बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

इरानमाथिको आक्रमणपछि तेल बजारमा अस्थिरता, 'होर्मुज' मार्ग बन्द हुने आशंकाले विश्वभर लगानीकर्तामा तरंग

मंगलबार, असार १० २०८२
इरानमाथिको आक्रमणपछि तेल बजारमा अस्थिरता, 'होर्मुज' मार्ग बन्द हुने आशंकाले विश्वभर लगानीकर्तामा तरंग

अमेरिकी प्रशासनका अनुसार दैनिक झण्डै २० मिलियन ब्यारेल कच्चा तेल यही मार्ग भएर ढुवानी हुन्छ। जुन विश्व उत्पादनको पाँचौँ हिस्सा हो।

काठमाडौं- इरानमाथि इजरायल र त्यसपछि अमेरिकाले गरेको आक्रमणले अहिलेसम्म विश्वव्यापी तेल आपूर्तिमा ठूला अवरोध नआएको भए पनि उक्त घटनाक्रमले लगानीकर्तामा व्यापक तरंग ल्याएको छ।

संघर्ष सुरु भएयता तेलको मूल्य करिब १० प्रतिशतले बढिसकेको छ। विशेषतः इरानले विश्वकै प्रमुख पेट्रोलियम ढुवानी मार्गमध्ये 'होर्मुज' मार्गमा विश्वव्यापी ढुवानीमा अवरोध ल्याउन सक्ने आशंकाले बजार चिन्तित देखिएको सीएनएनले जनाएको छ।

यता इजरायलसँग युद्ध गरिरहेको इरानले अमेरिकी हमलाको प्रत्युत्तरमा 'स्ट्रेट अफ होर्मुज' बन्द गर्ने धम्कीमात्र दिएन सोमबार यो निर्णय इरानको संसदले सर्वसम्मत रूपमा नै गर्‍यो। अब इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अन्तिम स्वीकृति दिएसँगै यो निर्णय कार्यान्वयनमा जानेछ।

इरानी संसदको उक्त निर्णयको प्रतिक्रियामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको यो निर्णय रोक्न चीनलाई गुहारेका छन्। उनले होर्मुज स्ट्रेट बन्द गर्ने इरानी निर्णय रोक्न चीनलाई आग्रह गरेका हुन्।

'होर्मुज' फारस खाडी र ओमान खाडीको बीचमा पर्दछ। जुन केवल २१ माइल चौडा छ। यो फारस खाडीबाट विश्वका अन्य भागमा कच्चा तेल ढुवानी हुने एकमात्र मार्ग हो। यसको उत्तरतर्फको नियन्त्रण इरानसँग छ।

harmuz 2.png

अमेरिकी प्रशासनका अनुसार दैनिक झण्डै २० मिलियन ब्यारेल कच्चा तेल यही मार्ग भएर ढुवानी हुन्छ। जुन विश्व उत्पादनको पाँचौँ हिस्सा हो। 

आइतबार साँझ अमेरिकी आक्रमणपछि ब्रेन्ट क्रुड तेलको मूल्य ८० डलर प्रतिब्यारेल नाघेको थियो, जुन सन् २०२४ को जनवरीयता पहिलो पटक हो। तर सोमबारको एसियाली बजार खुल्नेवित्तिकै ब्रेन्ट र डब्लूटीआई दुवैले प्रारम्भिक मुनाफा गुमाए। अन्तिम कारोबारमा ब्रेन्ट ०.५३ प्रतिशतले घटेर ७६.४९ डलर र डब्लूटीआई ०.६२ प्रतिशतले घटेर ७३.३८ डलरमा झर्‍यो।

अब तेलको मूल्य अझै माथि जान्छ वा स्थिर हुन्छ भन्ने कुरा इरानको प्रतिक्रिया कस्तो हुन्छ भन्नेमा निर्भर रहनेछ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका सल्लाहकार तथा ‘केहान’ पत्रिकाका सम्पादक होसेन शरियत्मदारीले उक्त मार्ग बन्द गर्न आह्वान गरेका छन्। 

इरानको भौगोलिक पकडले विश्व तेल बजारमा धक्का दिन सक्ने, मुद्रास्फीति बढाउन सक्ने र ट्रम्पको आर्थिक एजेन्डा नै ध्वस्त पार्न सक्ने क्षमता रहेको अली शबानीले बताएका छन्।

गत वर्ष होर्मुज मार्ग हुँदै जाने कच्चा तेलमध्ये ८४ प्रतिशत र एलएनजीमध्ये ८३ प्रतिशत एशियाली मुलुकहरूमा गएका थिए। चीनले पहिलो त्रैमासिकमा मात्रै दैनिक ५.४ मिलियन ब्यारेल तेल यही मार्ग भएर आयात गरेको थियो भने भारत र दक्षिण कोरियाले क्रमशः २.१ र १.७ मिलियन ब्यारेल तेल आयात गरेका थिए। अमेरिका र युरोपको आयात यस अवधिमा क्रमशः ४ र ५ लाख ब्यारेल थियो।


प्रकाशित : मंगलबार, असार १० २०८२०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend