शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

गौतमबुद्ध विमानस्थलमा ‘भैँसी आतंक’को हल्ला अतिरञ्जित : उड्डयन प्राधिकरण

बुधबार, वैशाख ३१ २०८२
गौतमबुद्ध विमानस्थलमा ‘भैँसी आतंक’को हल्ला अतिरञ्जित : उड्डयन प्राधिकरण

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अधिकांश जमिन प्रयोगबिहीन रहेको र भैँसी आतंक रहेको भन्ने विषयमा अतिरञ्जित ढंगले समाचार प्रकाशित भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसप्रति आपत्ति जनाएको छ।

काठमाडौं- सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अधिकांश जमिन प्रयोगबिहीन रहेको र भैँसी आतंक रहेको भन्ने विषयमा अतिरञ्जित ढंगले समाचार प्रकाशित भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसप्रति आपत्ति जनाएको छ।

प्राधिकरणले मंगलबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील संरचनाबारे भ्रामक समाचार प्रकाशित गरिनु दुर्भाग्यपूर्ण भएको जनाएको छ। प्राधिकरणका अनुसार हाल विमानस्थलको लागि करिब ५०० विघा जमिन उपलब्ध गराइएको छ, जसमा करिब ४५३ विघा अधिग्रहण गरिएको र बाँकी सार्वजनिक जमिन रहेको उल्लेख छ।

प्राधिकरणले विज्ञप्तिमा भनेको छ, 'उक्त जमिन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना अनुसार धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवन, जहाज पार्किङ क्षेत्र, सुरक्षा संरचना, फोहोर व्यवस्थापन, कर्मचारी आवासदेखि व्यवसायिक प्रयोजनका संरचनासम्मका लागि छुट्याइएको छ।'

सञ्चार माध्यममा ‘भैँसी आतंक’ भन्नेगरी उल्लेख गरिएको करिब ४० विघा जमिनबारे प्राधिकरणले प्रष्ट पारेको छ कि उक्त क्षेत्र पुनर्वास योजना, वातावरणीय प्रभाव मूल्यांकन, र हवाई सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले छुट्याइएको खुला क्षेत्र हो। मुख्य क्षेत्रको घेराबन्दीबाहिर रहेको उक्त क्षेत्रमा कुनैपनि गतिविधि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का मापदण्ड विपरीत नभएको प्राधिकरणको दाबी छ।

विज्ञप्तिमा भनिएको छ, 'यस्ता अतिरञ्जित सामग्रीमार्फत विमानस्थलको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खराब पार्ने प्रयास भइरहेको देखिन्छ, जुन दुर्भावनापूर्ण छ।'

वि.सं. २०७९ जेठ २ गतेदेखि व्यवसायिक उडान सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बलियो विकल्पका रूपमा विकास गर्न एशियाली विकास बैंक, र नेपाल सरकारको सहकार्यमा निर्माण गरिएको हो। प्राधिकरणले यो आयोजना आइकाओको एकएक्स-१४ अनुरूप ४इ क्याटागोरीको पूर्ण अन्तर्राष्ट्रिय विमानस्थल भएको स्पष्ट पारेको छ।

प्राधिकरणले विमानस्थलको नियमित, सुरक्षित र प्रभावकारी सञ्चालनमा सबै पक्षबाट सहकार्य अपेक्षा गर्दै अनावश्यक भ्रम र नकारात्मक प्रचारविरुद्ध संयम अपनाउन आग्रह गरेको छ।

 


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२२१:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend