सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

व्यवसायको स्वाद बुझेका कुओक : सुगर किङ हुँदै विश्वविख्यात सांग्रिला होटल्ससम्म

images
शनिबार, जेठ १७ २०८२
images
images
व्यवसायको स्वाद बुझेका कुओक : सुगर किङ हुँदै विश्वविख्यात सांग्रिला होटल्ससम्म

बजारमा एकाधिकार स्थापित गर्नु निकै कठिन काम हो जसमा कुओक सहजै सफल भए। लगातारको सफलताकै कारण उनका पाइला निरन्तर अगाडि बढिरहे।

images
images

काठमाडौं- प्रभावशाली व्यक्तिहरूको केही साझा खासियत हुन्छ - अडियल, कुटिल, लगन र निरन्तरता। शाब्दिकरुपमा मान्ने हो भने मलेसियन टाइकुन रोबर्ट कुओक पनि यिनै समूहका समानार्थक शब्द हुन्, अथवा अर्थ। 

images
images
images

रोबर्ट कुओकको व्यावसायिक पौरखको चर्चा यत्रतत्र हुन्छ, जब सफलताको पर्यायका रुपमा उदाहरणार्थ कसैलाई उभ्याउनुपर्छ। 

images
images

अरूमा निर्भर नरहने स्वावलम्बी व्यक्तित्वकै कारण कुओक आज सफलताको शिखर चुमीवरी अहिले त्यसैको स्याजब्याज उपभोग गरेर जिइरहेका छन्। व्यावसायिक जीवनबाट अवकास भइसक्दा पनि धनदौलत आर्जित भइ नै रहेका छन्। विगतको पौरख र बुद्धिमत्ताको प्रतिफलले वर्तमानसम्मै पछ्याइरहेको छ।

images
images
images

एक मामुली व्यवसायीबाट ‘एसियाज सुगर किङ’का रूपमा नामुद हुँदै विश्वमै ख्यातियुक्त एवं विस्तारित ब्रान्ड सांग्रिला होटल्स चेनको संस्थापनसम्म आइपुग्नुमा उनको अर्को खासियत विनम्रता, उदार, परोपकारी भाव, व्यापारिक नीतिनिपुणता र उच्च जोखिम मोल्नसक्ने क्षमताले काम गर्‍यो। 

कुओककै समयका तथा पाका उद्योगी-व्यापारीसमेत उनको साहसको खुलेर तारिफ गर्छन्। कुओकको प्रसंग निस्कँदा उनीहरू दोहोर्‍याइरहन्छन् - उनको साहसिक वेग, क्रियाशीलता र चातुर्यले लगभग असम्भव सफलता दिलायो। २०औँ शताब्दीको सुरुवातताका अन्य पूर्वीय व्यापारीहरू जस्तो उनी विश्वव्यापी सहकार्य गर्न डराएनन्। जसकारण उनी पूर्वका सबैभन्दा सफल व्यवसायीमध्ये एक बन्न सफल भए।

उनको गुण-महिमागानमा अल्पविराम लगाउँदै अब चर्चा गरौँ नवउद्यमीलाई समेत प्रेरणा मिल्ने उनको व्यावसायिक जीवन यात्राबारे।

एक सम्पन्न परिवारमा जन्मिए पनि रोबर्ट कुओकको व्यावसायिक जीवन सामान्य आर्थिक अवस्थाबाट सुरु भयो। पिताको जुवा र स्त्रीमोहका कारण सानैमा पारिवारिक उतारचढाव झेलेका उनको जागिरे जीवन सुरू हुन्छ ‘अफिस बोइ’का रूपमा।

पिता गण्यमान्ने व्यापारी नै भएपनि त्यतिबेलाको राजनीतिक अस्थिरताका कारण कुओकले जागिरै गनुपर्ने स्थिति सिर्जना भयो। उनीहरूसामु कि घरमै थन्किनुपर्ने या नोकरी गर्नुपर्ने परिस्थिति सिर्जना भएको थियो। त्यसैले रोबर्टका पिताले उनलाई जोहोर बहरूस्थित मित्सुबिशी ट्रेडिङमा सहायकको रूपमा काम गर्न पठाए। उक्त कम्पनीको पहिलो कर्मचारी बनेका उनी त्यतिबेला १९ वर्षका मात्र थिए।

सिंगापुरको मित्सुबिशीको शाखा कार्यालय अत्यन्तै नाफामुखी थियो। जापानी सैन्य प्रशासनले मित्सुबिशीलाई मलायामा चामल र चुरोट आयात तथा आपूर्तिमा एकाधिकार दिएको थियो। रोबर्ट उक्त व्यापारको मध्यस्थमा थिए। बिचौलियाका रुपमा पैसा कमाउने अवसर थियो यो उनका लागि। सहजै जोकोहीसँग घुलमिल हुन सक्ने उनले अधिकांश व्यापारीलाई मित्र बनाएर कालोबजारी गरी कमिसनका लागि सहकार्य गरे।

उनले यसरी धेरै 'बनाना मनी' (जापान सरकारले सन् १९४२ देखि १९४५ को बीचमा आफ्नो साम्राज्य विस्तारका क्रममा कब्जा गरेका क्षेत्र सिंगापुर, मलाया, उत्तरी बोर्नियो, सारावाक र ब्रुनोइमा प्रयोगका लागि जारी गरेको मुद्रा) जम्मा गरेका थिए, तर दुर्भाग्यवश युद्धको अन्त्यसम्ममा पैसाको मूल्य निरन्तर ओरालो लाग्यो। उनले 'साइड बिजनेस' मार्फत कमाएका आधाजसो पैसा गुमाएबराबरै भयो।

युद्धपछि सिंगापुरमा मित्सुबिशीको व्यवसाय पनि बन्द भयो, फलदायी सावित भएको उनको व्यापार सहायकको जागिर गुम्यो। सिंगापुरमा जापानी ‘बनाना मनी’ मूल्यहीन भएपछि सबैले शून्यबाटै सुरु गर्नुपर्ने अवस्था आयो।

भाग्यवश कुओकसामु मूल्यहीन ‘बनाना मनी’ को मूल्य असुल हुनेगरी एक अफर आयो, उनका जापानी एक हाकिमले दुई-तीनसय बेल्स सिगरेट पेपरको प्रस्ताव राखे जसबापतको रकम उनले सोही मूल्यहीन मुद्रामार्फत तिर्नसक्थे। पुँजीको अभाव भएको त्यो समय उनले यो एकै कारोबारबाट चार लाख मलायन डलर कमाए।

बेलायतीको पुनरागमनपछि उनका पिताले १९४५ मा फलफूल र तरकारीहरू संकलन गरी जापानी युद्धबन्दीहरूलाई पुर्‍याउनेगरी ब्रिटिश सैन्य प्रशासनसँग सम्झौता गर्न सफल भए जुन उनलाई हात लागेको हालसम्मकै ठूलो सम्झौता थियो।

१९४८ मा पिताको निधनपश्चात् कुओकका तीन दाजुभाइ मिलेर १९४९ ताका जोहोरमा नयाँ कम्पनी खडा गरे - कुओक ब्रदर्स लिमिटेड। यसैमार्फत उनीहरूले आफ्नो पिताले गरिआएकै व्यवसायलाई निरन्तरता दिने निर्णय गरे। उमेरले अपरिपक्व भए पनि व्यापार व्यवसाय र सम्बन्ध विस्तारमा परिपक्व बनिसकेका उनी कम्पनीको कार्यवाहक सीईओ बने।

औपनिवेशिक सिंगापुरमा बेलायती बैंकहरूले कुनैपनि स्थानीय फर्महरूलाई ऋण दिन अस्वीकार गरेका कारण उनीहरूलाई पुँजी जुटाउन हम्मे पर्‍यो। उनीहरूले चिनजानका मान्छेबाट थोरै ऋण लिएर व्यवसाय सञ्चालन गरे। बैंकक बैंकका (संस्थापक) बैंकर चिन सोफोनपानिच सिंगापुर आएपछि भने उनीहरूले सहजै ऋण पाए र व्यवसायले गति लियो।

सन् १९५० को दशकमा, बेलायतले बिस्तारै आफ्ना उपनिवेशहरूमाथि नियन्त्रण गुमायो। बेलायती साम्राज्य ध्वस्त भएपछि स्थानीय फर्महरूका लागि नयाँ अवसरहरू देखा परे।

कुओक परिवारले सिंगापुरको सेसिल स्ट्रिटमा एउटा कार्यालय स्थापना गर्‍यो जसले चामल, चिनी र गहुँको पीठोजस्ता प्रमुख खाद्यवस्तुहरूको खरिद तथा बिक्रीवितरणका लागि सरकारी सम्झौताहरूमा ध्यान केन्द्रित गरिराख्यो।

सुरुमा उनीहरू वितरकका रुपमा थिए, सन् १९५२ मा ठूलो सफलता हात लाग्यो। संघीय मलाया सरकारले सरकारी चामल एजेन्सीको लागि टेन्डर आह्वान गर्‍यो। विदेशबाट चामल ल्याएर सरकारी स्वामित्वमा रहेका गोदामहरूमा भण्डारण गर्ने र मलाया प्रायद्वीपको दक्षिणी आधा भागमा ढुवानी गर्नुपर्ने थियो। कुओकले टेन्डरमा सहभागी हुने निर्णय गर्दा धेरैले उनलाई बुद्धिहीन भनेका थिए। किनभने संघीय टेन्डरमा स्थानीय कम्पनी सहभागी तथा छनोट हुन्थेनन्। तर आफ्ना ट्रयाक रेकर्ड राम्रो भएको भन्दै उनले टेन्डर हाले र सिंगापुरमा मलायन सरकारको लागि चामल एजेन्ट बन्ने ठेक्का जिते पनि।

मुनाफाका हिसाबले भलै यो आकर्षक थिएन तर कारोबार भने ठूलोमात्रामा भइरहेको थियो। उनी खाद्य आयातनिर्यातमा निपूर्ण बने। व्यापारिक तथा व्यक्तिगत सम्बन्ध पनि विस्तार हुँदै गयो।

तीव्र प्रतिस्पर्धा, कडा परिश्रमका बाबजुद चामलको मार्जिन नबढेर निरुत्साहित भइरहेका बेला उनले चिनी व्यापार लाभदायक बन्नसक्ने देखे। व्यापारिक कुटनीति बुझेका, सम्बन्ध बनाउन सिपालु कुओक चिनी व्यापारमा बेलायती व्यापारिक घरानासँग प्रतिस्पर्धा गर्न सक्षम बने। भारत र चीनबाट चिनी आयात गरेर बेच्दा उनले नाफा पनि राम्रो आर्जन गरे।

जापानी व्यापारिक साझेदार मित्सुईसँगै अर्का एक जापानी उद्यमीसँगको सहकार्यमा 'सुगर रिफाइनरिज प्रोजेक्ट'मा उनले हात हाले। त्यसमा अन्य लगानीकर्ताको पनि लगानी थियो। उनीहरू रिफाइनरीले ट्यारिफ प्रोटेक्सन पाओस् र रिफाइन्ड सुगरको प्रतिबन्ध लगाओस् भन्ने चाहन्थे। उनको यो इच्छा पूरा भयो जब मलेसिया १९५७ मा एक स्वतन्त्र राष्ट्र बन्यो। त्यतिबेलाका नयाँ वाणिज्यमन्त्री खिर जोहरीसँग उनको दोस्ती जम्यो र यही सम्बन्धमार्फत उनले मूलतः नयाँ राष्ट्र मलेसियामा ‘मलायन सुगर मेनुफेक्चरिङ कम्पनी लिमिटेड (एमएसएम)’ कम्पनीमार्फत रिफाइन चिनीमा एकाधिकार जमाउन सफल भए।

मलायाको स्वतन्त्रतापछि पनि उनले जापानीहरूसँगको आफ्नो सम्बन्धलाई निरन्तरता दिइरहेका उनले १९५९ मा जापानी साझेदारहरू र प्रभावशाली मलायन सम्भ्रान्तहरूसँग मिलेर चिनी रिफाइनरिज कम्पनी खोलेका हुन्।

भनिन्छ, उनी आफूसँगै कर्मचारीहरूलाई पनि कडा परिश्रमका लागि प्रोत्साहित गर्थे। त्यसो त कर्मचारीलाई उनी खुब दलाउँथे भन्ने आरोप पनि उनीमाथि लाग्ने गरेकै थियो। उनको चिनी रिफाइनरिज कम्पनीले वर्षमा ३३० दिन काम गर्थ्यो, जब कि युरोप र अमेरिकाका उनका प्रतिस्पर्धीहरूले २७० दिन काम गर्थे। सन् १९६१ सम्ममा मलेसियाको प्रतिवर्ष बेचिने २ लाख ५० हजार टन प्रशोधित चिनीको ८० प्रतिशत कुओकको कम्पनीले ओगटेको थियो।

उनले चिनी उद्योगबाट मात्रै करिब ३ अर्ब डलर मुनाफा कमाएका थिए। यसरी परिश्रम र ट्यारिफ प्रोटेक्सनकै कारण उनी चिनी उद्यममा सफल भए। बिस्तारै उनले अन्तर्राष्ट्रिय चिनी बजारमा पनि आफ्ना उत्पादन पुर्‍याउन थाले। भनिन्छ, कुओकले चाँडै नै मलेसियाको चिनी आपूर्तिको ८० प्रतिशत र विश्व बजारको १० प्रतिशत नियन्त्रण गरे। त्यसकारण उनले ‘सुगर किङ’ को उपमा पाउन सफल भए। उनको पुँजी र मुनाफा निरन्तर उकालो लागिरह्यो।

भाग्यलाई भन्दा कडा परिश्रमलाई महत्व दिने कुओक यतिमै अडिन चाहेनन्, अतीव महत्वाकांक्षी उनलाई नयाँ केही गर्नु थियो, अझै धेरै कमाउनु थियो। चिनीको मूल्यमा उतारचढाव आउँदा भाग्यवश घाटाबाट पार लागेका उनले जापानी उद्यमीहरूबाट सिकेका थिए कि दिगो व्यापारका लागि त्यस्ता उत्पादनहरूमा ध्यान केन्द्रित गर्नुपर्छ जसको ठूला स्थापित बजार छन्, माग र मूल्यमा उतारचढाव छैन केवल एकरुपता छ।

उनले पीठो उद्योगमा पनि सम्भावना देखे। त्यतिबेला उनले जापानी सिम डार्बी र गुथ्रीजस्ता वितरकहरूलाई बाइपास गर्दै अष्ट्रेलियाबाट सिधै पीठो आयात गर्न थाले। उनले आफ्ना मित्र मन्त्री खिर जोहरीको सहायतामा पीठो मिलको लाइसेन्स पाए। साथै पीठो आयातमा प्रतिबन्ध लगाउन पनि अह्राए। यसकारण उनले मलेसियाली बजारमा पीठोमा पनि एकाधिकार जमाउन सफल भए।

राजनीतिक पहुँच विस्तारसँगै उनको व्यवसाय र लगानी फैलँदो थियो। इन्डोनेसियाको गहुँ मिलिङ प्लान्टमा पनि सेयर लगानी गरेका उनलाई यहाँबाट पनि राम्रै मुनाफा मिलिरहेको थियो। त्यतिबेला इन्डोनेसियामा बाह्य लगानी मान्य नभए पनि साझेदारको संरक्षण तथा उच्च तहको राजनीतिक सम्बन्धकै कारण उनको लगानीबारे बाहिर कुरा आएनन्, लगातार प्रतिफल पाइरहे। यद्यपी केही दशकपछि भने विविध कारणवश उनले उक्त कम्पनी त्यागे। उनले इन्डोनेसियामा चामल र चिनी निर्यातलगायतका व्यापारिक सम्झौताहरू पनि गरेका थिए। त्यहाँ पनि उनको उत्पादन पुग्थ्यो।

कुओकको लगानी सिंगापुर र इन्डोनेसियासँगै फिलिपिन्स, थाइल्याण्ड, चीन, फिजी र अष्ट्रेलियालगायत विभिन्न देशहरूमा विस्तारित थियो।

बजारमा एकाधिकार स्थापित गर्नु निकै कठिन काम हो जसमा कुओक सहजै सफल भए। लगातारको सफलताकै कारण उनका पाइला निरन्तर अगाडि बढिरहे। एउटै क्षेत्रमा अडिइरहन नसक्ने अथवा भनाैँ नयाँनयाँ व्यवसायको स्वाद लिइरहन मन पराउने स्वभावका कुओकलाई खाद्य व्यापारको क्षेत्रबाहिर पनि लगानी विविधीकरणको विचार आयो।

कमोडिटी व्यापार जोखिमपूर्ण लागिरहेका बेला व्यावसायिक स्थिरता खोजिरहेका कुओकले ती व्यवसायको निरन्तरतासँगै प्रोपर्टी मार्केटतिर लाग्ने निधो गरे। अनि सुरु भयो विश्वप्रसिद्ध 'सांग्रिला होटल एण्ड रिसोर्ट' निर्माणको श्रृंखला।

सन् १९६८ ताका, कुओकलाई हाल सिंगापुरमा रहेको सांग्रिलाको जग्गामा १० प्रतिशत सेयरहोल्डिङ्सको प्रस्ताव गरिएको थियो। जहाँ उनी सिंगल फ्यामिली भिल्ला बनाउन चाहन्थे। तर उनका साथीले उक्त प्लट होटलका लागि उपयुक्त हुने सुझाव दिए। १९७१ मा तयार भयो सांग्रिला होटल एण्ड रिसोर्ट। 'सांग्रिला' नाम जेम्स हिल्टनको पुस्तक ‘लस्ट होराइजन’ बाट प्रेरित थियो, जसमा 'सांग्रिला' एक अलौकिक तथा सुन्दर ठाउँ स्वर्गका रुपमा कल्पित थियो।

१० वर्षको सम्झौता सकिएपछि कुओकले उनीहरूसँगको सहकार्यलाई त्यागेर १९७८ मा आफ्नै होटल व्यवस्थापन कम्पनी स्थापना गरे - सांग्रिला होटल्स। अहिले सांग्रिला समूहको विश्वभर १०० भन्दा बढी होटल सञ्चालित छन्, अधिकांशमा उनीहरूको स्वामित्व रहेको छ।

१९७० को दशकमा,  कुओकको वैवाहिक जीवनमा समस्या आयो। उनी पाउलिन नामकी एक युवतीसँगको प्रेममा परे र १९७९ मा उनलाई आफूसँगै हङकङ लिएर गए। त्यहाँ उनले भिक्टोरियाको पिकमा स्ट्रबेरी हिल भन्ने क्षेत्रमा एउटा टाउनहाउस किने र उतै रहन थाले।

जहाँ नै पुगे पनि उद्यमी व्यापारी मन-मगजमा सधैँ व्यवसाय नै बोकेर हिँड्छन्। परिवारमा भन्दा बढी समय बिजनेसमा खर्चिएका कुओकलाई हङकङको करनीति व्यापार व्यवसाय अनुकूल लाग्यो। त्यहाँ पनि उनले व्यापार विस्तारसँगै सम्पत्तिमा लगानी बढाए। चीनको विशाल बढ्दो बजारका कारण उनले आफ्नो अन्तर्राष्ट्रिय सञ्चालन आधार मलेसियाबाट हङकङ सार्ने निर्णय गरेका थिए। चीनमा पनि उनले अर्बौँको प्रोपर्टी पोर्टफोलियो बनाउन सफल भए। यसरी उनले एक मामुली 'फ्यामिली बिजनेस' लाई विश्वविख्यात बनाए।

नयाँ शासनकालमा मलेसियाली चिनीमा कुओकको लगभग एकाधिकारलाई चुनौती दिन अन्य व्यवसायीहरूले प्रयास गर्दा सरकारले सुधारको आह्वानलाई अस्वीकार गरेको कतिपय व्यापारीको आरोप छ। उनको 'अपार सफलता' राजनीतिक पहुँच तथा सरकारी संरक्षणकै 'देन' का रुपमा पनि कतिपयले व्याख्या गर्ने गर्छन्। यद्यपी रोबर्ट भने आफ्नै 'दममा' पारिवारिक व्यापार साम्राज्य खडा गरेको दाबी गरी नै रहन्छन्।

चिनियाँ मुलका मलेसियाली 'बिजनेस टाइकुन' कुओकको लगानी कृषि, पाम आयल, खाद्यान्न, पशुआहार, रियलस्टेट, हस्पिटालिटी, कमोडिटी, सीपविल्डिङ, वित्तव्यवस्थापन, खनिज, लजिस्टिक, डिजिटल इन्फ्रास्ट्रक्चर, सीपीङलगायत क्षेत्रमा विस्तारित छ। छरपस्ट व्यापारव्यवसाय अहिले 'कुओक ग्रुप'मार्फत एकबद्ध भएर सञ्चालित छन्।

सन् १९७१ मा सिंगापुरमा सांग्रिला होटलको उद्घाटनसँगै हस्पिटालिटी उद्योगमा प्रवेश गरेको कुओक समूहले अहिले आफ्नो होटल पोर्टफोलियो विस्तार गरिसकेको छ। यसै समूहअन्तर्गतको सांग्रिला ग्रुपले एसिया, युरोप, अमेरिकालगायत विभिन्न गन्तव्यमा १०० भन्दा बढी होटल र रिसोर्टहरू सञ्चालनमा ल्याइसकेको छ। कुओक ग्रुपको अफिसियल साइटमा राखिएको जानकारी अनुसार १९७९ मा सांग्रिला इन्टरनेशनल होटल म्यानेजमेन्ट लिमिटेडको स्थापना भएको थियो। विश्वप्रसिद्ध ब्रान्ड बनेको सांग्रिलाले २०१७ मा नै चीनको सियामेनमा आफ्नो १००औँ होटल विस्तार गरेको थियो।

'कुओक ब्रदर्स' कम्पनीको विस्तार हुँदै जाँदा, 'कुओक सिंगापुर'को स्थापना १९५३ मा भएको थियो भने १९७० मा 'कुओक फाउन्डेसन' मलेसियामा स्थापना भएको थियो। हङकङ कार्यालय १९७४ मा केरी होल्डिङ्सको रूपमा स्थापित भएको थियो। १९९३ मा उनले केरी समूहबाट आधिकारिकरूपमा अवकाश लिएका थिए। १९९६ मा केरी प्रोपर्टीज लिमिटेड हङकङको स्टक एक्सचेन्जमा सूचीबद्ध भएको थियो।

विश्वको सबैभन्दा ठूलो पाम आयल कम्पनीहरूमध्ये एक सिंगापुरमा विल्मार इन्टरनेशनल र मलेसियामा यसको सहायक कम्पनी पीपीबीमा पनि उनको स्वामित्व रहेको छ। उनको बहुमूल्य हिस्सेदारी रहेको विल्मार इन्टरनेशनल उनका भतिजा कुओक खुन होङले हाँकिरहेका छन् भने उनका दुई छोरा कुओक ग्रुप र हङकङ प्रोपर्टी कम्पनीका अध्यक्ष तथा सीईओ छन्। उनका कम्पनीहरूको एसियाभर धेरै देशहरूमा लगानी छ।

सन् १९२३ अक्टोबर ६ मा मलाया (मलेसिया) जोहोरमा चिनियाँ मुलका मलेसियन परिवारमा जन्मिएका कुओक पढाइमा खासै उम्दा थिएनन्। तैपनि पिताको जोडबलमा उनी र्‍याफल्स कलेज भर्ना भएका थिए। यद्यपि युद्धका कारण पढाइ बीचमै छाड्नुपर्‍यो। 

उनका पिता कुओक केङ काङ २०औँ शताब्दीको सुरुमा चीनको फुझोउबाट मलाया (मलेसिया) आइपुगेका थिए। दाजु फिलिप कुओक हक खी, धेरै देशहरूमा पूर्व मलेसियाली राजदूत थिए भने अर्का दाजु विलियम कुओक हक लिंग मलायन कम्युनिष्ट पार्टीका सदस्य थिए र मलायन आपतकालमा मारिएका थिए। पिताले परिवारलाई बेवास्ता गर्दा डेढ/दुई वर्षको उमेरमा छोटो समय उनी आमाबाट छुट्टिएर रहनुपरेको थियो।

रोबर्ट कुओकको पुस्तक ‘रोबर्ट कुओक अ मेमोर’ मा कुओकले ब्रिटिश औपनिवेशिक मलायाबाट व्यवसाय सुरु गरेर, कसरी उनले बहु-उद्योग, बहुराष्ट्रिय व्यापार समूह निर्माण गरे भन्ने संस्मरण सुनाएका छन्। ब्रिटिश उपनिवेशवाददेखि जापानी सैन्य कब्जासम्म, औपनिवेशिक कालपछिको दक्षिणपूर्वी एसिया र हालसालै चीनसहित एसियाली अर्थतन्त्रको नाटकीय उदयसम्म, कुओकले एसियामा रोमाञ्चक र प्रायः अशान्त समयहरू भोगेका छन्। त्यस्तो कठिन समयमा पनि उनी डगमगाएनन्। जसकारण पनि कुओक ग्रुप आजपर्यन्त एसियाको सबैभन्दा गतिशील बहुराष्ट्रिय समूहहरूमध्ये एक बन्न पुगेको छ।

सन् १९९३ ताका साउथ चाइना मर्निङ पोस्टमा पनि कुओक स्टेकहोल्डर थिए। उनको स्वामित्वमा रहेको केरी ग्रुपले मिडिया किनेको थियो। तर आन्तरिक कलहका कारण पछि उनी त्यसबाट अलग भएको भनिन्छ। धेरैतिर हात हाले पनि उनलाई विश्वविख्यात बनाएको भने हस्पिटालिटी उद्योगले नै हो।

नम्र-सिधा बन्न प्रेरित गर्ने कुओक भन्छन् - 'असफलता नै सफलताको जननी हो...। यदि कुनै व्यक्ति असफल हुन्छ तर उसमा पर्याप्त सामर्थ्य छ भने ऊ अझ ठूलो जोसका साथ फर्कनेछ। यदि कुनै व्यक्ति साँच्चै नम्र छ भने धेरैजसो मानिसहरू उसको लागि जे गर्न पनि तयार हुन्छन्। तर अभद्र स्वभावको मानिस छ भने २० जना साथीहरूमध्ये मुस्किलले केवल दुईजनाले उसलाई मद्दत गर्नेछन्।'

अहिले उनी आफ्नो अधिकांश पारिवारिक तथा सामूहिक व्यावसायिक कम्पनीहरूबाट अवकाश भइसकेका छन्। १०१ वर्षीय रोबर्ट कुओक आज मलेसियाका सबैभन्दा धनी व्यक्तिका रुपमा पनि चिनिन्छन्, जसको सम्पत्ति १२ अर्ब अमेरिकी डलर छ।


प्रकाशित : शनिबार, जेठ १७ २०८२१२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend