्र बैंकले विगतमा सुन खाता खोल्ने नीति ल्याए पनि त्यो कार्यान्वयनमा जान सकेको छैन। यदि यस्तो प्रणाली लागू भयो भने लगानीकर्ताले भौतिक सुन खरिद नगरीकन पनि यसको मूल्यमा लगानी गर्न सक्नेछन्। यसले सुन बजारलाई पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुर्याउँथ्यो। त्यस्तै कमोडिटी बजार सञ्चालनमा आएको भए सुनको कारोबार अन्तर्राष्ट्रिय मूल्यसँग समायोजन हुने र जोखिम घटाउने सम्भावना रहन्थ्यो।
हालको अवस्थामा सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड तोड्दै लगानीकर्ताको ध्यान तानेको छ। तर, यो उकालो यात्रा कहिलेसम्म टिक्छ भन्ने प्रश्न अझै खुला छ। विश्व अर्थतन्त्र अस्थिर छ, डलर कमजोर छ। ब्याजदरमा अनिश्चितता छ।
यस्ता परिदृश्यमा सुनको मूल्य अझ बढ्ने सम्भावना त्यति नै छ। जतिसुकै घट्ने जोखिम पनि। त्यसैले सुनलाई सम्पूर्ण सम्पत्ति राख्ने विकल्पका रूपमा होइन, दीर्घकालीन सन्तुलित पोर्टफोलियोको एउटा भागका रूपमा हेर्नु नै विवेकपूर्ण ठहरिन्छ।


