बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिमसारमा कंक्रिटको भार, पर्यटनको नाममा पर्यावरणमाथि अत्याचार

शुक्रबार, जेठ २३ २०८२
सिमसारमा कंक्रिटको भार, पर्यटनको नाममा पर्यावरणमाथि अत्याचार
तालतलैयामा फाइबरको मुर्ति।

स्थानीय र प्रदेश सरकारले पर्यटन प्रवर्द्धनको लागि भन्दै सिमसारमा कंक्रिटका संरचना निर्माणलाई प्राथमिकता दिएको छ। रुख काटेर गेटदेखि भ्यूटावरसम्म निर्माण भएका छन्।

इटहरी- झापाको अर्जुनधारामा रहेको जामुनखाडी सिमसार प्रमुख पर्यटकीय गन्तव्य बनेको छ। पर्यटन प्रवर्द्धनका लागि ठूला भवन, टावर र अन्य संरचना निर्माण गरिएका छन्। 'सेल्फी स्पट' तयार पार्न फाइबरका मूर्तिहरू निर्माण गरिएका छन्। सिमसार क्षेत्रवरपर निर्माण भएका कंक्रिटका संरचनाका कारण जनघनत्व बढ्दै गएको छ।

हिउँदको सिजनमा संरक्षणको लागि पैसा उठाउँदै पिकनिक स्पर्टको रूपमा विकास भएको छ। पिकनिक मनाउने आगन्तुकले प्रयोग गरेको प्लास्टिकजन्य फोहोरले सिमसारका जलचर मासिन थालेका छन्। सिमसार क्षेत्र प्रदूषित बन्दै गएको छ।

जामुनखाडीमा मात्र होइन सुनसरीको प्रमुख पिकनिक स्पटको रूपमा चिनिएको रास तालमा पनि त्यही समस्या छ। ताल प्लास्टिकका बोतल र झोलाले भरिएको छ। सरसफाइ शुल्क उठाए पनि व्यवस्थापन समितिले कंक्रिटका नयाँ संरचनाको निर्माणमा खर्च गर्ने गरेको छ। पर्यटकीय आकर्षणका लागि जलाशय सुकाउने सल्ला, टिक र मसलाका रुखहरू रोपिएका छन्।

स्थानीय र प्रदेश सरकारले पर्यटन प्रवर्द्धनको लागि भन्दै सिमसारमा कंक्रिटका संरचना निर्माणलाई प्राथमिकता दिएको छ। रुख काटेर गेटदेखि भ्यूटावरसम्म निर्माण भएका छन्।

सुनसरीमा रहेका ५ वटा सिमसारमा प्रतिस्पर्धात्मक रूपमा संरचना निर्माण हुने गरेको छ। मोरङको हसिना सिमसारले भने सल्ला, टिक र मसलाको रुख काटेर कटहर, अम्बक, बडहरका ७ हजार बिरुवा रोपेको छ।

tourism place (6).jpg
रास तालमा पिकनिक।

थारु संस्कृति संरक्षणको अभियानमा लागेका तेज नारायण चौधरी पोखरी र तालतलैया मासिएकोमा चिन्तित छन्। थारु परम्पराअनुसार पोखरी संरक्षण गर्नुपर्ने भएपनि अव्यवस्थित सहरीकरणले जलाशय सुक्दै गएको उनले बताए। 

चौधरीका अनुसार पूर्वका मुख्य सहरको कारण जलाशय संकटमा पर्दै गएको हो। भित्र खेती हुने जमिनमा अहिले पक्का घरमात्र देखिन थालेका छन्। बोटबिरुवा मासेर सडक कालोपत्र गरिएको र जसले गर्दा पानीको स्रोत सुक्दै जान थालेको उनको भनाइ छ।

tourism place (5).jpg
रास तालमा जलाइएको फोहर।

पर्यावरणविद् प्रमोद घिमिरे कंक्रिटका संरचनामात्र सहरका पूर्वाधार हुन् भन्ने बुझाइका कारण वातावरणमा समस्या बढ्दै गएको बताउँछन्। बढ्दो सहरीकरणसँगै वायु, जल, जमिनजस्ता पर्यावरणीय तत्वको क्षयीकरणले अनेकन समस्या निम्तिरहेको उनको भनाइ छ। जसकारण ओजन तह नष्ट हुँदा विश्वव्यापी उष्णता वृद्धि भइरहेको घिमिरेले बताए।

सिमसार आसपास वर, पिपल, समी, सिसौ, खयर, सिमलजस्ता ठूला जातका रुख रोप्न सकिने उनको तर्क छ। उनका अनुसार सहरी वनलाई विकसित गर्न सकिन्छ। यसले सहरको तापक्रमलाई सन्तुलनमा राख्ने र हरेक नागरिकलाई सदैव सक्रिय बनाउन सहयोग गर्छ। कंक्रिटका ठाउँमा ढुंगा वा इँटाको प्रयोग बढाउनुपर्ने उनको सुझाव छ।

tourism place (2).jpg
अमाह सिमसार

अर्गनाइजेसन फर इकोनोमिक कर्पोरेसन एन्ड डेभलभमेन्ट (ओईसीडी) को अध्ययनले विश्वको तापमान सन् २०३० सम्म औसत १.२ प्रतिशत, २०३० सम्ममा औसत १.७ प्रतिशत र २०५० सम्ममा औसत ३ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरेको छ।

बेलायतको पर्यावरण विशेष पोर्टल ग्रिनस्पेक डट सिओ डट युकेका अनुसार विश्वमा कार्बन उत्सर्जन गर्नमा ४ देखि ८ प्रतिशत कंक्रिट संरचनाको भूमिका छ। सिमेन्टले दुई प्रकारबाट कार्बन उत्सर्जन हुने तथ्य ग्रिनस्पेकले सार्वजनिक गरेको छ। सोही अध्ययनअनुसार एक टन सिमेन्टबाट ७८० केजी कार्बन उत्सर्जन हुने पाइएको छ। दृश्य तथा ध्वनि प्रदूषण, कृषि भूमिको विनाशजस्ता परिणामले गर्दा कार्बन उत्सर्जनमा वृद्धि भएको ठहर विज्ञहरूको छ।

'द गार्जियन'को एक रिपोर्टअनुसार विश्वमा पानीपछि प्रयोग हुने दोस्रो वस्तु सिमेन्ट पाइएको छ। हरियो र निलो पृथ्वी खैरो रंगमा परिणत हुँदै गएकाले झाडी तथा जंगलभन्दा धेरै कंक्रिटका संरचनाको वजन बढी भएको रिपोर्टमा उल्लेख गरिएको छ।

tourism place (4).jpg
रास तालमा फोहर।

'द गार्जियन'का विश्व वातावरण सम्पादक जोननाथ वाट्सले कंक्रिट संरचनाको कारण बाढी र डुबानको जोखिम बढ्दै गइरहेको उल्लेख गरेका छन्। बाटो र पार्कहरूमा कंक्रिट संरचना निर्माण गर्दा वरिपरिको वातावरणको तापमान वृद्धि हुने उनको तर्क छ।

tourism place (7).jpg

सिमेन्टको प्रयोगले सिलिकोसिस लगायत श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढ्ने उनले प्रस्ट पारेका छन्। कंक्रिट र प्लास्टिक पृथ्वीको विनाशकारी वस्तु रहेको बताउँदै उनले यसले पृथ्वी र मानव स्वास्थ्य तथा संस्कृतिमा गम्भीर असर गरिरहेको उल्लेख गरेका छन्।


प्रकाशित : शुक्रबार, जेठ २३ २०८२१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend