शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कालीगण्डकी करिडोर : काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार

शनिबार, मंसिर २२ २०८१
कालीगण्डकी करिडोर : काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार

रक एंकरिङ गर्नुपर्ने ठाउँको तीन दशमलव पाँच मिटर फराकिलो सडकमा हाल एकतर्फी मात्र सवारी साधन चल्ने गर्छन्। यसलाई दुईतर्फी सवारी साधन चल्ने बनाउन सात देखि आठ मिटर फराकिलो बनाइएको हो। नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाइएको छ।

म्याग्दी- भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ।

साँघुरो अवस्थामा रहेको काभ्रेभिरको सडकलाई ‘रक एंकरिङ/रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको बेनी-जोमसोम-कोरला सडक योजनाले जनाएको छ।

तल बग्ने कालीगण्डकीले बनाएको खोच र बिस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउँदा पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएपछि रक एंकरिङ गरिएको आयोजनाका इञ्जिनियर विष्णु चापागाईँले बताए।

उनका अनुसार सडक मुनीको पहाडमा ड्रिलिङ गरेर रड राखी, कंक्रिट गरेर बेस बनाएर पक्कि पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो। रक एंकरिङ गर्न एक सय मिटर लम्बाईको दुरीमा ड्रिलिङ गरेर फलामको रड राख्ने प्वाल (होल) बनाइएको छ।

रक एंकरिङ गर्नुपर्ने ठाउँको तीन दशमलव पाँच मिटर फराकिलो सडकमा हाल एकतर्फी मात्र सवारी साधन चल्ने गर्छन्। यसलाई दुईतर्फी सवारी साधन चल्ने बनाउन सात देखि आठ मिटर फराकिलो बनाइएको हो। नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाइएको छ।

बेनी-जोमसोम-कोरला सडकको तातोपानी-घाँसा खण्डको निर्माण कम्पनी शर्मा-गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले मजदुरहरु रसिमा झुण्डिएर रड राख्ने प्वाल बनाएका बताए। रक एंकरिङको काम अन्तिम चरणमा पुगेको र सडकलाई ढलान गर्ने तयारी भएको उनले बताए।

म्याग्दी र मुस्ताङको सिमानामा रहेको दुई किलोमिटर दुरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी-जोमसोम-कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ। चिन र भारत जोड्ने सबैभन्दा छोटो दूरीको, राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको काभ्रेभिर देखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ‘रक फल’ ढुंगाको पहिरो खस्ने र कालीगण्डकीले कटान गर्ने समस्या छ।

विसं २०६३ मा नेपाली सेनाले मार्ग खोलेको यो ठाउँमा सवारी साधन खस्ने, गुडिरहेको सवारी साधनमा भिरबाट ढुंगा, पहिरो खसेर पुरिने, क्षति हुने गरेका छन्। यो क्षेत्रमा विस्फोट पदार्थको प्रयोग गरी एक हजार छ सय मिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको छ। धेरै ‘रक फल’ हुने भएकाले डीबीएसडी प्रविधिको कालोपत्र सडक नटिक्ने देखिएपछि ढलान गरिएको हो। ढलान गरिएको ठाउँमा पनि भिरबाट खसेका ठुला ढुंगाले क्षति पुर्‍याएको छ। रासस


प्रकाशित : शनिबार, मंसिर २२ २०८१११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend