शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

पर्यापर्यटन पदमार्ग पुनः सञ्चालनको लागि पहल

बुधबार, वैशाख ३ २०८२
पर्यापर्यटन पदमार्ग पुनः सञ्चालनको लागि पहल
फाइल तस्बिर

ताराहिल टप क्षेत्रमा निर्मित माछापुच्छ्रे २ र मादी १ का दुईवटा क्याम्पिङ साइटको लागि अस्थायी संरचना निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

गण्डकी- कास्कीको मादी गाउँपालिका-१ र माछापुच्छ्रे गाउँपालिका-२ को संगमस्थल ताराहिल टप क्षेत्रमा पर्यटकको सेवा सुविधालाई लक्षित गरी क्याम्पिङ साइटको सुरूवात गरिएको छ।

नेपालकै पहिलो पर्यापर्यटन पदमार्गको रूपमा परिचित घलेखर्क सिक्लेसको ताराहिल टप क्याम्पिङ विसं २०५१ सालदेखि २०५९ सालसम्म अति व्यस्त रहेकोमा पछिल्लो समयमा सुस्ताउन थालेपछि यसको पुनःसञ्चालन गरी पर्यटकलाई आकर्षित गर्ने अभियान थालिएको हो।

अभियानस्वरुप नयाँ वर्षको अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)भित्र पर्ने यस क्षेत्रका वडाध्यक्षद्वय देवीजंग गुरुङ र गणेश आचार्यको उपस्थितिमा एक्याप प्रधान कार्यालयबाट ताराहिल टप क्याम्पसाईट व्यवस्थापन संयुक्त उप समिति मादी १ र माछापुच्छ्रे २ लाई क्याम्प साईट व्यवस्थापनको लागि एक वर्षे स्वीकृति अनुमति दिइएको छ। उपसमितिले वार्षिक रूपमा नवीकरण गर्नुपर्ने हुन्छ।

ताराहिल टप क्षेत्रमा निर्मित माछापुच्छ्रे २ र मादी १ का दुईवटा क्याम्पिङ साइटको लागि अस्थायी संरचना निर्माण गरी सञ्चालनमा ल्याइएको छ। उक्त क्याम्पिङ साइटको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, मादी १ का वडाध्यक्ष देवीजंग गुरुङ, माछापुच्छ्रे २ का वडाध्यक्ष गणेश आचार्य, उपसमितिका अध्यक्ष पानबहादुर तामाङलगायतले संयुक्त रूपमा उद्घाटन गरे।

उप-समितिले एक्याप र स्थानीय तहले तोकिएका कार्यभित्र रही वार्षिक रूपमा एक्याप कार्यालयलाई जग्गा भाडा शुल्क र सम्बन्धित गाउँपालिका दर्ता शुल्क तिरि नवीकरण गर्नुपर्ने हुन्छ।

माछापुच्छ्रे र मादी गाउँपालिकाबीचको समन्वयात्मक बैठकले ताराहिल टप क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि दुईटा गाउँपालिका र एक्याप त्रिपक्षीय रूपमा समन्वय गर्नेगरी थप कार्य गर्ने निर्णयसमेत गरिएको छ।

ताराहिल टप मादी १ को सिक्लेस, पार्चे, खिलाङ, मादी ६ को चिप्ली  र तप्राङ यसैगरी मादी सातको थाकहिलबाट सजिलै पुग्न सकिन्छ। रासस


प्रकाशित : बुधबार, वैशाख ३ २०८२१२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend