शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

तनहुँका दुई पालिका जोड्न १० करोड लागतमा पक्की पुल निर्माण सुरु

मंगलबार, मंसिर २५ २०८१
तनहुँका दुई पालिका जोड्न १० करोड लागतमा पक्की पुल निर्माण सुरु

पुल निर्माणको काम विसं २०८३ असार ९ गते सम्पन्न गर्ने म्याद रहेको छ। पुल ४० मिटर लम्बाइको हुनेछ।

दमौली- तनहुँका दुई स्थानीय तह जोड्न पक्की पुल निर्माण सुरु भएको छ। जिल्लाको बन्दीपुर गाउँपालिका-४ र भानु नगरपालिका-१ तल्लो डुम्रेस्थित चुँदीखोलामाथि पक्की पुल निर्माण सुरु भएको हो।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यहाँ पुल निर्माण हुन लागेको छ। डुम्रे बेँसीसहर सडकअन्तर्गत बन्दीपुर-१ र भानु-१ भन्सारस्थित चुँदीखोलामाथि रहेको पुलको वैकल्पिक मार्गका रुपमा यहाँ पुल निर्माण सुरु भएको हो। भन्सारस्थित उक्त पुल साँघुरो रहेका कारण यहाँ फराकिलो पुल निर्माणको काम थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

दश करोड १० लाख ९१ हजार १ सय ६६ रूपैयाँको लागतमा पुल निर्माणका लागि सम्झौता भएको कार्यालय प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए। तिवारीका अनुसार पुल निर्माणका लागि एमएस आईएसस निर्माण सेवा सुर्खेतसँग विसं २०८१ असार १० गते सम्झौता भएको थियो। 

पुल निर्माणको काम विसं २०८३ असार ९ गते सम्पन्न गर्ने म्याद रहेको तिवारीले जनाए। पुल ४० मिटर लम्बाइको हुनेछ।

हाल पुलको फाउण्डेसनको काम भइरहेको छ। पुल निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड ३६ लाख ८२ हजार रूपैयाँ बजेट विनियोजन भएको छ। पुल निर्माणपश्चात आँबुखैरेनीतर्फ आउने सवारी साधन डुम्रेबजार नपुगी यहीँबाट भन्सार हुँदै बेँसीसहर जान सक्नेछन्। रासस


प्रकाशित : मंगलबार, मंसिर २५ २०८११२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend