बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

सधैँ संक्रमणकाल! मोटरसाइकलमा भाडाका यात्रु - न नियमन न त बन्द

images
मंगलबार, जेठ २० २०८२
images
images
सधैँ संक्रमणकाल! मोटरसाइकलमा भाडाका यात्रु - न नियमन न त बन्द

ट्याक्सीको मनोमानी र बस तथा माइक्रोजस्ता सार्वजनिक यातायातमा ठेलमठेलको अवस्थाबाट आजित नागरिकले सहज सेवा खोज्नु उनीहरूको अधिकार हो तर जोखिम निम्तनेगरी थप अव्यवस्थित छनोटतर्फ बाध्य पारिनु अविवेकी निर्णय हो।

images
images

काठमाडौं- ‘चलिरहेकै छ नि’ भन्ने भावमा राज्यसत्ता सञ्चालन गरिरहँदा नीतिगत परिधि सधैँ अव्यवस्थित भइरहेको छ। बलियो कानूनी बाटोमार्फत नियमन गर्ने या त सम्भव छैन भनेर बन्द गर्नुपर्ने ‘मोटरसाइकलमा भाडाका यात्रु बोक्ने काम’लाई समेत आँखा चिम्लिएरै सञ्चालन गर्न दिइएको छ।

images
images
images

पछिल्लो समय गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन गरिरहेका छन्। कानूनविपरीत चलिहरहेको विषयलाई व्यवस्थित बनाउन खोजिएकोमा नै विरोध भइरहँदा त्यसको समेत थप सास्ती नागरिकले नै पाएका छन्।  

images
images

स्पष्ट सरकारी सोचबिना मोटरसाइकलमा भाडाका यात्रु बोक्ने काम निर्वाध चलिरहँदा नियमन गर्न खोजेको प्रदेश सरकारलाई समेत केन्द्र सरकारले ‘यत्तिकै छाडिदिन’ अनुरोध गर्दै छ। कानूनले अवैध भनेको विषयलाई यसै चल्न दिइरहँदा आउन सक्ने विभिन्न जटिलतातर्फ सरकारले ध्यान दिएको छैन।

images
images
images

सस्तो सुलभ विकल्पको रुपमा प्रचारित यस्ता काम जति सुविधाजनक देखिन्छ त्योभन्दा धेरै चुनौतीपूर्ण हुँदै गएको छ। सडक दुर्घटनामा सबैभन्दा बढी जोडिने मोटरसाइकलमा भाडाका यात्रु बोक्दा भइरहेका जोखिमतर्फ ध्यान पुगेको छैन। कमजोर सार्वजनिक यातायातको विकल्प दिशाहीन अस्तव्यस्ततातर्फ बढ्न थालेको छ।

ट्याक्सीको मनोमानी र बस तथा माइक्रोजस्ता सार्वजनिक यातायातमा ठेलमठेलको अवस्थाबाट आजित नागरिकले सहज सेवा खोज्नु उनीहरूको अधिकार हो तर जोखिम निम्तनेगरी थप अव्यवस्थित छनोटतर्फ बाध्य पारिनु अविवेकी निर्णय हो।

सहरी जीवनको गतिशीलतासँगै नयाँ प्रविधि र सेवा विकास हुँदै जाँदा त्यो आफ्नो सहरअनुकूल छ कि छैन भन्नेमा विचार गर्नुपर्ने हुन्छ। त्यसका गहिरो समस्या र अनियन्त्रित जोखिम नबुझी सार्वजनिक यातायातको खराब स्थानान्तरणतर्फ लाग्नु हुँदैन।  

सार्वजनिक सवारी साधनको सुधारमा लाग्नुभन्दा व्यक्तिगत प्रयोगका लागि बनाइएका मोटरसाइकलमा कानूनी नियमनबिना भाडाका यात्रु बोक्न दिने गलत बाटोतर्फ सरकार लागिरहेको छ। दिशाविहीन यो अभियानले नेपाल छिटै नै बंगलादेश र नाइजेरीयामा जस्तो सडकमा आजित हुने खतरा देखिन्छ।

मोटरसाइकलमा भाडाका यात्रु बोक्ने काम भइरहेका धेरै देशको समान विशेषता के हो भने सहरी क्षेत्रमा सार्वजनिक यातायातको विकल्पका रूपमा मोटरसाइकलले नियन्त्रण गर्न कठिन हुनेगरी आजित बनाएको छ। कतिपय देशमा सार्वजनिक यातायात नपुगेका ग्रामीण भेगमा सहज बनिरहेको यस्तो व्यवसाय भिडभाड सहरमा भने समस्याका रुपमा छ। अमेरिकासहितका विकसित देशमा यस्ता काम सुरु गर्ने प्रयास भइरहे पनि सरकारले अनुमति दिएको छैन।

नेपालमा विशिष्ट ओहदामा रहेकाहरूको निजी सवारी मोहले एकातिर सार्वजनिक यातायात सुधारको काममा ध्यान पुगेको छैन भने अर्कोतिर थप अस्तव्यस्त बनाउने गरी नवप्रवर्तनका नाममा गलत बाटो समातिरहेका छन्। उच्च पदस्थहरूले तामझामसहित बेलाबखत सार्वजनिक यातायात चढेर सामाजिक सञ्जालमा तस्बिर भाइरल बनाउने काम गर्नुबाहेक त्यसको सुधारमा ध्यान दिएका छैनन्।

सार्वजनिक यातायातलाई राज्यले स्तरीय सेवा दिनुपर्ने क्षेत्रको रुपमा विकास गर्नुपर्ने माग उठिरहेका बेला नितान्‍त व्यक्तिगत प्रयोगका लागि बनेका मोटरसाइकललाई सार्वजनिक यातायातको रुपमा चलाउन दिइएको छ, त्यो पनि नियमकानूनबिना। सार्वजनिक सवारी व्यवस्थित नभएर निजी सवारी अत्यावश्यक बनिरहँदा त्यो खाली ठाउँ ‘मोटरसाइकलमा भाडाका यात्रु बोक्नेहरू’ले पाइरहेका छन्।

औपचारिक वा अनौपचारिक रुपमा मोटरसाइकल ट्याक्सी, बाइक ट्याक्सी जस्ता नाममा केही देशमा चलिरहेको यस्तो व्यवसाय पूर्वी अफ्रिकालगायत केही देशमा ‘बोडाबोडास’ र पश्चिम अफ्रिकी क्षेत्रमा ‘ओकादस’ का नाममा चलिरहेका छन्। त्यसबाहेक केही कम्पनीगत नामका आधारमा यस्तो व्यवसाय चलिरहेका केही देश पनि छन्।

नेपालसँगै छिमेकी भारत, बंगलादेश, पाकिस्तान, मलेसिया, फिलिपिन्स, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया, केन्या, इजिप्ट, नाइजेरिया, युगान्डा, ब्राजिल, कम्बोडिया, क्यामरुन, मेक्सिकोलगायत केही देशमा यस्तो व्यवसाय सञ्चालनमा रहेको देखिन्छ। ती देशभित्र पनि सहरअनुसार कतिपय ठाउँमा प्रतिबन्ध लगाइएको छ। चलेका धेरैजसो ठाउँमा पनि नियमन र व्यवस्थित बनाइएको छ।

ब्राजिलको उत्तरपूर्वमा रहेको सानो सहर क्रातेओसमा सन् १९९४ तिर मोटरसाइकलमा भाडाका यात्रु बोक्ने काम सुरू भएको बताइन्छ। जुन समय क्रातेओसमा सार्वजनिक सवारीका अरू साधनहरू थिएनन्। क्रातेओसपछि ब्राजिलका अन्य ५० सहरहरूमा पनि उही रुपमा मोटरसाइकलमा भाडाका यात्रु बोक्ने काम सुरू भएको थियो। ब्राजिलमै गरिएका खोजहरूका अनुसार बेलायतमा पर्यटकहरूले भाडामा मोटरसाइकल लिएर घुम्ने गर्दा सहज भएको टेलिभिजन रिपोर्ट हेरेर ब्राजिलियनहरू त्यसतर्फ उत्सुक भएका थिए।

मोटरसाइकलमा भाडाका यात्रु बोक्ने काम कानूनविपरीत चलिरहँदा क्रातेओस सहर रहेकै सिएरा राज्यको राजधानी फोर्टालेजामा सन् १९९७ मा ‘म्युनिसिपल ल’ बनाइएको थियो। जसले मोटरसाइकलमा भाडामा यात्रु बोक्न कस्ता कस्ता नियम पालना गर्नुपर्छ र कस्तो कस्तो ठाउँमा मात्र सञ्चालन गर्न पाइन्छ भनेर उल्लेख गर्‍यो।

ब्राजिलमै पनि केही सहरमा कानूनी रुपमा चलिरहेका त्यस्तो व्यापार केही सहरमा भने कानूनबिना पनि चलिरहँदा स्थानीय सरकारलाई त्यसबारेको सबैजसो अधिकार दिइएको छ। त्यस्तो सवारी चलाउनेहरू २१ वर्ष उमेर पुगेकै हुनुपर्ने, ‘ए क्याटागोरी’ को लाइसेन्स भएको र दुई वर्षको अनुभव भएको हुनुपर्ने साथै छुट्टै ट्रेनिङ कोर्स पूरा गरेको हुनुपर्ने जस्ता नियम बनाइएको छ। तर अहिले ब्राजिलमा सार्वजनिक यातायात विज्ञहरूले भने मोटरसाइकलमा भाडाका यात्रु बोक्ने कामलाई अझ कसिलो बनाउनुपर्ने र यातायात क्षेत्र अस्तव्यस्त बनाउन नहुने आवाज उठाइरहेका छन्। कतिपय सहरमा त्यस्तो काम बन्द नै गरिएको छ।

विश्वभर तीन शैलीमा यस्ता सेवाहरू सञ्चालनमा रहेको देखिन्छ,

- यातायातको क्षेत्र हेर्ने सरकारी निकायले विशेष कानूनको माध्यमबाट सञ्चालनको छुट दिएको

- मोटरसाइकलमा भाडाका यात्रु बोक्ने काम भइरहेको छ भन्ने कुरा नै बेवास्ता गरेर अनौपचारिक सञ्चालनको छुट दिएको

- कानूनी रुपमा नै सञ्चालन गर्न दिइएका तर त्यसरी छुट दिइएका नियमहरू माथि नै ठूलो संख्याले बारम्बार प्रश्न उठाइरहेको

यसमा रहेको समान विशेषता के हो भने साना सहर, अति आवश्यक पर्ने आपतकालीन अवस्थामा लिइने सेवाको रुप र ग्रामीण क्षेत्र जहाँ अन्य सार्वजनिक सवारीको सुविधा छैन। ती सबैजसो देशमा सार्वजनिक सवारीका रुपमा ठूला सवारीलाई नै प्रयोगमा जोड दिँदै सहरी क्षेत्रबाट मोटरसाइकल निरुत्साहित बनाउने अभियान चलिरहेका छन्। 

पछिल्लो समय मोटरसाइकलमा भाडाका यात्रु बोक्ने व्यवसायबाट आजित बनिरहेको देश बंगलादेश हो। सन् २०१६ को मे महिनाबाट ‘सेयर ए मोटरसाइकल’ का नाममा बंगलादेशमा यस्तो व्यवसाय सञ्चालन सुरू भएको देखिन्छ। त्यसपछि अन्य कम्पनीहरू पनि थपिए।

बंगलादेशमा मोटरसाइकलमा भाडामा यात्रु बोक्नेको संख्या बढिरहँदा सडकमा सबैभन्दा जोखिमपूर्ण यात्रा, ज्यादा दुर्घटना हुने अनियन्त्रित वाहनको रुपमा भइरहेको विकासप्रति बहस भइरहेका छन्।

बंगलादेशमा एक्सिडेन्ट रिसर्च इन्स्टिच्युट (एआरआई) ले गरेको एक अध्ययन अनुसार मोटरसाइकलको संख्या सर्वाधिक भएका १६ देशमध्ये बंगलादेशमा दुर्घटनाको दर र मृत्यु हुनेको संख्या अधिक छ। वैकल्पिक सार्वजनिक यातायातको रुपमा मोटरसाइकललाई विकास गर्दै लैजानु नीति निर्माताको गलत दृष्टिकोणको परिणाम भएको आवाज बंगलादेशमा उठिरहेको छ।

विशेषगरी सुरक्षाको विषय, यात्राको व्यवहारिकता र सडकको अवस्थाजस्ता विषयमा गहन अध्ययन नभएको भन्दै आवाज उठिरहेको छ। विश्वभर नै यसको वृहत्तर अनुसन्धान र अध्ययन नभएको विषय उठ्ने गरेको छ।

बंगलादेशको सहरी क्षेत्रमा २१ किलोमिटर प्रतिघण्टाको सवारी गतिको अवस्था पछिल्लो १० वर्षयता ७ किलोमिटर प्रतिघण्टाको अवस्थामा पुगेको सन् २०१७ कै अध्ययनले देखाएको थियो। सहरी ट्राफिक व्यवस्थापनमा पनि बढ्दो दुईपांग्रेका कारण चुनौती थपिएको बंगलादेशी सञ्चार माध्यमहरूले उल्लेख गरिरहेका छन्।

दुर्भाग्यवश बंगलादेशमा जस्तै नेपालमा पनि मोटरसाइकलको अनियन्त्रित प्रयोगले सामाजिक विकृति सिर्जना गरिरहेको छ। गलत दिशातर्फबाट चलाउने, फुटपाथमै पनि उकालिदिने, गलत ठाउँमा पार्किङ गरेर बसिरहने जस्ता गतिविधि मोटरसाइकलका लागि सामान्यजस्तो बनिसकेको छ। ट्राफिक प्रहरीले निगरानी बढाएर त्यस्तो गतिविधिमा कारबाही गरिरहेको भए पनि मोटरसाइकलको व्यावसायिक बढ्दो संख्यासँगै त्यसमा समस्या बढ्दै जाने छ।

भारतमा पनि त्यस्तो व्यवसाय सञ्चालन गरिरहेकाहरूले आफूहरूलाई निर्वाध चल्न दिनुपर्ने आवाज उठाइरहँदा बन्देज लगाउने कामहरू भइरहेका छन्। कानून बनाएरै निगरानी गर्नेगरी प्रयासहरू सरकारले गरिरहेको छ। केही व्यक्तिको आम्दानीको माध्यम बनिरहेको छ भन्दैमा गलत विषयलाई प्रशय दिन नहुने आवाज ठूलो संख्याले उठाइरहेको छ।  

भारतको दिल्लीमा त उबर, ओला, रापिडो जस्ता कम्पनीमार्फत चलिरहेको मोटरसाइकलमा यात्रु बोक्ने व्यवसायमाथि प्रतिबन्ध लगाइएको छ। दिल्लीमा दुईपांग्रेमार्फत भाडाका यात्रु बोक्नु गैरकानूनी हुने ठहर गरिएको छ। भारतमा मोटर वाहन अधिनियम, १९८८ अनुसार दुईपांग्रेमा भाडाका यात्रु बोक्न पाइँदैन। यसैले दिल्ली सरकारले त्यस्तो मोटरसाइकलमा यात्रु बोक्नेगरी सञ्चालन भएका डिजिटल सेवा दिनेहरूलाई एक लाख भारतीय रूपैयाँसम्म जरिवाना हुनसक्ने जनाएको छ। त्यसअघि उही कारणहरूसहित भारत महाराष्ट्र सरकारले पनि दुईपांग्रेमा भाडाका यात्रु बोक्न प्रतिबन्ध लगाएको थियो। न्यायालयले पनि कानूनी रुपमा मान्यता नपाएका त्यस्ता सेवाहरू बन्द गर्न भनेर आदेश दिएको थियो।

सन् २०२१ मा नै एलाइड मार्केट रिसर्चमार्फत गरिएको एक अध्ययनअनुसार भारतमा मोटरसाइकलमा भाडाका यात्रु बोक्ने बजार ५०.५ मिलियन डलरको थियो। जुन २०३० सम्ममा नै १४ सय ७८ मिलियन डलर पुग्ने अनुमान छ। यस्तोमा दुईपांग्रेमा भाडाका यात्रु बोक्नु व्यवहारिक नहुने र सुरक्षाका दृष्टिकोणले समेत उचित नहुने भन्दै भारतमा निरन्तर आवाज उठिरहेको छ।

उक्त व्यवसायमा रहेकाहरूले भने धेरै भारतीयको रोजीरोटीको सवाल जोडिएको भन्दै सञ्चालन गर्न दिनुपर्ने आवाज उठाइरहेका छन्। त्यसैले पनि कानूनी रुपमा त्यसलाई कसरी अगाडि लैजान सकिन्छ भन्ने बारेका छलफलहरू पनि भइरहेका छन्। भारतीय सुप्रिम कोर्टले कानूनले नदिएको अवस्थामा त्यस्तो सेवा सञ्चालन गर्न नहुने फैसलासमेत गरेको छ।

पाकिस्तानमा पनि २०१६ यता कार्गर लगायतका नाममा त्यस्तो व्यवसाय सञ्चालनमा रहेको छ। अन्य कम्पनीहरू पनि मोटरसाइकलमा भाडाका यात्रु बोक्नेगरी जोडिँदै गएका छन्। बंगलादेश र भारतमा जस्तै पाकिस्तानमा पनि यसको सुविधा र उपयोगिताभन्दा खराबी बढी रहेको आवाजहरू उठिरहेका छन्।

नाइजेरियाको लागोसमा त सन् २०२० मा जे-जे कारण दिएर मोटरसाइकलमा भाडाका यात्रु बोक्न प्रतिबन्ध लगाइएको थियो ती विषयमा अहिले पाँच वर्षपछि सुधारसमेत देखिएको छ। प्रतिबन्धहरूको मुख्य तर्क ‘सडक सुरक्षाको पक्ष’मा जसरी दिइएको थियो त्यो अहिले उचित देखिएको छ। लागोस राज्य सरकारको तथ्यांकअनुसार मोटरसाइकलसँग सम्बन्धित दुर्घटनाहरूमा प्रतिबन्धपछिको अवधिमा उल्लेख्य गिरावट आएको छ।

नाइजेरियामा जस्तै केन्याको नैरोबीका पनि केही क्षेत्रमा मोटरसाइकलमा भाडाका यात्रु बोक्ने काममाथि आंशिक प्रतिबन्ध छ। विशेषगरी केन्द्रीय व्यापारिक क्षेत्रमा त्यस्तो प्रतिबन्ध ट्राफिक र सुरक्षाका कारणले लगाइएको जनाइएको छ।

इन्डोनेसियामा मोटरसाइकलमा भाडाका यात्रु बोक्ने कामलाई सरकारले नियमन गर्छ। चालकहरूलाई लाइसेन्ससँगै उक्त कामका लागि सवारी दर्ता र बीमा अनिवार्य छ। जकार्तामा यी कामहरूको लागि हेलमेट र सुरक्षा मापदण्डजस्ता विशेष नियमहरू लागु छन्।

थाइल्याण्डमा पनि मोटरसाइकलमा भाडाका यात्रु बोक्ने कामलाई सरकारले नियमन गर्छ। चालकहरूले विशेष पहिचान ज्याकेट लगाउनुपर्छ, सवारी दर्ता गर्नुपर्छ र भाडादर सरकारले तोकेको हुन्छ। ग्राब जस्ता एप-आधारित सेवाहरूले पनि यी नियम पालना गर्छन्। बैंककमा त मोटरसाइकल स्ट्यान्डहरू तोकिएका छन् र चालकहरूले अनिवार्य प्रशिक्षण पनि लिनुपर्छ।

मोटरसाइकल ट्याक्सीको नियमन धेरैजसो देशमा स्थानीय सरकार वा सहरविशेष नियममा आधारित रहेको छ। विभिन्न एप्लिकेसनमा आधारित त्यस्ता कामहरू गर्दा नीति नियमको पूर्ण पालना गर्नुपर्छ। सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, परम्परागत ट्याक्सी/रिक्सा चालकहरूको विरोध र अपराध नियन्त्रणका कारण धेरै ठाउँमा प्रतिबन्ध लगाइएको छ।

मोटरसाइकललाई सार्वजनिक यातायातको रुपमा विकास गर्दै जाने हो भने यसले सहरी यातायात अस्तव्यस्त बनाउने यसक्षेत्रमा काम गरिरहेकाहरूले बताउँदै आइरहेका छन्। ‘धेरैले रोजगारी पाइरहेको र केही नयाँ काम भएको’ भन्ने आधारमा सार्वजनिक वृत्तमा खासै विरोधको आवाज ननिकाले पनि यस क्षेत्रका विज्ञहरूले मोटरसाइकलमा भाडाको यात्रु बोक्न दिने विषय कालान्तरमा सरकारको टाउकोदु:खाइ बन्ने अनौपचारिक कुराकानीमा बताउने गरेका छन्।

नेपालमा मोटरसाइकलमा भाडाका यात्रु बोक्नेहरूले गर्ने प्रवर्द्धनमा विशेषगरी दुई कुरा गर्ने गरिन्छ। नवप्रवर्तनको काम भएको साथै सार्वजनिक यातायात सहज नभएको काठमाडौंजस्तो सहरमा ट्याक्सीभन्दा जस्तो र छिटो सेवा। जब कि यी दुवै कुरा गलत तथ्यमार्फत ब्याख्या गर्ने गरिएका छन्।

विश्वका धेरै देश आजित भइसकेको मोटरसाइकलमा भाडाका यात्रु बोक्ने व्यवसायमा मोबाइल एप्लिकेसन जोडिँदैमा त्यसलाई नवप्रवर्तनको रुपमा ब्याख्या गर्न मिल्दैन नै।

टुटलमार्फत नेपालमा व्यवसाय सुरू गर्नेबेला गरिएको ब्याख्याजस्तो यो ‘राइड सेयरिङ’का रुपमा बुझाउनु त झनै गलत तर्क हुनेछ। काम नै मोटरसाइकलमा भाडाका यात्रु बोक्नेगरी दिनभर सडकमा कुदिरहनु राइड सेयरिङ होइन। आफ्नो बाटो पर्ने ठाउँमा सिट खाली हुँदा कसैलाई लगिदिने र त्यसबापत केही पैसा पनि हुने अर्थको व्यवसाय अब यो रहेन। चोक-चोकमा रहेका यस्ता व्यवसायका चालकहरूले एकदिन ट्याक्सीको झैँ सडक किनारमा ‘स्ड्यान्ड’ नै माग्नेछन्।

मोटरसाइकलमा भाडाका यात्रु बोकेर प्रयोजनविपरीत सवारी साधन चलाएको भन्दै ट्राफिक प्रहरीले कारबाही चलाइरहँदा केही नगर्नू भन्ने राजनीतिक आदेशमा प्रशय पाएको बिर्सिएर गलत काममा सरकारी संयन्त्र प्रयोग भइरहेको छ। उपत्यकाका सडकमा अहिले नै ट्राफिक व्यवस्थापन ठूलो चुनौती बनिसकेको अवस्थामा मोटरसाइकललाई समेत भाडामा यात्रु बोक्न दिनु उचित नहुने पूर्वट्राफिक प्रहरी प्रमुखहरू बताउँछन्। 

सार्वजनिक यातायात सहज नभएको काठमाडौंजस्तो सहरमा ट्याक्सीभन्दा सस्तो र छिटो सेवाका रुपमा जसरी भनिएको छ त्यसमा पनि केही फाइदाका लागि अनगिन्ति बेफाइदालाई बेवास्ता गर्न मिल्दैन। सजिलो भइरहेको छ, धेरैले काम पाइरहेका छन् भन्ने आधारमै वर्तमान र भविष्य दुवै गलत भएको विषयलाई प्रशय दिनु हुँदैन। प्रदूषण, ट्राफिक अस्तव्यस्त, थप अनावश्यक मूल्य र असुरक्षा जस्ता विषयलाई मात्र हेर्ने हो भने पनि मोटरसाइकलमा भाडाका यात्रु सार्वजनिक यातायातको विकल्प बनाउनु हुँदैन।

भाडाका यात्रु बोक्न कानूनले नदिएको र त्यस्तो व्यवसाय सञ्चालन गर्न नपाइने भन्ने विषय बारम्बार उठ्दै रोक लगाउने र पुन: राजनीतिक प्रभावमा खोल्ने काम भइरहँदा अहिले गण्डकी प्रदेशमा कानूनी ढोका खोलेरै सुविधा दिन खोजिएको छ। तर केन्द्र सरकारले भने कानून बनाउने तयारी भइरहेको मात्र बताउँदै यसै खुला छाडिरहेको छ।

सार्वजनिक सवारी कस्तो हुनुपर्छ र कसरी व्यवस्थित गर्नुपर्छ भन्ने विषय उदाहरणीय देशहरूबाट सिक्नुको साटो मोटरसाइकलमा भाडाका यात्रु बोक्ने गलत शिक्षा राज्यले लिइरहेको छ। जतिसक्दो कम सवारीमा धेरै यात्रुलाई कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा लाग्नुपर्नेमा ‘सजिलो भइरहेको छ’ भन्ने आधारमा सुकुम्बासी बस्ती थपेजस्तो भावनात्मक रुपमा हेरेर सहर अस्तव्यस्त बनाउने मोटरसाइकललाई भाडाका यात्रु बोक्ने छुट दिनतिर लाग्नु उल्टो बाटो हुनेछ।

अहिले खुला रुपमा यसै सञ्चालन गर्न दिइरहँदा पछि गएर नाइजेरियाको लागोस सहरमा जस्तो पछुताउनु पर्ने छ। ‘मेगा सिटी भिजन’ मा लागोसले जसरी मोटरसाइकललाई अव्यवस्थित र असुरक्षित मान्यो त्यसबाट नेपालले पनि सिक्न सक्छ। यो सबैका बीच यदि सरकारले मोटरसाइकलमा भाडाका यात्रु बोक्ने काम गर्न दिइरहने हो भने कानूनी नियमनभित्र राख्नैपर्छ। कानूनी रुपमा नै यस्तो काम भइरहेका देशहरूबाट सरकारले सिक्न सक्छ। 


प्रकाशित : मंगलबार, जेठ २० २०८२१२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend