बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

स्मार्ट लाइसेन्स लागु भएको १० वर्षपछि बल्ल अवधि १० वर्ष बनाइयो

बुधबार, वैशाख १७ २०८२
स्मार्ट लाइसेन्स लागु भएको १० वर्षपछि बल्ल अवधि १० वर्ष बनाइयो

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ। यसलाई बदलेर केही नेपाल ऐन संशोधन विधेयकमार्फत १० वर्ष बनाइएको हो।

काठमाडौं- सरकारले लाइसेन्सको अवधि ५ वर्षबाट १० वर्ष बनाएको छ। केही नेपाल ऐन संशोधनमार्फत लाइसेन्सको अवधि थप गरिएको हो।

सवारी लाइसेन्सको अवधि १० वर्ष हुनेगरी प्रतिनिधिसभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ। प्रतिनिधिसभाले पारित गरेको यो कानून राष्ट्रियसभामा पेस हुनेछ। राष्ट्रियसभाले रायबिनै पास गरेमा त्यो राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि जानेछ र प्रमाणीकरणपछि कानून कार्यान्वयन हुनेछ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ। यसलाई बदलेर केही नेपाल ऐन संशोधन विधेयकमार्फत १० वर्ष बनाइएको हो। स्मार्ट लाइसेन्स लागु भएलगत्तै लाइसेन्सको अवधि १० वर्ष बनाउने विषयमा छलफल र कानून संशोधनको कुरा उठेको थियो। तर संशोधन भने हुन सकेको थिएन। स्मार्ट लाइसेन्स २०७२ मंसिरदेखि कार्यान्वयनमा आएको थियो। 

प्रचलित ऐनको दफा ५४ मा चालक अनुमतिपत्रको वैधतासम्बन्धी व्यवस्था छ। दफा ५४ को उपदफा ३ मा भनिएको छ, ‘चालक अनुमतिपत्र दिइएको मितिले पाँच वर्षसम्म बहाल रहनेछ।’

प्रचलित व्यवस्थामा संशोधन गर्दै केही नेपाल ऐन संशोधनमा भनिएको छ, ‘दफा ५४ को उपदफा ३ मा रहेका ‘पाँच वर्षसम्म’ भन्ने शब्दहरूको सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्दहरू राखिएका छन्।’ यो प्रस्तावसहितको विधेयक प्रतिनिधिसभाबाट पारित भएको हो। पारित विधेयकअनुसार लाइसेन्स नवीकरण गर्दा पनि दश वर्षका लागि नवीकरण हुने व्यवस्था गरिएको छ।

केही नेपाल ऐन संशोधन २६ बैशाख २०८० मा यो विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो। दफाबार छलफलका लागि प्रतिनिधिसभाले विषयगत समितिमा २९ भदौ २०८० मा पठाइएको थियो। समितिबाट पास भएर सभामा १४ बैशाख २०८१ मा पुगेको थियो। मंगलबार प्रतिनिधिसभाले पारित गरेको हो।


प्रकाशित : बुधबार, वैशाख १७ २०८२१३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend