शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

आन्तरिक पर्यटकमात्र पुग्ने गरेको विचित्र गुफामा प्रचारप्रसारपछि विदेशी पनि आउन थाले

सोमबार, वैशाख ८ २०८२
आन्तरिक पर्यटकमात्र पुग्ने गरेको विचित्र गुफामा प्रचारप्रसारपछि विदेशी पनि आउन थाले

पहिले विचित्र गुफा हेर्न आन्तरिक पर्यटकमात्र पुग्ने गर्दथे। पछिल्लो समय विदेशमा पनि विचित्र गुफाको प्रचारप्रसार हुन थालेपछि विदेशी पर्यटकसमेत आउन थालेका छन्।

गुल्मी- यहाँको धुर्कोट गाउँपालिका-५ स्थित  विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ। 

विसं २०४५ मा बाँदर लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त गुफा पत्ता लगाएका थिए। पहिले विचित्र गुफा हेर्न आन्तरिक पर्यटकमात्र पुग्ने गर्दथे। पछिल्लो समय विदेशमा पनि विचित्र गुफाको प्रचारप्रसार हुन थालेपछि विदेशी पर्यटकसमेत आउन थालेका छन्।

हाल फ्रान्स जर्मनी र बेलायतका पर्यटक गुफा हेर्न आउने गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए। धेरै विदेशी नागरिक अरबिन्द्र आश्रममा योग साधनाका लागि आउने गरेको र सोही अवसरमा गुफाको अवलोकन गरेर फर्कने गरेको उनले बताए।

उक्त गुफा १८५ मिटर लम्बाई र ३५० मिटर चौडाइमा फैलिएको छ। स्थानीय जनार्दन भण्डारीले बारीमा मकै खान आएका बाँदर लखेट्ने क्रममा बाँदर एकाएक पहरा (चट्टान)को बीचमा रहेको सानो प्वालबाट भित्र पसेपछि त्यहाँ गुफा रहेको पत्ता लगाएको स्थानीय युवराज भण्डारीले बताए। 

गुफाको मुख्य प्रवेशद्वारबाट भित्र भित्तामा देखिने विभिन्न आकृतिले जो केहिको पनि ध्यान केन्द्रित गर्ने गरेको छ। गुफाको मुख्य आकर्षण भनेकोे ‘स्वर्ग जाने बाटो’ हो। ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुंगिन्छ। स्वर्ग जाने बाटोमा धर्मात्मा मात्र भित्र पस्न सक्छन भन्ने मान्यता छ। स्वर्गजाने बाटो एकदमै साँगुरो छ र त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृष्य हात्तिको भीमकाय शरीर हो। त्यहाँ  प्राकृतिक रूपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रूपमा देख्न सकिन्छ। 

जो मानिस त्यहाँभित्र छिर्न सक्छ उसले आफूलाई भाग्यमानी ठान्दछ। गुफा क्षेत्रको विकासका लागि हालसम्म धुर्कोट गाउँपालिका, प्रदेश र संघबाट गरी दुई करोड रूपैयाँभन्दा बढी लगानी भइसकेको गाउँपालिकाका अध्यक्ष पोख्रेलले बताए।

सदरमुकाम तम्घासबाट १८ किलोमटरको दुरीमा रहेको उक्त गुफामा पुग्न यातायात र पैदल मार्ग दुवै रहेको छ। रासस


प्रकाशित : सोमबार, वैशाख ८ २०८२१०:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend