काठमाडौं- नेपालको सांस्कृतिक पहिचान र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढिरहेको उन्नतिका उत्पादन अब काठमाडौं उपत्यकाका विभिन्न सीजी डिजिटल शोरुमहरूमा समेत उपलब्ध हुने भएको छ।
अब ग्राहकहरूले विशालनगर, बसुन्धरा, गठ्ठाघर र जोरपाटीस्थित सीजी डिजिटल शोरुमहरूमा उन्नतिका सिरेमिक टेबलवेयर, गृह सजावटका सामग्री, स्पा तथा वेलनेसका वस्तु, स्मारिका र फेसन एक्सेसरी, स्टेसनरी तथा जीवनशैलीका विविध उत्पादनहरू सहजै खरिद गर्न सक्ने उन्नतिले जनाएको छ।
सीजी डिजिटलमा आयोजित उद्घाटन समारोहमा उन्नतिका प्रत्येक उत्पादनले नेपालको कला, संस्कृति र सीपको सुन्दर झल्को दिएको सहभागीहरूले बताए।
उन्नतिकी अपरेसन प्रमुख अस्मिता शाक्यले कला, हस्तकला, संगीत, खानेकुरादेखि नेपाली परम्परामा आधारित परम्परालाई तथा वस्तुहरुलाई दैनिक जीवनमा भित्र्याउने उद्देश्य रहेको बताइन्। उनले भनिन्, 'हामीले बनाएका प्रत्येक वस्तुले नेपालको जीवित सम्पदाको कथा बोकेको हुन्छ। यी उत्पादनहरू उपहार वा स्मारिका रूपमा प्रयोग गर्न सकिन्छ।'
उनका अनुसार उन्नतिका उत्पादनहरूले समुदाय सशक्तीकरण र दिगोपनामा जोड दिएका छन्। यसले नेपाली कारिगरका सीपलाई प्रदर्शन गर्ने प्लेटफर्म प्रदान गर्नुका साथै आधुनिक जीवनशैलीमा उपयुक्त र अर्थपूर्ण वस्तुहरू उपलब्ध गराएको छ।


